कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गरिंदै
काठमाडौँ। पाठ्यक्रम विकास केन्द्रले कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गर्ने प्रक्रिया शुरु गरेको बताइएको छ। केन्द्रका महानिर्देशक युवराज पौडेलले परिमार्जित पुस्तक २०८४ सालदेखि कार्यान्वयनमा लग्ने बताए। सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहले शुक्रबार गरेको ‘बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादात्म्य’ विषयक अन्तरक्रियामामहानिर्देशक पौडलले पुस्तक लेखनका क्रममा सरोकारवालासँग छलफल र लेखकहरूलाई अभिमुखीकरण गर्ने बताए। पाठ्यपुस्तक लेख्दा विविधताबीच एकता खोज्ने तथा राष्ट्रियताको भाव, नागरिकको भूमिका र असल समाज निर्माण जस्ता विषयमा विशेष ध्यान दिने पनि उनले बताए।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाजको बहुलवादी स्वरूप कक्षाकोठामा प्रतिबिम्बित हुने बताए । उनले पाठ्यसामग्री विज्ञ टोलीमार्फत विभिन्न चरण पार गरेर बनाइने र हरेक पाठलाई समावेशी बनाउने प्रयास गरेको जानकारी दिए।
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पाठ्यपुस्तक तयार पार्नुअघि समाजमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूको सूची तयार पार्न सुझाव दिए। उनले आवश्यकता अनुसार पाठ्यक्रम र पाठ्यपुस्तक दुवैमा परिवर्तन गर्न सकिने धारणा राखे।
कार्यक्रममा शिक्षा पत्रकार समूहका तर्फबाट हाल कार्यान्वयनमा रहेका पाठ्यपुस्तकहरूको सूक्ष्म अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो। अध्ययनमा पाठ्यपुस्तकहरू बालमैत्री र लैङ्गिकमैत्री भए/नभएको, अपाङ्गता एवं यौनिक अल्पसंख्यक समुदायलाई प्रयोग गरिएको भाषाको प्रयोगलगायतबारेविषय समेटिएको छ ।
