मान्छेले जस्तै व्यवहार देखाउने रोबोट सार्वजनिक
काठमाडौँ । चीनले मान्छेले जस्तै व्यवहार देखाउने रोबोट सार्वजनिक गरेको छ । मोया नामक यो रोबोट केवल हिँडडुल गर्नसक्ने मात्रै होइन मानिसजस्तै देखिने र मान्छेले जस्तै व्यवहार देखाउने छ । झ्वाट्ट हेर्दा यो रोबोट कुनै मेसिनभन्दा मानिसकै स्वरुपजस्तो लाग्छ । आँखा झिम्काउने कला, टाउको हल्लाउने शैली र हल्का मुस्कानजस्ता संकेतहरूले यसलाई अन्य आम रोबोटहरूभन्दा फरक बनाएको छ । मोयाको डिजाइन नै यसरी गरिएको छ कि यसको सामुन्ने उभिएको व्यक्तिलाई मेसिन होइन कि एक सुन्दर युवतीको अगाडि उभिइरहेको अनुभूति हुन्छ । अझ यसको छाला हल्का न्यानो बनाइएको छ । त्यसैले यो रोबोट हेर्दा मात्र होइन छुँदा पनि मानिसकै जस्तो स्पर्श अनुभूति हुन्छ । नजिक उभिएर कुरा गर्दा यसले आँखामा आँखा जुधाउँछ र कुरा गरिरहेको व्यक्तितर्फ ध्यान केन्द्रित गर्छ । यस्तै ससाना मानवीय व्यवहारहरूले गर्दा मेयाले सबैलाई चकित बनाएको छ । किनकि सामान्यतया रोबोटहरूमा यस्तो स्वाभाविक व्यवहार देखिँदैन ।
यस रोबोटभित्र क्यामेरा र सेन्सर जडान गरिएका छन् जसले अगाडि उभिएको व्यक्तिको अनुहार र चालढाल पहिचान गर्छन् । यही कारणले यसलाई बायोमेट्रिकमा आधारित रोबोट पनि भन्ने गरिएको छ । आफ्नो अगाडिको व्यक्तिको चालढाल क्याप्चर गरेसँगै यसको एआई प्रणालीले ती डाटालाई प्रोसेस गर्छ र त्यसकै आधारमा रोबोटका आँखाको संकेत, अनुहारका भाव र शरीरको कम्पन निर्धारण हुन्छ । बाहिरबाट हेर्दा यो सबै स्वाभाविक देखिन्छ तर वास्तविकतामा भने यसले पहिल्यै तय गरिएका ढाँचा अनुसार नै काम गरेको हुन्छ । वास्तवमा यो रोबोटले आफैं केही महसुस नगरी प्राप्त डाटाका आधारमा प्रतिक्रिया दिने गर्दछ ।
मोयाको यस्तो मानवरूपी व्यवहारले अहिले नयाँ बहस जन्माइरहेको छ । धेरैले यसलाई वृद्धहरूको हेरचाह, अस्पताल वा ग्राहक सेवा जस्ता क्षेत्रमा उपयोगी हुन सक्ने बताइरहेका छन् । त्यस्ता ठाउँमा मेसिन नै भए पनि यदि मानिसजस्तै लाग्यो भने सेवाग्राहीलाई सहज अनुभूति हुन सक्छ ।
सामाजिक सञ्जालमा केही मानिसहरूले यसलाई कम्प्यानियन अर्थात भावनात्मक साथ दिने रोबोटको रूपमा हेर्न थालेका छन् । यो रोबोटको छाला न्यानो हुनु, मानिसले जस्तै गरी आँखाले हेर्नु तथा प्रतिक्रिया दिने हुनाले मानिसमा यसप्रति अपनत्वको अनुभूति हुन थाल्छ । कतिपयको आशंका के पनि छ भने यस्ता खालका रोबोटका कारण मानिसहरू अब मेसिनहरूसँग भावनात्मक सम्बन्ध गाँस्ने दिशातर्फ अघि बढिरहेका छन् ।
यद्यपि प्राविधिक रूपमा हेर्दा मोया अझैपनि मानिसको सोँचसँग उति निकट पुगिसकेको छैन । यसले अनुहारका हाउभाउ र आवाजको टोन चिन्न सक्छ । तर सन्दर्भ र भावनालाई गहिराइमा बुझ्नु अहिले पनि मेसिनका लागि चुनौतीपूर्ण छ । कुनै मानिसको उदासी, रिस वा खुसी केवल अनुहार हेरेर बुझ्न सजिलो हुँदैन । त्यसैले मोयाजस्ता रोबोटहरूको प्रभावकारीता हाल सीमित हुनेछ । त्यसैले यस्तो प्रकारका ह्युमनोइड रोबोटहरू तत्काल घरघरमा देखिने कुरा अहिलेका लागि टाढाको विषय हो । किनकि यस्ता रोबोटको निर्माण खर्चिलो हुन्छ र विशेष हार्डवेयर, सेन्सर तथा एआई प्रणाली आवश्यक पर्छ । सुरुमा यिनको प्रयोग अनुसन्धान, अस्पताल वा विशेष सेवा क्षेत्रमा नै बढी देखिन सक्छ । प्रविधि बिस्तारै सस्तो बन्दै गएपछि मात्र यो आम मानिससम्म पुग्ने सम्भावना छ । तर यथार्थ के हो भने मोया जस्ता मेसिनहरूले के देखाएका छन् भने रोबोटिक्स अब केवल कारखाना र गोदामसम्म सीमित छैन । मेसिनहरू अब मानिसका दैनिक स्थानहरूमा प्रवेश गर्न थालेका छन् । यो ठूलो परिवर्तन हो, तर यससँगै धेरै प्रश्न पनि जोडिएका छन् ।
संसारकै सबैभन्दा छिटो दौडने रोबोट तयार
हालै चीनले संसारकै सबैभन्दा तीव्र गतिको रोबोट तयार पारेको थियो । चीनको रोबोट प्रविधि कम्पनी मिरर मी टेक्नोलोजीले ‘बोल्ट नामको एक मानवरूपी अर्थात् ह्युमनोइड रोबोट निर्माण गरेको उक्त रोबोट संसारकै सबैभन्दा छिटो दौडने रोबोट भएको दाबी कम्पनीको छ । ह्युमनोइड रोबोट भनेको दुई खुट्टामा मानिसझैँ हिँड्न र दौडन सक्ने रोबोट हो । कम्पनीका अनुसार बोल्ट नामक उक्त रोबोटले दौडिएर एक सेकेन्डमै १० मिटर दूरी पार गर्न सक्छ । यस रोबोटको तौल ७५ किलोग्राम र उचाइ ५ फिट ७ इन्च छ । कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सार्वजनिक गरेको भिडियोमा बोल्टको गति देखाइएको छ। भिडियोमा प्रयोगशालाभित्र ट्रेडमिलजस्तो सतहमा मानिस र रोबोटबीच दौड प्रतियोगिता हुँदा गति बढ्दै गएपछि मानिस लडखडाएर लडेको देखिन्छ । तर, बोल्ट रोबोट पनि निकै तीव्र गतिमा दौडिरहेको हुन्छ र उच्चतम तीव्र गतिमा १० मिटरको दूरी एक सेकेन्डमै पार गरेको देखिन्छ ।
एक्समा सार्वजनिक भिडियोमा रोबोटसँगै ट्रेडमिलमा दौडने व्यक्ति सो कम्पनीका मालिक स्वयं भएको बताइएको छ । बोल्टको दौडने शैली मानिसको जस्तै रहेको कम्पनीले जनाएको छ । जीउको सन्तुलन कायम राख्नका लागि यो रोबोटले दौडिने बेला हात र टाउको चलाउने गर्दछ । जसले यो रोबोटलाई अन्य रोबोटभन्दा फरक बनाएको छ । मिडिया रिपोर्टअनुसार मिरर मी कम्पनीको लक्ष्य चाहीँ सामान्य रोबोटभन्दा अगाडि बढेर खेलकुदको क्षेत्रमा मानिस सरह वा मानिसभन्दा राम्रो प्रदर्शन गर्न सक्ने ‘सुपर रोबोट’ विकास गर्नु हो ।
मिररमी कम्पनीको यसअघिको अर्को रोबोट ब्ल्याक प्यान्थर द्वितीयले यसअघि १०० मिटर दौड १३.१७ सेकेन्डमा पूरा गरेर कीर्तिमान बनाएको थियो । यस्तो उच्च गति चर्चित रोबोट निर्माता बोस्टन डायनामिक्स का रोबोटहरूले पनि हासिल गर्न सकेका छैनन् । विज्ञहरुका अनुसार बोल्टजस्ता रोबोटहरू भविष्यमा धावकहरुको प्रशिक्षणमा सहयोगी बन्न सक्ने सम्भावना छ । यद्यपि हालसम्म यो रोबोट प्रयोगशालामा मात्र परीक्षण गरिएको हुनाले वास्तविक वातावरणमा यसको प्रदर्शन कस्तो हुन्छ भन्ने विषयमा थप परीक्षण आवश्यक छ ।
भिक्षुसँग ‘मार्सल आर्ट्स’ सिक्दै रोबोट
चीनको शाओलिन मन्दिरमा रोबोटहरूले भिक्षुहरूसँगै कुंग फू मार्शल आर्ट्सको अभ्यास गरिरहेको भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भएको छ। चीनमा प्रविधिको विकास कुन हदसम्म भइसक्यो भन्ने कुरा देखाउने एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यहाँको शताब्दीयौँ पुरानो शाओलिन मन्दिरमा रोबोटले भिक्षुहरूसँगै ‘कुंग फू’ मार्सल आर्टको तालिम लिइरहेको दृश्यले इन्टरनेट प्रयोगकर्तालाई आश्चर्यचकित बनाएको छ । उक्त भाइरल भिडियोमा मन्दिर परिसरमा परम्परागत पहिरनमा रहेका भिक्षुहरूले जस्तै रोबोटहरूले पनि एकै लय, एकै मुद्रा र एकै चालमा मार्शल आर्ट्सको अभ्यास गरिरहेका छन् । हात खुट्टाको चालदेखि सन्तुलन र तालसम्म हेर्दा रोबोट र भिक्षुबीच फरक छुट्याउनै गाह्रो देखिन्छ ।
चीनमा शाओलिन कुंग फूलाई मानवीय अनुशासन, आध्यात्मिक साधना र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कला मानिन्छ । तर मानिसले गर्ने यो अभ्यासलाई मेसिनले पनि उस्तै निपुणताका साथ गरिरहेको दृश्य चाहिँ धेरैलाई अविश्वसनीय लागेको छ। भिडियो हेरेपछि सोसल मिडियामा प्रतिक्रिया जनाउँदै कतिपय सोसल मिडिया प्रयोगकर्ताहरूले यस्ता प्रश्न गरेका छन्– अब ध्यान र साधना पनि रोबोटले नै गर्ने हो ? के मानव परम्पराको अन्तिम सीमा यही हो?
चाइना इनसाइडरको रिपोर्टअनुसार उक्त भिडियोमा देखिएका ह्युमनोइड रोबोटहरू शाङ्घाईस्थित आगिबोट कम्पनीले निर्माण गरेको हो । यी रोबोटहरूले आफ्नो आसपासको वातावरण बुझ्न सक्छन् भने सेन्सरको सहायताले चालढाल मिलाउँछन् । साथै यिनले मानिसले गर्ने जटिल शारीरिक गतिविधि पनि अनुसरण गर्न सक्छन् । कम्पनीका अनुसार यी रोबोटहरू वास्तविक संसारमा काम गर्नकै लागि सक्षम बनाइएका छन् । तर अहिले उनीहरूले मार्शल आर्ट्स समेत अभ्यास गरिरहेको दृश्य सार्वजनिक भएपछि चर्चा चुलिएको हो । कतिपयले त रोबोटले मार्सल आर्टको तालिम लिइरहेको भिडियो नै एआईबाट तयार गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।- एजेन्सी
