वित्तीय समावेशीकरण सूचकांक ०.४७ बाट बढेर ०.५३ पुग्यो

२०८२ माघ २० गते, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकांकअनुसार आर्थिक वर्ष २०२४र२५ मा समग्र वित्तीय समावेशीकरण सूचकांक ०.४७ बाट बढेर ०.५३ पुगेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा प्रकाशित प्रतिवेदनले यो सूचकांकमा उल्लेख्य सुधार भएको देखाएको हो । ‘वित्तीय सेवामा पहुँच विस्तार, डिजिटल माध्यमको प्रयोग तथा सेवा गुणस्तरमा सुधारका कारण वित्तीय समावेशीकरण सूचकांकमा स्थिर र व्यापक प्रगति भएको छ’, राष्ट्र बैंकले भनेको छ ।
रिपोर्टअनुसार मानव विकास सूचकांक जस्तै विधिबाट गणना गरिएको उक्त सूचकांक ० देखि १ को मापनमा आधारित छ, जहाँ उच्च अंकले उच्च वित्तीय समावेशीकरण जनाउँछ । त्यस्तै, सूचकांकका तीन आयामका रुपमा पहुँच, प्रयोग र गुणस्तरअन्तर्गत विभिन्न ५५ सूचकांकका आधारमा तयार गरिएको हो । प्रतिवेदनमा पहुँच सूचकांक ०.५३ पुगेको उल्लेख छ, जसले देशभर वित्तीय संस्था, सेवा केन्द्र तथा डिजिटल वित्तीय सेवा माध्यमको विस्तार भएको देखाउँछ । त्यस्तै प्रयोग सूचकांक ०.५४ रहेको छ । यसले बैंकिङ्, डिजिटल भुक्तानी, बीमा तथा अन्य वित्तीय सेवामा व्यक्ति र घरपरिवारको संलग्नता बढेको संकेत गर्छ । त्यसैगरी, गुणस्तर सूचकांक ०.५० मा पुगेको छ । ‘वित्तीय साक्षरतामा वृद्धि, उपभोक्ता संरक्षण संयन्त्रको सुदृढीकरण, पारदर्शिताको अभिवृद्धि तथा ग्राहक अनुभवमा सुधारका कारण गुणस्तर सूचकांकमा उल्लेखनीय प्रगति भएको होु’, केन्द्रीय बैंकको रिपोर्टमा भनिएको छ ।
राष्ट्र बैंकले नीतिगत पहल, डिजिटल वित्तीय नवप्रवर्तन तथा नियामक सुधारले सकारात्मक प्रभाव परेको उल्लेख गर्दै आगामी दिनमा डिजिटल पूर्वाधार सुदृढीकरण, वित्तीय साक्षरताको प्रवद्र्धन तथा उपभोक्ता केन्द्रित वित्तीय सेवामा निरन्तर जोड दिन आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु