‘जनताले समाजवादसहितको संंघीय स्वायत्त गणतन्त्रिक प्रणाली खोजेका छन्’

देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गएको छ । यस संकटवाट देश र जनतालाई जोगाउन नेकपाले के सोचेको छ ?
यसमा हामीलाई कुनै आश्चार्य लागेको छैन । आज देशको दशा जो हुनु थियो त्यो भएको छ । यस्तो हुन्छ र यो ठाउँमा पुग्छ भनेर हामीले धेरै पहिले देखि भन्दै आएका छौं र अझ यही नेता, यही व्यवस्था र अवस्था रहिरह्यो भने देश अझ खराबभन्दा खराब अवस्थामा पुग्ने छ किन कि यो संसदीय व्यवस्था र दलाल पुँजीवादको अनिवार्य विशेषता हो । जबसम्म यो व्यवस्था र यसको कभरमा लुकेर बसेका लुटेराहरुलाई चिन्दैनौं, भोट दिएर जिताएर पठाइरहन्छौं र सत्ता चलाउन दिइरहन्छौं उनीहरु देशलाई लुटिरहनेछन्, जनता भुटिरहने छन्, देशको साधनश्रोतहरु बेचिरहनेछन् देशको ढुकुुटीभित्र गुवाउरो किरा वा घुुन पुतली भएर देश खोक्रो बनाउने छन् । देशमा अझ संकट बढ्ने छ । त्यो दिन आउन अझै बाँकी छ ।
जहाँसम्म देश र जनतालाई बचाउने कुरा छ– यसको विकल्प क्रान्ति बाहेक अरु छैन । सानोतिनो सुधारबाट देश बन्ला भनेर कसैले नसोचे हुन्छ, किन कि देश धेरै विग्रीसकेको छ । न संविधान संशोधन गरेर हुन्छ न नयाँ विधेयक ल्याएर हुन्छ, न मान्छे फेरेर हुन्छ । सत्ता नै नबदलिकन केही हुनेवाल छैन । यसको लागि नेकपाले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अगाडि सारेको छ । वैज्ञानिक समाजवादको विकल्प दिएको छ । त्यसको लागि नेपाल विविधताको देश भएकोले नेपाली समाज र नेपाली जनताको आकांक्षा अनुसार तत्काल नेपाली विशेषताको समाजवाद नै एक मात्र आजको समस्या समाधानको विकल्पको भएको नेकपाको निष्कर्ष छ ।
कालोबजारी, भ्रष्टाचार, अनियमितताले सीमा नाघेको छ । तर तपाइँको पार्टी मुकदर्शक बनी रहेको स्थिति छ । कारण के हो ?
दलाल व्यवस्थामा यी भइरहन्छन् । यसको विरोध मात्र होइन हामीले भ्रष्टाचारी, कमिशनखोर, घुसखोरी, सुदखोरीहरुलाई कारवाही नै गरेका छौं । हाम्रा नाममा सयौं मुद्दाहरु अझै उस्तै छन् । एक दर्जनभन्दा बढी साथीहरु ६÷७ वर्षदेखि जेलमै हुनुहुन्छ । यो व्यवस्था रहँदासम्म यो भइरहन्छ, घट्ने होइन झनझन बढेर जाने हो । हामीले सबै प्रकारका संघर्षहरु गरिरहेकै छौं । तर हामीले मात्र गरेर पुग्दैन हामी त एक सचेतक हौं, जनतालाई सचेत बनाउँछौं, बनाइरहन्छौं र बनाइरहने छौं । दोस्रो हामी यसका अगुवा दस्ता हौं, यसको नेतृत्व गर्छौं, गरिरहेकै छौं । हामीले मात्र भनेर गरेर पुग्दैन, सबै सरोकारवालाहरु पनि सडकमा आउनु प¥यो । कुनामा बसेर दर्शक बनेर नेकपा मूकदर्शक बनेको भनेर भएननी । आउनुस हामी सडकमै छौं । अहिलेसम्म कसले गरेको छ यसका विरुद्धको संघर्ष ? को जेलमा बसेको छ, ? कसले तारेख धाइरहेको छ ? को मरेको छ ? को घाइतेअपाङ्ग भएको छ ? आज दिनदिनै हाम्रा घरहरुमा अद्दालतले म्याद ताँसीरहेको छ, लाखलाख धरौटीको घोषणा गरिरहेको छ । धरौटीको नाममा हामीबाट अद्दालतले करोडौ असुलेको छ । यो पनि एक प्रकारको घुस, कमिशन, भ्रष्टाचार हो । हामीले यसको पनि हिसावकिताव गरिरहेका छौं । यी सव कोले ग¥यो ? हामीले त हो गरेको । अनि कसरी मुकदर्शक बन्यो नेकपा ?
मिटरब्याज, लघुवित्त, सहकारी पीडित सडकमा बास हुने स्थितिमा पुगेका छन् । नेकपाले पनि ती पीडित जनताको घाउमा मलम लगाउने कार्य गर्न सकेन भन्ने जनगुनासो छ । के भन्नु हुन्छ ?
यसको बारेमा सबभन्दा पहिले आवाज उठाउने र कारवाही चलाउने हाम्रै पार्टी हो । हाम्रो पार्टीले पीडितहरुको पक्षमा आवाज उठाएन कि, संघर्ष गरेन कि, उनीहरुले उठिवास गरेका र कब्जा गरेका जनताका घर जग्गाहरु फिर्ता गरेन कि, कतिपय ठाउँमा सर्वोच्चले समेत फैसला गरेर सडकमा पु¥याएका जनताका घर जग्गाहरु पार्टी फिर्ता गरेको छ । कतिपय अझै पार्टीको निगरानीमा छन् । कतिपयलाई बहुलाउन लगाए, कतिलाई आत्महत्या गर्न बाध्य गराए । यी पीडितहरुको घाउमा मलमपट्टी लगाउने हाम्रै पार्टी हो । सयौं यस्तै पीडितहरुलाई आत्महत्याबाट बचाएको छ । पार्टीले यो भन्दा कति गर्ने ? गर्ने जति सबै गरेको छ र गरिरहेकै छ । तर उता सत्ता, प्रशासन र अद्दालत छ । मिलोमतोमा भ्रष्टाचार, अनियमितता गरेका छन् । ठूलाठूला सरकारी ओहदाका र राजनीतिक दल र संस्थाकै फाउण्डरहरु नै संस्थागत रुपले खाएर भागेका छन् । तिनलाई सरकारले बचाइराखेको छ । केही उपाय नलागेपछि नेकपामा जाउ भन्छन् र आउँछन् पनि । हाम्रो पार्टीले सक्दो न्याय दिएकै छ । कानुनी हिसावले र सबै उपाय सकेपछि हाम्रो पार्टीमा आउने गर्दछन् । अनि कतिपय सफल हुन्छ कतिपय हुँदैन । केही गरेर पनि नहुनेलाई संघर्ष बाहेक त कुनै उपाय छैन । डाक्टरहरुले बिरामीलाई रोगले सबै खाएपछि अस्पताल आउनु हुन्छ, म कसरी बचाउँ, सकेसम्म बचाउने कोसिस गर्छु भन्छन् । हाम्रो पनि त्यहि हो । अन्तिममा कोसिस गर्ने हो केही उपाय नलागेपछि सत्ता संघर्ष बाहेक अरु विकल्प छैन किन यी सबै दलाल पूँजीवादी सत्ताका खेल हुन् । यो सत्ता रहुञ्जेल यो भइनै रहन्छन् हल हुँदैनन्, राहात दिने कुरा मात्रै हो ।
यतिबेला १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलव्धि गुम्ने स्थितिमा पुगेको देखिन्छ । यस विषयमा पार्टीले कस्तो कदम चाल्छ ?
जनयुद्धको सारतत्व उतिबेलै गुमी सकेको थियो जतिबेला जनयुद्धको घोषित रुपमै समापन गरियो । क्रान्तिको काम सत्ता बदल्ने हो । सत्ता बदलिएन सरकार र मान्छेहरु मात्र चेञ्जफेञ्ज भए । क्रान्तिको काम आधार र उपरिसंरचना दुबै बदल्ने हो । आधारका केही अंश र उपरिसंरचनाका केही अंश भत्कियो तर ठूलो भाग जस्ताको तस्तै रह्यो । सत्तामा राजतन्त्र भत्कियो दलाल पूँजीवाद आयो । सामन्तवादको आधार भत्कियो त्यसको ठाउँ दलाल पूँजीवाद आएर बस्यो । उपरिसंरचनामा राजतन्त्र भत्कियो तर सिष्टम, चरित्र र प्रवृत्तिहरु उही रहे । सिष्टम संसदीय व्यवस्था पुरानै रहिरह्यो । सेना–पुलिस, जेल–प्रशासन, नियम–कानून, न्याय,–अद्दालत, संस्कार–संस्कृति, धर्म–कर्म उही पुरानै रहिरह्यो । सरकार मात्र भत्कियो, मान्छे र दलहरु बदलियो, पालैपालो सरकार चलाउने भए । यसको कारण सिष्टम पुरानै रहिरह्यो । जनयुद्धको दमन गर्ने संस्थाहरु राजतन्त्र,, काँग्रेस र एमाले हुन् । पात्रहरुमा राजा, देउवा र केपीहरु हुन् । आज गणतन्त्र आयो राजा । राजतन्त्र मात्र छैन । तर काँग्रेस एमाले, शेरबहादुर र केपीहरु नै सत्तामा छन् । अनि कसरी क्रान्ति भयो त ? कसरी परिवर्तन आउला ? त्यसैले उतिबेलै गुमेको भनेको हो । त्यतिबेलाका माओवादीका सत्ता, सेना, जेल, प्रशान, अद्दालत, कम्युन, सहकारी, सत्ताका स्वायत्त संरचनाहरु उतिबेलै गुमीसकेको थियो र सबै पुरानै सत्ता अन्तर्गतका निकायहरु पुनस्थापित भएका थिए । जनताका सारा आकांक्षाहरु त्यति बेलै समाप्त भए, प्राप्त सारा अधिकारहरु खोसिएको हो ।
शान्ति प्रक्रियामा आउँदा जनयुद्धका केही नासोका रुपमा बचेका अवयवहरु भनेको गणतन्त्र, धर्मनिर्पेक्षता, समानुपातिक–समावेसी, मानव अधिकार हो, भनिन्छ । मुख्य त गणतन्त्र हो । मानव अधिकार साम्राज्यावादको नारा हो । यो हुनेखाने र पहँुचवालाको भएको छ । जनता मानवअधिकारबाट अहिले पनि बञ्चित छन् । चुनावमा जाँदा समानुपातिक र समावेसीता हो । यो पनि नेताहरुको खल्तीमा गयो । समानुपातिकलाई खल्तीमा राखेपछि समुदायको अधिकार पनि हरायो । नेताको खल्तीमा गएपछि यो पैसा, चाप्लुसी, नातावाद, कृपावाद, दलाली र गुटमा गयो । यसरी यो पनि जनताबाट खोसियो । बाँकी रहेको भनेको गणतन्त्र र संघीयता हो । संघीयता पनि जनताको भएन । नेताहरुको भोट बैंकको संघीय आधार बाहेक यो व्यवस्थामा संघीयता पनि जनताको भएन, नेताहरुको बन्यो । अन्तिममा यही गणतन्त्र मात्र बाँकी छ । जनयुद्धको भने पनि १९ दिने आन्दोलनको भने पनि यति एउटा बाँकी रहेको छ । यसलाई पनि कसरी खोस्ने भन्ने दाउमा राष्ट्रिय अन्तराष्ट्रि षड्यन्त्रहरु भइरहेको छ । जनता सचेत भएनन् र प्रवुद्ध वर्गको विवेक हरायो भने र नेताहरुले कर्तव्य भुले भने यो गणतन्त्र पनि गुम्न सक्छ । तर चिन्ता गर्न जरुरी छैन कि त्यसको लागि नेकपा जिउँदै छ । फुुटेर तितरपितर भए पनि पूर्व माओवादी घटकहरु जिउँदैछन् । यसले फेरी माओवादीहरुलाई एक ठाउँमा लिन सक्छ । शान्ति प्रक्रियाताका ७ राजनैतिक दलहरु थिए छन् । ती जिउँदै छन् कि मरेका छन् ? जिउँदै भए ती पनि गणतन्त्रका हिस्सेदार हुन् । यदि यी दलहरुले दलीय नैतिकता गुमाएका छैनन् भने ती पनि जिउँदैछन् । त्यसैले गणतन्त्र सजिलरी जाने स्थिति देखिदैन । कथंकदाचित देशी विदेशी प्रतिक्रियावादी र पश्चागामी शक्तिहरु षड्यन्त्र गरेर पश्चागामी कदम चाले भने यो क्षणिक रुपमा गणतन्त्र गुम्ने र राजतन्त्र फर्कने खतरा रहन्छ । तर यो पानीको फोका जस्तै हुनेछ । यसले धेरै समय टिक्न सक्ने छैन । यो ००.०९ प्रतिशत मात्रको संभावना हो । यो ००.०१ प्रतिशतले ९९.९९ प्रतिशतमाथि प्रभाव जमाए भने नेपाली जनताले निकै ठूलो मूल्य चुकाउनु पर्छ । धेरै ठूलो रक्तपात हुन्छ, फेरी पनि यसले धेरै दिन टिक्न सक्दैन, किन कि यो २१औं शताब्दी हो र नेकपा र माओवादीहरु जिउँदै छन् । यसमा नेपाली सेना पनि सचेत छ । नत्र यसले अर्को जनयुद्ध भाग २ निम्त्याउँछ । यो निकै भयानक हुने छ ।
पछिल्लो समय राजावादीहरुको सक्रियता निक्कै बढेको छ । जसकाका कारण गणतन्त्रमा संकट पैदा भएको चर्चा चलाइदै छ । यस विषयमा पार्टीको धारणा के छ ?
सत्ता गुमाएको पराजित शक्ति जहिले पनि आफ्नो गुमेको सत्ता फर्काउन ललायित हुन्छ । कहिले काहीँ १० गुणा शक्ति लाएर आफ्नो गुमेको सत्ता फिर्ता गर्ने कोसिस गर्छ । यो नियमै हो ।
आजभोली राजावादीहरुको चहलपहल अलिअलि बढेकै छ । बैशाख १५ गते तीनकुने, कोटेश्वर र जडीबुटीमा यिनले घटाएका अराजक दृश्यहरु जनताले देखेकै छन् । यसको पछाडि राष्ट्रिय अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुको उक्साहत भएको कुरामा पनि दुईमत छैन । दुर्गा प्रसाईलाई सबैले देखेको बुझेकै कुरा हो । उ कुन शक्तिबाट परिचालित छन् । यता हिन्दुवादीको नाममा आदित्यनाथहरु कसबाट परिचालित छन् । आपसमा टुक्रटुक्रा भइ बसेका राजावादीहरुलाई कुन शक्तिले जोडीरहेको छ । पञ्चायतपछि दुलोभित्र शीतनिन्द्रामा बसेका ८२÷८४ वर्षका बृद्ध नवराज सुवेदीहरुलाई मर्ने बेलामा कुन संजीवनी बुटीले क्रियाशील बनाएको छ । यो सबैले जानेबुझेकै कुरा हो कि २१औं शताब्दीमा आएर नेपालमा राजा फर्काउने र हिन्दुअधिराज्य बनाउने यो कुबुद्धि कसले सिकायो कुन्नी विचरालाई ?
आजको जमाना विज्ञान र प्रविधिको जमाना हो । स्वतन्त्रताको जमाना हो । गणतन्त्रले त पुगेको छैन र जनता यसको अग्रगामी र अझ उन्मुक्त संसारको खोजीमा छन् । यसबेला उल्टो दिशातिर देशलाई लैजाने र मुलुकलाई रसातलतिर धकेल्ने कदम कुनै पनि तर्क र बाहानाले मिल्दैन । यो षड्यन्त्र हो । यो प्राणघातक हुन्छ । तर एउटा सत्य विषय के हो भने यति भनिरहँदा यो व्यवस्था ठीक छ भनेको हौइन । यो व्यवस्था पनि ठीक छैन । यो गणतन्त्रले पनि पुगेको छैन । त्यसैले यो गणतन्त्र संकटमा अवश्य हो तर यो संकटको हल राजतन्त्र होइन र हुन सक्दैन । यसको विकल्प समाजवादी संघीय गणतन्त्र हो । जनताले समाजवादसहितको संंघीय स्वायत्त गणतन्त्रिक प्रणाली खोजेका छन् । यो संकटबाट गुमेको सत्ता फर्काउन सकिन्छ कि ? भनेर मौका (दाउ) कुरेर बसेका राजावादीहरु अलिअलि उफ्रेका छन् । वास्तवमा यो वेमौसमको बाजा हो । पुरानो धारणा अनुसार बेमौसममा बाजा बजाउँदा साना–साना किट पतंग निस्कन्छन् र मर्छन् रे, “पाप हुन्छ रे” । एक दिन तीनकुनेमा राजावादीहरुको बेमौसमको बाजा बज्दा दुई जना मान्छे मरे, दर्जनौ घाइते भए । त्यसैले यो नहुने कुरा नगरौं ।
जहाँसम्म यो सत्ताको कुरो छ– यो सत्ता ठीक छैन भन्नेमा हामी पनि छौं । यी नेताहरुबाट देश चल्दैन, मुलुक अघि जाँदैन भन्नेमा हामी पनि छौं । यसमा हाम्रो समर्थन पनि छ । सत्ता र पुराना नेताहरुको नयाँ विकल्प खोज्नै पर्छ यसमा पनि हाम्रो समर्थन छ तर यिनको विकल्प राजा, राजतन्त्र र हिन्दु अधिराज्य हुन सक्दैन । मेरो कुरा भन्नु हुन्छ भने त– नेपाल हिन्दु, मुश्लिम, बुद्ध, क्रिश्चियन कुनै धर्मको देश हुनुहुँदैन । धर्मनिर्पेक्ष देश ठीक छ तर धर्मनिर्पेक्षताको नाममा धर्म राजनीतिलाई कुनै प्रश्रय र स्थान दिइनु हुँदैन । यसमा यो सत्ताको कमजोरी छ । यहाँ गाउँ गाउँमा क्रिश्चियन धर्मका चर्चहरु बनिरहेका छन् र धर्म राजनीति गरिरहेको छन् । यसले कुनै दिन नेपालमा धर्मयुद्धको खतरा मडारिरहेको देख्छु । धर्मलाई नितान्त व्यक्तिगत मामिला बनाउनु पर्छ । जनता र व्यक्तिले आस्था राख्न पाउँछन्, धर्म मान्न पाउँछन् तर त्यसको नाममा संगठन, संस्था खडा गरेर, यसको प्रचार प्रसार गरेर, स्थानीय रुपमा सानातिना विकास निर्माणमा समेत बजेत छुटाएर वैकल्पिक सत्ता चलाउन पाइदैन । मान्छे र समाजलाई धर्मको नाममा विभाजन गन र, भाँड्न पाइन्न । समाजलाई पछाडि फर्काउने सामाजिक अपराध हो । यसले समाजलाई पश्चागमनतिर लैजान्छ । त्यसैले अग्रगामी विचार र कदमका लागि हामी सहकार्य गर्न तयार छौ तर पश्चगामी र प्रतिगमनका हाम्रो विरोध रहन्छ ।
नेपाल कम्युनिस्ट पार्टी निवार्चन आयोगमा दर्ता हुन् लागेको प्रचारमा आएको छ । पार्टी दर्तासंगै तपाईंहरु पनि संसदीय राजनीतिमा होमिन खोज्नु भएको त होइन ?
हो, यो प्रचार मात्र होइन वास्तविकता हो । आउँदो ८४ को चुनावमा हाम्रो पार्टी सहभागी हुने पार्टी नीति र निर्णय छ । निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रक्रियामा छौं । यसको लागि स्थायी समिति सदस्य कमरेड कर्णजीत सी को नेतृत्वमा सानो कार्यदल पनि बनाएका छौं । टोली आफ्नो काममा लागिसकेको छ ।
जहाँसम्म संसदीय राजनीतिमा होमिन खोज्नु भएको त होइन ? भन्ने प्रश्न छ, यो अलि गंभीर प्रश्न हो । संसद, संसदीय राजनीति र चुनावलाई एउटै टोकरीमा राखेर हेरियो भने तपार्इंले भने जस्तै दृष्टिकोण आउँछ तर म के भन्न चाहन्छु भने हामी (क. विप्लवको नेतृत्वको नेकपा प्रचण्ड–किरण हुँदै यहाँ आएको एक दशक नाघेको छ । यो एक दशकमा हामी के ग¥यौं के गरेनौं ? यसको हामी निकट भविष्यमा पार्टीमा एक विशेष महाधिवेशन गरेर विचार संश्लेषण गर्ने गत केन्द्रीय समितिले निर्णय गरिसकेको छ । ती महत्वपूर्ण निर्णयहरुमा निर्वाचनसम्बन्धी निर्णय पनि एक रहेको छ । हामीले संसदीय व्यवस्था र चुनावलाई अलग–अलग गरेर हेरेका छौं । चुनावमा जानु वा चुनावको प्रयोग गर्नुलाई सिँधै व्यवस्थासँग जोडेर अविछिन्न र अक्षुण्ण रुपमा हेर्ने पुराना विचार, प्रवृत्तिलाई हामी नवीकरण गरेका छाँै र चुनाव अलग्गै एउटा राजनीतिक मोर्चाको क्षेत्र हो र संसद र संसदीय व्यवस्था अलग विषयवस्तु हो भन्ने हाम्रो धारणा रहेको छ । संसदीय व्यवस्थाले अगाडि सारेको चुनावमा सहभागी बन्दैमा संसदवादी आरोप लगाउने पुरानो चिन्तन र चलनको हामी अन्त्य गरेका छौं । चुनावमा जानुलाई संसदवादी देख्नु र चुनावमा नजाँदा क्रान्तिकारी देख्नु यी अद्वन्द्ववादी विचार हुन् । हामी यसबाट मुक्त छौं तर पुरानो चिन्तन र संस्कारमा रुमलिएको राजनीतिक चिन्तन र संस्कार बदल्न निश्चय नै केही समय लाग्न सक्छ । यस्तो समाज र संस्कारबाट यो कुरा उठ्नुलाई अस्वभाविक मान्दैनौ तर हामी संसदवादी भएर जाने कुरामा शंका नगर्न मेरो अनुरोध छ ।
तपाईंहरुले वर्तमान राजनीतिक संकटबाट देश र जनतालाई मुक्त पार्न गठन गरेको समाजवादी मोर्चा पनि खासै उपलब्धिमुलक भएन भन्ने बहस चलिरहेको छ । के भन्नु हुन्छ ?
समाजवादी मोर्चा आजको समयको उपज हो । हावा कहिले बेगवान गतिमा चल्छ त्यसलाई हुरी, हुन्डरीको रुपमा चिन्छन् । कहिले पूर्वबाट पश्चिमतिर चल्छ, कहिले पश्चिमबाट पूर्वतिर । हुरी हुन्डरी चल्दा त्यसले मानिस, घर, बोट विरुवा, पनि उडाएर लान्छ । तर हुरी सधैंभरि चल्दैन । हावा भने सधैंभरि कहिले मन्द, कहिले जोडले चलिरहेको हुन्छ तर काम भइ नै रहेको हुन्छ । यो गति हो । गतिको नियम यस्तै हुन्छ । यस्तै हो समाजवादी मोर्चा पनि आफ्नो गतिमा छ कहिले मन्द गतिमा कहिले हुरी बतास सरी चल्छ । यसलाई एउटै आँखाले हेर्नु हुँदैन । मन्द हुँदा बेगवान हुरी बिर्सने, हुरी चल्दा मन्द गति विर्सने गर्नु हुँदैन । यो एउटा आन्दोलन हो । आन्दोलन यस्तै हुन्छ ।
निश्चय नै समाजवादी मोर्चाले बाहिर जनता, कार्यकर्ताले अपेक्षा गरे अनुसार गति लिन नसकेको सत्य हो । गति दिने प्रयास भइरहेको छ । साथै यो संयुक्त मोर्चा हो । मोर्चाका आफ्ना निश्चित उद्देश्य र मान्यताहरु छन् । केही उपलब्धीहरु हासिल भएका छन् । मोर्चाले अहिलेसम्मका गतिविधिहरुको समीक्षा पनि गरेको छ तर जनताले देख्ने गरी जसरी गर्नुपथ्र्यो त्यो पुगेको छैन । यसलाई गति दिने प्रयास भइरहेको छ । आशा गरौं यसले कुनै दिन गति पकड्ने छ ।
देशमा गणतन्त्र स्थापना भएपछि देश र जनताको अवस्था झन्–झन् नाजुक बन्न पुग्यो भन्ने विश्लेषण गरि“दै छ । के यो सा“चो हो ?
यो विषयमा पहिले पनि भनिसकेको छु कि यो व्यवस्थाले जनता र देशलाई दिने यति हो । योभन्दा बढी यसबाट अपेक्षा गर्ने ठाउँ छैन । बरु यसले आफ्ना विशेषता अनुसार नाजुकता, कमजरोरी, संकट, अस्थिरता, दलाली, आत्मसमर्पण, परनिर्भरता, विदेशी हस्तक्षेप, महँगी, बेरोजगारी, लुट, भ्रष्टाचार, घुसखोरी, सुदखोरी, कमिशन, युवा पलायन, ऋणमाथि ऋण, सामाजिक अराजकता अझ बढाएर लाने छ । यो व्यवस्थाले दिने र जनताले पाउने यही हुन् । यसको एकमात्र उपचार नयाँ क्रान्ति र जनताको समाजवाद हो ।
वर्तमान राजनीतिक संकटबाट देश र जनतालाई कसरी बचाउन सकिन्छ । यस विषयमा पार्टीले कस्तों कदम चाल्छ ?
देशलाई संकटबाट बचाउने वर्तमान परिस्थिति अनुसारको उपाय भनेको पहिलो जनतामा व्यापक सचेतना अभियान चलाउने, बुद्धिजीवी र प्रबुद्ध वर्गसँग व्यापक विचार–विमर्श गर्ने, राजनीतिक दलहरुसँग बृहत संयुक्त मोर्चा वा विविध मोर्चाहरु खडा गर्ने, अन्तराष्ट्रिय रुपमा पनि आवश्यक मोर्चाहरु खडा गर्ने र सेमिनारहरु चलाउने, आन्तरिक पंक्तिलाई प्रशिक्षित गर्ने । यिनलाई अभियानात्मक रुपले अगाडि बढाएर मात्र संकटको उचित निकास दिन सकिन्छ र जनतालाई कुबाटोतिर लाने हर्कतबाट बचाउँदै भ्रममुक्त पार्न र सहि आन्दोलन र संघर्षतिर अग्रसर बनाउन सकिन्छ । यसको लागि हामी बाहिय पंक्तिमा मित्र वर्ग, शक्ति र समुदायसंग र भित्र आफ्नै पंक्तिमा व्यापक छलफल र आत्मनिर्भरताको कदम चालेका छौं ।
तपाईंले भने जस्तो समाजवादी गणतन्त्रको स्थापना सम्भव छ त ? के संसदवादी दलहरु समाजवादी गणतन्त्रका लागि सहमत हुन् सक्लान त ?
असंभव भन्ने अल्छीको दायरीमा मात्र हुन्छ । संसारमा असंभव भन्ने कुनै चीज छैन । समयको अन्तर मात्र हो । हिजो पञ्चायतकालमा राजतन्त्र र पञ्चायती व्यवस्थाको विरोध गर्दा यस्तै भन्थे, राणा कालमा पञ्चायत असंभव, पञ्चायत कालमा संवैधानिक राजतन्त्र असंभव, आज गणतन्त्र कालमा समाजवादी गणतन्त्र असभव !! यी भनीरहने र आइरहने प्रश्न हुन् । मान्छे पहिले जन्मन असंभव, जन्मेपछि बाँच्न असंभव, बाँचेपछि युवा हुने असंव, युवा पछि बृद्ध हुन असंभव, बृद्धपछि मर्छ भन्ने असंभव भने जस्तै हो ।
समाजमा सामाजिक सत्ताहरु पनि यसरी नै जन्मन्छन् । आदिम साम्यवादपछि दास युग आउँछ भनेर कसले पत्याएको होला । दासयुगपछि सामन्ती युग आउँछ भन्ने सबैको आँखामा असंभवै थियो । सामन्ती युगपछि पूँजीवादी युग र पूँजीवादपछि समाजवाद र समाजवादपछि साम्यवाद आउँछ भन्ने कसैले पत्याएका पनि थिएनन्, संभव पनि ठानेनन् । साम्राज्यवादको निगम पूँजीवाद र भूमण्डलीकृत साम्राज्यवादमा विकास भएपछि तेस्रो मुलुकका राष्ट्रहरुको अस्तित्वमा यसरी संकट आउला र दलाल पूँजीवादको बाटो समाउलान भन्ने चेतना आएको भए माओले अर्कै संश्लेषण गर्थे होलान । तेस्रो मुलुकहरु यसरी दलाल सत्तामा विकास होला भन्ने सोच पनि त कसैको दिमागमा फुरेन । अहिले पनि दिग्गज भनिएका कम्युनिस्ट नेताहरुको दिमागमा सामन्तवाद, नयाँ जनवाद, समाजवाद, साम्यवाद नै फनफनी घुमीरहेको छ । शुरुमा विप्लवले याने नेकपाले नेपाललाई दलाल पूँजीवादले जकडी सक्यो भन्दा कसले पत्याएको थियो र । कतिपय साथीहरुले माक्र्स–ऐगेल्स, लेनिन, माओभन्दा बढी हुन खोज्ने ? सस्तो लोकप्रियता, अमाक्र्सवादी आदि विल्ला भिराइएकै हो तर, सत्य त सत्य नै हो नी । दूरदर्शी नेताले कयौं वर्ष अगाडि नै पछिसम्मको संभाव्यता देखिसकेको हुन्छ । समाजवादी गणतन्त्र यो दलाल पूँजीवादको निर्विकल्प सामाजिक व्यवस्था हो । यो ढिलोचाँडो आउँछ । यो ह्वीम आउँछ, त्यो ह्वीममा सबै आउँछन् आउनै पर्छ र अझ एक कदम अगाडि बढेर हामीले ल्याएको भन्न आउनेछन् । हिजो जनयुद्धमा गणतन्त्रको पक्षमा लड्दा दमन गर्नेहरु आज पालैपालो सत्तामा नेतृत्व गरिरहेका छन् र गणतन्त्र हामीले ल्याएका हौं भनिरहेका छन् जसले राजा र राजतन्त्रको पक्षमा दशौं हजारको हत्या गरेका थिए । फेरी समाजवाद केवल हाम्रो निम्ति मात्र पनि त होइन यो त उनीहरुको लागि पनि हो र समस्त मानव जातिको निम्ति हो नि । त्यसैले सबै सचेत भए यो सिङ्गो मानव जातिको लागि उच्च र वैज्ञानिक समाज र सभ्याताका लागि चालिएको अभियान हो । सबै आउनु पर्छ ।
तपाईंले भने जस्तो व्यवस्था र अवस्थाका लागि जनताले कहिलेसम्म पर्खनु पर्ने हो ? के यो सम्भव छ ?
जनताले लौ भन्यो भने धेरै समय कुर्नु पर्ने छैन । नेपालमा सबै विकल्पहरु जनताले देखी, भोगी सके । राणा, पञ्चायत, संवैधानिक राजतन्त्र (राजा र संसदीय व्यवस्था), संघीय लोकतान्त्रिक व्यवस्था सबै हेरियो । यसले आजको युवा र आजको २१औं शताव्दीका जनता (नागरिक)को इच्छा, चाहाना र आवश्यकता पूरा गर्न सकेन । अब यो भन्दा विकसित, एडभान्सद व्यवस्था र शासन चाहिएको छ । त्यो समाजवाद हो । जनताको समाजवादी व्यवस्था । हामीले नेपाली विशेषताको समाजवाद भनेका छौं ं । यो भनेको जनताको समाजवादी व्यवस्था (एभयउभिक क्यअष्बष्किm) हो । यसमा नेपाली जनताको चाहाना भावना अन्तरनिहित हुन्छन् । यो जनताको चेतना र जागरुतामा भर पर्दछ । जनताले चाहे भोली बिहानै यो संभव छ । जनता उठेन भने समय लाग्छ । दलालहरुको राज कायमै रहन्छ ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ?
राजावादी र पश्चागामी षड्यन्त्र भइरहेको छ । राजा र राजतन्त्रको भ्रम फैलिएको छ । यो भ्रममा नपर्न अनुरोध गर्दछु । गणतन्त्र अपूर्ण छ । यो दलाल पुँजीवादी संसदीय व्यवस्था असफल व्यवस्था हो । यसको विकल्प राजतन्त्र होइन । अहिलेका नेताहरु पनि निकै पटक टेस्टेड भएका र सफल हुन नसकेका नेता हुन् । यिनीहरुबाट पनि मुलुकको विकासको संभावना छैन । यसको पनि विकल्प राजा होइन । अबको एक पटक हेर्नु पर्ने संभाव्य नेता विप्लव हो । व्यवस्थाको विकल्प नेपाली विशेषताको समाजवाद हो । अहिलेसम्म सबैलाई हेरियो भोगियो, अब एक पटक नयाँ व्यवस्था ‘जनताको समाजवाद’ र नयाँ युवा नेतृत्व विप्लवलाई हेरौं न । योे आजको एउटा संभावित विकल्प हो । त्यसपछि के गर्ने सोचौंला नि ?
अन्तमा समसामयिक विषयमा मेरो धारणा र पार्टी विचारहरु जनसमक्ष राख्न दिएकोमा क्षेप्यास्त्र साप्ताहिक परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।-क्षेप्यास्त्र साप्ताहिकवाट