‘निर्वाचनमार्फत् जनताले सहि फैसला नगरे देशको स्वाधीनता गुम्ने खतरा’

२०८२ फाल्गुन ७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले आसन्न प्रतिनिधि सभाको निर्वाचनमार्फत् जनताले सहि फैसला नगरे देशको स्वाधीनता गुम्ने खतरा रहेको खुलासा गरेका छन्। चुनाब प्रचारमा कालिकोटको बिभिन्न स्थानको भ्रमणमा रहेका प्रवक्ता प्रकाण्ड सीले विहिवार शान्नित्रिवेणी गाउँपालिकाको मेहेलमुडीमा आयोजित चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै सो खुलासा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले यो चुनावमा जनताको खास्सै उत्साह नभएको र चुनावलाई अमेरिकी चुनाव बनाउने षड्यन्त्र भईरहेकोले जनताले सहि फैसला नगरे देशको स्वाधीनता गुम्ने खतरा रहेको बताए । उनले कालिकोटको जनता कसैको डर, त्रास,प्रलोभन र भुलभुलैयामा पर्ने जनता नभएको तथ्य प्रस्तुत गर्दै जनतालाई रक्सी मासु दिएर भोट किन्ने र दवाव दिएर भोट माग्ने ठाउँबाट कालिकोटको जनता मुक्त हुनुपर्ने बताए ।
प्रवक्ता प्रकाण्ड सीले कालिकोटको चुनावलाई देशभरका जनताले चासोका साथ हेरेको र यहाँका जनता सामान्य नभएको बताउदै भने-
‘१० बर्षको जनयुद्धमा ठुलो योगदान गर्ने जनता कालिकोटको हो, यहाँका करिव ५ सय जनताका छोरा छोरीहरुले रगत बगाएका छन, प्रतिशतको हिसावले सबै भन्दा बढीले रगत बगाएका छन, हामी सामान्य हौ नसोच्नु होला, डर, त्रास, प्रलोभन र भुलभुलैयामा पर्ने यहाँको जनता होईन, यो संघर्ष गर्ने जनता हो, सहि फैसला गर्नेछ ।’
उक्त कार्यक्रममा नेकपा (माओवादी)की नेतृ तथा समानुपातिक उम्मेदवार भृकुटी सीले देशलाई भ्रष्टाचारबाट मुक्त गर्न र कालिकोटलाई भ्रष्टाचारबाट मुक्त गर्न चुनावमा आएको बताइन । उनले विगतमा संविधान बनाउन जनताले पठाएपनि जनताको संविधानका लागि धेरै लडेको तर दलाल र विदेशीहरुले बनाउन नदिएको प्रष्ट्याइन ।
नेतृ भृकुटी सीले अहिले सम्म जनताको संविधान नबनेको तथ्य प्रसुत गर्दै जनताको संविधान र जनताको व्यवस्था नहुदा जेनजी आन्दोलन भएको र पार्टीले जनताको संविधान र व्यवस्था बनाउन क्रान्तिकै एउटा मोर्चाको रुपमा चुनावलाई लिएको बताइन । उनले महिला र दलितहरुको अधिकार प्राप्त नभएको भन्दै सवै जनताले एकपटक गुलाफ चिन्हमा मतदान गर्न र महिला, दलित तथा उत्पीडित जनताको अधिकारका लागि आफुहरुलाई जिताउन अपिल समेत गरिन ।
उक्त कार्यक्रममा नेकपा माओवादीका जिल्ला इन्चार्ज विवेक सी, देशभक्त समाज पार्टीका प्रेम तिरुवा लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]