पुराना दलालहरू भन्दा नवदलालहरू हजारौं गुणा खतरनाक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले पुराना दलालहरू भन्दा नवदलालहरू हजारौं गुणा खतरनाक भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)गण्डकी प्रदेशको आठौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले बालेन सरकार बन्नु भन्दा पहिला नेपाली जनतामा पुराना संसदवादी दलहरूप्रति अन्धो भ्रम थियोे । उनीहरूमा आगामी ५ वर्षसम्म संघर्ष र आन्दोलनको सम्भावना छैन भने सोच थियोे । तर बालेन सरकार गठन र उसले ल्याएको आर्थिक नीतिदेखि रास्वपाको राष्ट्रिय महाधिवेशनसम्म आउँदा आम मानिसहरूमा त्यो धारणाबाट ४० देखि ५० प्रतिशत भ्रम नाङ्गेझार भएर आएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय राजनीतिमा आएको समस्यालाई कसरी हल गर्ने भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाहेक अरु राजनीतिक दलहरूले नसोचेको र उनीहरूको बसमा नभएको तथ्य प्रस्तुत गर्दै भने– ‘हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी हो । जो राष्ट्र र जनताको बारेमा निराश हुन सक्दैन । विद्यमान राजनीतिक परिस्थितिको सही विश्लेषण गर्दै सबैलाई राम्रोसँग सम्झाएर अगाडि जाने पार्टी हाम्रो मात्रै हो ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय राजनीतिमा निराशावाद हावी भएको र त्यसलाई नंयाँ कम्युनिष्ट केन्द्र निर्माण गरेर सही तरिकाले निकास दिनुपर्ने बताउदै यसैको लागि पार्टीले संगठन अधिवेशन गर्न लागेको बताए । उनले कम्युनिष्ट भित्र संकीर्णता र जडता भएकोले यसको निराकरण गर्दै साम्राज्यवादीसँगको लडाईको मोर्चा शक्तिशाली बनाउनु पर्ने बताए । उनले भने– ‘अहिले नेपालको सरकार बालेनले चलाएको छैन, अमेरिकाले चलाएको छ । यो विषय अहिले आमजनता सामु छर्लंग भएको छ । त्यसैले अब आमक्रान्तिकारी कम्युनिष्ट, प्रगतिशील, सच्चा लोकतन्त्रवादी र देशभक्तहरू एकजुट भएर अगाडि बढ्नु पर्छ ।’

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले बालेन सरकारले सुकुम्बासी बस्ती माथी डोजर चलाएपछि किसान, मजदुर, मध्यम वर्ग र राष्ट्रवादी शक्तिहरूमा यो सरकार गरिव जनताको सरकार होइन भन्ने विषय प्रष्ट भएको बताए । उनले अध्यादेशबाट कानून ल्याउने, संविधानमा भएको जनपक्षीय बुँदाहरू हटाएर संविधान संशोधन गर्न खोजेर सरकार फासिवाद ल्याउन उद्दत भएको बताए । उनले भने– ‘सीमाको विषयमा प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिबाट नेपाली जनतालाई यो साम्राज्यवादी नवदलाल हो भने कुरा प्रष्ट भएको छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले महान सहिदहरूले देखेको सपना पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । उनले २०६१ असार १६ गते कास्कीका विभिन्न ठाउँबाट गिरफ्तार गरी विभत्स तरिकाले हत्या गरिएका महान शहिदहरू विजय बास्तोला (अजित), कोपिला रानाभाट (सुमन), देबेन्द्र पोखरेल (संकल्प), उषा लामिछाने (प्रज्ञा), र कुमार विष्ट (तुफान) को २२ औं स्मृति दिवसमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक परिवर्तन र आफ्नो वर्गको निम्ति आत्मसात गरेर त्यो महान अभियानमा सहादत प्राप्त गर्ने महान सहिदहरूले देखेको सपना पुरा गर्न पार्टी र आपूm प्रतिवद्ध भएको बताए ।
