समाजवादी राज्यसत्ताको निम्ति क्रान्तिकारी कम्युनिष्टहरुको एकता अपरिहार्य
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले समाजवादी राज्यसत्ताको निम्ति क्रान्तिकारी कम्युनिष्टहरुको एकता अपरिहार्य भएको ठोकुवा गरेका छन् । सिंगो कम्युनिष्ट एकता अर्थात नयाँ कम्युनिष्ट केन्द्र निर्माण सम्भव छ ? भन्ने प्रश्नको जवाफ दिँदै उनले सो ठोकुवा गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको भविष्य, नेपाल राष्ट्र र नेपाली जनताको समाजवादी क्रान्तिको सम्पन्नता र समाजवादी राज्यसत्ताको अभ्यासका निम्ति क्रान्तिकारी कम्युनिष्टहरुको एकता अपरिहार्य भएको बताउँदै कम्युनिष्ट आन्दोलनको यही ऐतिहासिक आवश्यकतालाई बोध गरेर पार्टीले केन्द्रीय समितिको सातौँ पूर्ण बैठकबाट नयाँ कम्युनिष्ट केन्द्र निर्माणको विचार अगाडि सारेको बताए । उनले भने– ‘कम्युनिष्ट केन्द्र निर्माण गर्नका निम्ति क्रान्तिकारी कम्युनिष्टहरुले विचारधारात्मक विकास र दायित्वबोधका दृष्टिले छलाङ मार्न जरुरी छ । हाम्रो पार्टी यस कार्यका निम्ति तयार भएर प्रक्रियाको पनि थालनी गरिसकेको छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले वर्तमान नेपालको वस्तुगत अवस्थालाई सुक्ष्मताका साथ विश्लेषण गर्ने हो भने जनक्रान्ति तत्कालिन आवश्यकताको विषय बन्न गएको बताउँदै भने– ‘राष्ट्रको पहिचान र सार्वभौमिकतामाथी अमेरिकी साम्राज्यवादी तरवार झुण्ड्याइएको छ । नेपाली श्रमिक जनताको आवाज र राजनीतिक अधिकार नवदलाल पूँजीवादी बालेन सरकारको निरंकुशताको शिकार बनेको छ । देश र जनताको अवस्था बदल्ने भनेर अगाडि सारिएको कथित सुशासनको नारा बालेन सरकारको चरम राज्य आतंकमा बदलिएको छ । अतयव देश र नेपाली जनताको जटिल समस्याको समाधान तत्कालीन राष्ट्रिय राजनीतिको आवश्यकता हो । यसको समाधान गर्ने साधन जनक्रान्ति हो । देशको सम्पूर्ण अवस्थाले जनक्रान्ति सम्भव मात्र होइन कि तत्कालीन आवश्यकता बन्न गएको छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले सरकार विरुद्ध तिब्रतामा विकास हुँदै गएको जनआक्रोश र वर्तमान राज्यको जनविरोधी हर्कत नै जनक्रान्तिका मुख्य आधार भएको ठोकुवा गर्दै भने– ‘जनक्रान्तिका बहुसंख्यक आधारहरु तिव्रतामा विकास हुँदै गइरहका छन् । पहिलो– अमेरिकी साम्राज्यवादको हस्तक्षेपले नेपाल राष्ट्रको स्वाधीनता गम्भिर खतरामा पर्नु, दोस्रो–जनआवाज र जनअधिकार नवदलाल बालेन सरकारको अधिनायकवादको निशाना बन्नु, तेस्रो– सरकारको सुशासन अराजकता एवम् राज्यआतंकमा परिणत हुनु, चौथों–जनअपेक्षा माथी बालेन सरकारको तुषारापातले जनआक्रोश वृद्धि हुँदै जानु, पाँचौ–समाज हत्या, हिंसा र आत्मदाहका घटनावाट आक्रान्त हुनु , छैटौँ–देश अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको खेलमैदान बन्नु, सातौँ–बेरोजगारी समस्याले युवाहरुको विदेश पलायन झन डरलाग्दो हुनु, आठौँ– नेपाली अर्थतन्त्र अमेरिकी निगम पूँजीवादीहरुको नियन्त्रणमा जानु, नवौँ– जनतालाई आतंकित पार्नेगरी महंगी वृद्धि हुनु, दशौँ– जनजिवीका चौपट हुनु लगायतका विषयहरु नेपाली क्रान्तिको अनिवार्यताका शक्तिशाली आधारहरु हुन्। संश्लेषित रुपमा राष्ट्रमाथी अमेरिकी साम्राज्यवादको हस्तक्षेप , नवदलाल बालेन सरकार विरुद्ध तिब्रतामा विकास हुँदै गएको जनआक्रोश र वर्तमान राज्यको जनविरोधी हर्कत नै जनक्रान्तिका मुख्य आधार हुन् ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्तिको बलमा बालेन शाह नेतृत्वको नवदलाल पूँजीवादी राज्यव्यवस्थाको अन्त्य गर्दै नेपाली श्रमजीवि जनताको समाजवादी राज्य व्यवस्था स्थापना गरी राष्ट्रिय मुक्ति र जनमुक्तिलाई सुनुश्चित गर्नु पार्टीको तात्कालिक रणनीतिक उद्देश्य रहेको बताए । उनले भने– ‘राष्ट्रको स्वाधीनता, जनअधिकारको रक्षा र जनजिवीकाको केन्द्रीय मुद्धामा मोर्चा निर्माण र सहकार्य कायम गरी राष्ट्रिय आन्दोलन सृष्टि गर्नु पार्टीको तत्कालीक कार्यनीति हो । यसका निम्ति पार्टीलाई तयार पार्नु पनि कार्यनीतिको अंग रहेको छ ।’
-क्षेप्यास्त्र साप्ताहिक
