५० रुपैयाँको नयाँ नोट बजारमा

२०८३ आश्विन २ गते, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले असोज २ गतेदेखि साविककै आकार तथा रङमा नयाँ नोट बजारमा पठाइएको जनाएको हो।
नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र राखिएको छ भने दायाँतर्फ लालीगुराँसको पानीछाप र त्यसको मुनि ‘५०’ अङ्कको पानीछाप समावेश गरिएको छ।
नोटको मध्य भागमा अंग्रेजी अक्षरमा लेखिएको ‘नेपाल राष्ट्र बैंक’ र नेपाल सरकारको जमानत प्राप्त भएको विवरण राखिएको छ। नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८३’ उल्लेख छ। नयाँ ५० रुपैयाँको नोटमा करिब १.२ मिलिमिटर चौडाइको रङ परिवर्तन हुने सुरक्षा धागो प्रयोग गरिएको छ। नोटलाई सीधा हेर्दा सुरक्षा धागो रातो देखिने र ढल्काएर हेर्दा हरियो देखिने राष्ट्र बैंकले जनाएको छ। सुरक्षा धागोमा ‘NRB’ अक्षरसमेत उल्लेख गरिएको छ। नोटको पछिल्लो भागको मध्य भागमा हिउँचितुवाको चित्र राखिएको छ। त्यसको माथिल्लो भागमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ। तल्लो भागमा ‘RUPEES FIFTY’ र सिरिज वर्ष ‘2025 A.D.’ उल्लेख गरिएको छ।
राष्ट्र बैंकले ‘रे’ सङ्केत नम्बर ०००००१ देखि ‘प’ सङ्केत नम्बर ९९९९९९ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याएको हो। यसअघि तत्कालीन गभर्नरको हस्ताक्षर रहेका ५० रुपैयाँका नोट चलनचल्तीमा ल्याइएको थियो। नयाँ नोट बजारमा आए पनि यसअघि जारी भएका ५० रुपैयाँका नोटहरू यथावत् रूपमा कारोबारमा प्रयोग गर्न सकिनेछन्।

प्रतिक्रियाहरु

[anycomment]