राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी
काठमाडौँ । राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति प्रवेश यादव नेतृत्वको समूहले बुधबार उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको हो । धनुषाको जनकपुरधामस्थित सो विश्वविद्यालयले छात्रवृत्तिसम्बन्धी गरेको पछिल्लो निर्णय रद्द गरी छात्रवृत्तिका लागि योग्य विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । विद्यार्थीको हितविपरीत हुने गरी गरिएको निर्णय सच्याउनुपर्ने भन्दै उनीहरूले विश्वविद्यालय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
आफ्ना माग सम्बोधन नभएसम्म तालाबन्दी कायमै राख्ने चेतावनी स्ववियु पक्षले दिएको छ । छात्रवृत्तिसम्बन्धी निर्णयलाई लिएर विश्वविद्यालय प्रशासन र विद्यार्थीबीच विवाद बढेपछि उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको हो।
