‘बालेन्द्र शाह सरकारको चिन्तन नवदलाल पूँजीवादी छ, जुन अमेरिकी साम्राज्यवादी विचारद्वारा निर्देशित छ’
– सरकारको कार्यशैलीका बिषयमा तपाई र तपाईको पार्टीको धारणा कस्तो छ ?
कार्यशैली, राजनीतिक प्रवृत्ति एवम् उद्देश्यद्धारा निर्देशित हुन्छ । राजनीतिक प्रवृत्ति र उद्देश्य विचारधाराद्वारा निर्देशित हुन्छ । जहाँसम्म बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीको सवाल छ, त्यो सरकारको विचार ,राजनीतिक प्रवृत्ति र चरित्र जस्तै कार्यशैली छ । बालेन्द्र शाह सरकारको चिन्तन नवदलाल पूँजीवादी छ, जुन अमेरिकी साम्राज्यवादी विचारद्वारा निर्देशित छ । यसको राजनीतिक प्रवृत्ति राष्ट्रघाती र जनघाती छ भने राजनीतिक चरित्र निरंकुश र फाँसीवादी छ । सरकारको कार्यशैली आतंककारी छ । सरकार गठन भएको दुई महिना पुग्दा नपुग्दै देशका लाखौँलाख विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी र मजदुरमाथी लगाएको राजनीतिक प्रतिबन्ध, सेनाको बन्दुकको नोक सुकुम्बासीहरुको छातीमा राखेर सुकुम्बासी बस्तीमा चलाएको डोजर अप्रेशन ,संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रघाती अभिव्यक्ति, सरकारले लगाएको अमानवीय एवम् गैरजिम्मेवार कर आतंक, राजश्व छली, तराई मधेशमा सिर्जना गरेको साम्प्रदायिक दंगा एवम् हत्या , साम्राज्यवादी एजेण्टहरुको राजनीतिक नियुक्ती ,कर्मचारी ,सुरक्षा निकाय, उद्योगी,व्यापारी व्यवसायीमा सिर्जना गरेको बालेन राज्यआतंक, बिगतलाई माथ गर्नेगरी चरम महंगी बृद्धि र अन्तरजातिय विवाह गरेका कारण सिन्धुलीका श्रीकृष्ण विश्वकर्माको गिरफ्तार पछि प्रहरी हिरासतमा गरिएको हत्या लगायतका बालेन सरकारका हर्कतहरुले उपरोक्त कुरा को अकाट्य रुपमा पुष्टि हुन्छ ।
– यतिबेला सरकारको कार्यशैलीका कारण राष्ट्रिय र जनजीविका माथि संकट थपिएको देखिन्छ । यस बिषयमा के भन्नु हुन्छ ?
मुख्य कुरा भनेको बालेन्द्र शाह सरकारको चिन्तनको हो । सरकारको चिन्तन राष्ट्र ,नेपाली श्रमजिवी जनता र जनजिवीका विरोधी छ। कार्यशैली त चिन्तनको उपज मात्र हो । यसर्थ अमेरिकी साम्रज्यवादी रणनीति ,राजनीतिक शक्ति र योजनामा नवदलाल पूँजीवादी शासकद्धारा राष्ट्रको स्वाधीनता ,जनअधिकार र जनजिवीकाको सवालमा विगतलाई माथ गर्नेगरी संकटको पराकाष्ठा निम्त्याउने घटनाको सुरुवात त गत भदौ २३ र २४ गतेबाट भयो । सुशिला कार्की नेतृत्वको कठपुतली अन्तरिम सरकारको गठन, फागुन २१ गतेको फिक्सिङ निर्वाचन र बालेन्द्र शाह नेतृत्वको सरकार गठन त अमेरिकी साम्रज्यवादलको हाम्रो देश र नेपाली जनतालाई आफ्नो नियन्त्रणमा लिने हतियार र राजनीतिक वैधानिकता दिलाउने प्रकृयाहरु मात्र हुन् । बालेन शाह नेतृत्वको सरकार गठन भएको सयदिन पुग्दा नपुग्दैको हर्कत र राष्ट्र एवम् नेपाली जनताको जीवनमा घटाइएका कहालीलाग्दा घटनाहरुले देशको अस्तित्व र नेपाली जनताको स्वनिर्णयको अधिकार हजारौँ गुणा खतरामा पर्दै गएको छ।
– प्रसंग बदलौँ , तपाईहरु सिंगो कम्युनिस्ट एकताको कुरा गर्नु हुन्छ फेरि आफ्नै पार्टीका सदस्यहरुको पलायनलाई रोक्न सक्नु भएको छैन। यस बिषयमा के भन्नु हुन्छ ?
गत भदौ २३ र २४ पुर्वको राज्य व्यवस्था र त्यसका शासक पुराना दलाल पूँजीवादीहरुले देश र जनताका विरुद्ध गरेका डरलाग्दा गल्ती एवम् अपराधहरुले आजित भएको नेपाली जनताको आक्रोश र विद्रोही मनोभावनाको पुराकापुर दुरुपयोग गरी अमेरिकी साम्राज्यवाद र नेपालका नवदलाल पूँजीवादी तत्वहरुको पञ्जामा नेपाली राजनीति परेपछि देश असाधारण परिस्थितिबाट गुज्रिरहेको छ। अहिले नेपालको सार्वभौमसत्ता र जनताको नेपाली राजनीतिमाथी अमेरिकी साम्राज्यवाद र नवदलाल पूँजीवादीहरु हाबी छन् । राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको राजनीतिक अधिकार खतरायुक्त र रक्षात्मक अवस्थामा पुगेको छ। यस्तो विषम परिस्थितिमा राष्ट्र र जनअधिकारको रक्षाको मुद्धा सर्वाधिक अहम् र राष्ट्रिय राजनीतिक को प्रमुख मुद्धा बन्न पुगेको छ। एकीकृत जनक्रान्तिको सञ्चालन गरिराखेको क्रान्तिकारी कम्युनिष्ट पार्टी हुनुले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले देशको वस्तुगत आवश्यकता , नेपाली जनताको चाहना र क्रान्तिकारी कम्युनिष्टहरुको दायित्वलाई गम्भीरताका साथ दृष्टिगत गरी क्रान्तिकारी एवम् इमान्दार कम्युनिष्टहरुको एकीकरण ,वामपन्थीहरुसँगको मोर्चावन्दी र प्रगतिशील लोकतन्त्रवादी एवम् देशभक्तहरुसँग सहकार्यको विचार अगाडी सारेको हो । क्रान्तिकारी कम्युनिस्टहरुको एकीकरण ,मोर्चावन्दी र सहकार्य सम्बन्धी हाम्रो पार्टीको विचार नेपाली जनताको राष्ट्रिय एकता निर्माण गर्ने उद्देश्यसँग अन्तरसम्बन्धित रहेको छ ।
जहाँसम्म पलायनवादीहरुको कुरा छ । भदौ २३ र २४ पछि डोनाल्ड ट्रम्प प्रशासनले नेपाल राष्ट्र र नेपाली राजनीतिमाथि साम्राज्यवादी आतंककारी हमला र नियन्त्रण सुरु गरेपछि सातोपुत्लो उडेका, जनक्रान्ति असम्भव देखेका, आफ्नो विचार ,राजनीतिक ,पार्टी र मूल्य मान्यतामा अडिग रहन नसकेका ,अबको राष्ट्रिय मुक्ति तथा जनमुक्ति आन्दोलनको मोर्चाको भिषणताबाट अत्तालिएको प्रवृत्ति र पात्रहरुको पथभ्रष्टिकरण को कुरामात्र हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेतृत्वले आफ्नो सुद्धिकरण र रुपान्तरणको साम्यवादी प्रकृयामा खराबी, बिचलनता र पलायनवादीहरुको डटेर सामना गरीरहनुपर्दछ किन कि बिचलनतावादीहरुले आफ्नो समस्यालाई पार्टी विचार ,कार्यदिशा र नेतृत्वको समस्याका रुपमा तुच्छतापूर्ण आरोपित गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी र जनक्रान्तिबाट भाग्ने राजमार्ग बनाउने मुर्खता गरिरहेका छन् र गरि रहने छन् ।
– तपाईहरुले भने जस्तो सिंगो कम्युनिस्ट एकता अर्थात नयाँ कम्युनिस्ट केन्द्र निर्माण सम्भव छ र ?
नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको भविष्य , नेपाल राष्ट्र र नेपाली जनताको समाजवादी क्रान्ति को सम्पन्नता र समाजवादी राज्यसत्ताको अभ्यासका निम्ति क्रान्तिकारी कम्युनिष्टहरुको एकता अपरिहार्य छ । कम्युनिष्ट आन्दोलनको यहि ऐतिहासिक आवश्यकतालाई बोध गरेर हाम्रो पार्टीले केन्द्रीय समितिको सातौँ पूर्ण बैठकबाट “नयाँ कम्युनिष्ट केन्द्र” (New Communist Centre ) निर्माणको विचार अगाडी सारेको हो । नयाँ कम्युनिष्ट केन्द्र निर्माण गर्नका निम्ति क्रान्तिकारी कम्युनिष्टहरुले विचारधारात्मक विकास र दायित्वबोधका दृष्टिले छलाङ मार्न जरुरी छ । हाम्रो पार्टी यस कार्यका निम्ति तयार भएर प्रक्रियाको पनि थालनी गरिसकेको छ ।
– नेपालमा अझै क्रान्तिको सम्भावना देख्नु हुन्छ ?
वर्तमान नेपालको वस्तुगत अवस्थालाई सुक्ष्मताकासाथ विश्लेषण गर्नुभयो भने जनक्रान्ति तत्कालिन आवश्यकताको विषय बन्न गएको छ । राष्ट्रको पहिचान र सार्वभौमिकतामाथी अमेरिकी साम्राज्यवादी तरवार झुण्डिएको छ । नेपाली श्रमिक जनताको आवाज र राजनीतिक अधिकार नवदलाल पूँजीवादी बालेन सरकारको निरंकुशताको सिकार बनेको छ । देश र जनतको अवस्था बदल्ने भनेर अगाडी सारिएको कथित सुशासनको नारा बालेन सरकारको चरम राज्य आतंकमा बदलिएको छ । अतयव देश र नेपाली जनताका जटिल समस्याहरूको यथाशीघ्र समाधान राष्ट्रिय राजनीतिको तत्कालीन आवश्यकता हो । यसको समाधान गर्ने शक्तिशालि हतियार नै जनक्रान्ति हो । देशको सम्पूर्ण अवस्थाले जनक्रान्ति सम्भव मात्र होइन कि तत्कालिन आवश्यकता बन्न गएको छ ।
– उसो भए नेपालमा क्रान्ति हुने आधारहरु के के छन्। जनतालाई कसरी आश्वस्त पार्नु हुन्छ ?
जनक्रान्तिका बहुसंख्यक आधारहरु तिब्रतामा विकास हुँदै गइरहेका छन् । पहिलो –अमेरिकी साम्राज्यवादको हस्तक्षेपले नेपाल राष्ट्रको स्वाधीनता गम्भिर खतरामा पर्नु ,दोस्रो –जनआवाज र जनअधिकार नवदलाल बालेन सरकारको अधिनायकवादको निशाना बन्नु, तेस्रो –सरकारको सुशासन को नारा अराजकता एवम् राज्यआतंकमा परिणत हुनु, चौथो –जनअपेक्षा माथी बालेन सरकारको तुषारापातले जनआक्रोश उलेख्य रुपमा वृद्धि हुँदै जानु , पाँचौ– नेपाली समाज हत्या,हिंसा र आत्मदाहका घटनाहरुले आक्रान्त बन्नु , छैटौँ –देश अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको खेलमैदान बन्नु, सातौँ– बेरोजगारी समस्याले युवाहरुको विदेश पलायन झन डरलाग्दो हुनु ,आठौँ– नेपाली अर्थतन्त्र अमेरिकी निगम पूँजीवादीहरुको नियन्त्रणमा जानु ,नवौँ –जनतालाई आतंकित पार्नेगरी महंगी वृद्धि हुनु र दशौँ –जनजिवीका चौपट हुनु लगायतका सवालहरु नेपाली क्रान्तिको अनिवार्यताका शक्तिशाली आधारहरु हुन् । संश्लेषित रुपमा राष्ट्रमाथी अमेरिकी साम्राज्यवादको हस्तक्षेप, नवदलाल बालेन सरकार विरुद्ध तिव्रतामा विकास हुँदै गइरहेको जनआक्रोश र वर्तमान राज्यको जनविरोधी हर्कत नै जनक्रान्तिका मुख्य आधार हुन् ।
– आगामी दिनमा पार्टीले अङ्गीकार गर्ने रणनीति र कार्यनीति कस्तो हुने छ ?
एकीकृत जनक्रान्तिको बलमा बालेन शाह नेतृत्वको नवदलाल पूँजीवादी राज्यव्यवस्थाको अन्त गर्दै नेपाली श्रमजीवि जनताको समाजवादी
राज्य
व्यवस्था स्थापना गरी राष्ट्रिय मुक्ति र जनमुक्तिलाई सुनुश्चित गर्नु पार्टीको तत्कालीन रणनीतिक उद्देश्य हो । राष्ट्रको स्वाधीनता ,जनअधिकारको रक्षा र जनजिवीकाको केन्द्रीय मुद्धामा मोर्चा निर्माण र सहकार्य कायम गरी राष्ट्रिय आन्दोलन सृष्टि गर्नु पार्टीको तत्कालिन कार्यनीति हो । यसका निम्ति पार्टीलाई तयार पार्नु पनि कार्यनीतिको अंग रहेको छ ।
– अन्त्यमा थप केहि भन्न चाहनु हुन्छ ?
देशको विकराल र संवेदनशील अवस्थामा पार्टीको विचार, नीति र कार्यक्रमबारे आम जनतामा प्रकट पार्ने अवसर प्रदान गरेकोमा क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिकलाई आभारसहित धन्यवाद व्यक्त गर्दै पत्रिकाको गुणात्मक प्रगतिको हार्दिक शुभकामना । -क्षेप्यास्त्र साप्ताहिकवाट

