सरकारको असक्षमता र बचकानापनका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देश र जनताको मान मर्दन !

२०८३ भाद्र २ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले सरकारको असक्षमता र बचकानापनका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देश र जनताको मान मर्दन भएको ठोकुवा गरेका छन् । वर्तमान राजनीतिक स्थिति र सरकारको कार्यशैलीलाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै उनले सो ठोकुवा गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले २१ औँ शताब्दीको तेस्रो दशकमा सचेत र विज्ञान र प्रविधिले निर्देशित नेपाली युवा पुस्ताको साथै बालेन सरकारको असक्षमता र बचकानापनका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देश र जनताको मानमर्दन भएको बताए। उनले नव दलाल शासकहरुको कथित सुशासन लाश, बिरामी र बिद्यार्थी माथि कर लागाउने हर्कतमा पुगेर सर्वाङ्ग भएको बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले बिगतको राज्य र त्यसका शासकहरुका कारण बरवादीको ढिकमा पुगेको देशको अवस्थालाई अमेरिकी साम्राज्यवादी रणनीति र बिगत सात, आठ वर्षको तयारी पश्चात दुरुपयोग गरी गत वर्षको भदौ २३ र २४ गतेबाट अगाडि सारिएको अन्तरिम सरकार, गत फागुन २१ गते भएको चुनाव र तत् पश्चात गठन भएको बालेन नेतृत्वको सरकार गठनसम्म आउदा सुशासन र सम्वृद्धिको नारा दिइएको नव दलाल पूँजीवादी बिकल्प आश्चर्यजनक ढंगले नाकाम सावित भएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले जेन–जी आन्दोलनलाई भजाएर बनेको बालेन सरकार एक करोड (नब्बे लाख माथि) युवा विद्यार्थीको राजनीतिक अधिकारमाथि प्रतिबन्ध लगाउने निरङ्कुशतावादी र सुकुम्बासी बस्तीमा नेपाली सेनालाई AK47 ताक्न लगाएर डोजर चलाउने फाँसीवादी गिरोहमा परिणत भएको बताए । उनले गृहमन्त्री सुधन गुरुङले दक्षिणी सिमानामा गरेको अनाडी र लहडवाजी हर्कतले तराइ मधेशमा साम्प्रदायिक दंगा भड्किएको र ४ जना युवाले अकालमा मृत्यूबरण गर्नु परेको बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नव दलाल पूँजीवादी शासनका कारण इतिहासमै राष्ट्रको स्वाधिनता, जनाधिकार र जनजीविका माथि गम्भीर खतरा परेको ठोकुवा गरे। उनले यस्तो अवस्थामा कम्युनिष्ट क्रान्तिकारी, सच्चा लोकतन्त्रवादी र राष्ट्रवादीहरुले वर्तमान देश र नेपाली जनताको जिम्मा लिनु पर्ने ऐतिहासिक आवश्यकता र महान् जिम्मेवारी काँधमा आएको समेत बताए ।

प्रतिक्रियाहरु

[anycomment]