‘नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन २६ गतेदेखि

२०८३ असार २३ गते, मंगलवार

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याचरर्स एशोसियसन (नाइमा)ले नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६ अगस्ट २०२६ (साउन २६ देखि ३१ गते) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जनाएको छ ।
नाइमाले सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको हो । सञ्चारकर्मी, प्रायोजक तथा साझेदार संस्था, प्रदर्शक, नाइमा बोर्ड सदस्य, सदस्य कम्पनी तथा अटोमोबाइल र मोबिलिटी क्षेत्रका विभिन्न सरोकारवालाको उपस्थितिमा उक्त एक्स्पोका प्रमुख कार्यक्रम र विशेषताबारे जानकारी दिइएको हो ।
नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीका रूपमा रहने यस एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नयाँ उत्पादन र मोडल सार्वजनिक गरिनेछन् । प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारीसाधन, विद्युतीय तथा हाइब्रिड मोबिलिटी समाधान, प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादनहरू समावेश हुनेछन् ।
पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमा एक वर्षअघि २१ सदस्य कम्पनीबाट स्थापना भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीसम्म विस्तार भएको जानकारी दिइन् । उनले नाइमाको दृष्टिकोण “गतिशीलतामार्फत समृद्धि” र अभियान “सबैका लागि गतिशीलता” एक्स्पोमा मात्र सीमित नभई पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक वृद्धिसँग जोडिएको बताइन् ।
अध्यक्ष वैद्यले नाइमाले गत वर्ष मोबिलिटी क्षेत्रको सुधारका लागि निरन्तर पैरवी गर्नुका साथै पहिलो संस्करणको एक्स्पो सफलतापूर्वक सम्पन्न गरेको, काठमाडौं उपत्यकाका १,६१० ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धि तालिम, क्षति पुगेका कार्यालयको पुनःनिर्माणमा सहयोग तथा ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका लागि निरन्तर सहकार्य गरिरहेको जानकारी दिइन् । साथै, एक्स्पोबाट प्राप्त टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप र तालिमका लागि विनियोजन गरिने र सो फेलोसिपअन्तर्गत तयार हुने सामग्री ‘नाइमा मोबिलिटी जर्नल’मा प्रकाशन गरिने उनले बताइन् ।
नाइमाले आगामी दिनमा ‘नाइमा मोबिलिटी कन्क्लेभ’ आयोजना गर्ने तथा शिक्षा मन्त्रालयसँग सहकार्य गरी सीप विकास र रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ । साथै, स्थान अभावका कारण केही इच्छुक सदस्यलाई स्टल उपलब्ध गराउन नसकिएको भन्दै अध्यक्ष वैद्यले नेपालमा ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधारको आवश्यकता औँल्याए ।
नाइमा बोर्ड सदस्य सन्दीप शारडाले निजी क्षेत्र अर्थतन्त्रको आधार भएको बताउँदै यस्ता प्रदर्शनीले लगानी र रोजगारीमा सकारात्मक योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।
त्यस्तै नाइमा अटो शो संचालन समितिका संयोजक गौरव शारडाले गत वर्षको अनुभवलाई परिस्कृत गर्दै एक्स्पोलाई थप व्यवस्थित, समावेशी तथा आगन्तुकमैत्री बनाइने बताए । उनले मनसुनलाई ध्यानमा राख्दै विशेष व्यवस्थापन गरिने, अपाङ्गतामैत्री बनाइने र नेपाल पुलिस क्लबमा पार्किङ सुविधा हुने जानकारी दिए । साथै, पठाओले राइड साझेदारका रूपमा छुट र युनियन पेले क्यूआरमार्फत टिकट खरिदमा क्यासब्याक सुविधा दिने जानकारी दिए ।
एक्स्पोको अर्को आकर्षण नेपाल पुलिस क्लबको ब्लु पेभिलियनमा आयोजना हुने निःशुल्क सिकाइ सत्रहरू हुनेछन् । ग्लोबल आइएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सहकार्यप्रति खुसी व्यक्त गर्दै विशेष बैंकिङ र सवारीसाधन वित्तीय सुविधा उपलब्ध गराउने बताए ।
एक्स्पोमा विभिन्न बैंक, बीमा, ऊर्जा, स्वास्थ्य र सञ्चारलगायतका संस्थाहरूको सहकार्य रहेको छ । नाइमाले सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आम नागरिकलाई ११ देखि १६ अगस्टसम्म भृकुटीमण्डपमा उपस्थित भई एक्स्पोको हिस्सा बन्न आग्रह गरेको छ।
पत्रकार सम्मेलनको सहजीकरण नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए । उनले नाइमा एक्स्पोलाई प्रदर्शनीसँगै सिकाइ, ज्ञान आदानप्रदान र अनुभव साझेदारीको उत्कृष्ट मञ्च बनाउने लक्ष्य रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]