समाजवादलाई दुनियाँको कुनै पनि ताकतले रोक्न सक्दैन

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, मालेमावाद र एकीकृत क्रान्तिको बैचारिक राजनीतिक आलोकमा नेपाली क्रान्ति अगाडि बढिरहेको छ, यहाँहरुले समाजवादी व्यवस्था निर्माणका लागि आन्दोलनका सबै ढोका खोल्ने कुरा पनि गरिरहनु भएको छ, त्यो भनेको के हो ? अथवा क्रान्तिको वर्तमान चरणबारे संक्षिप्तमा बताई दिनुहोस् न ।
– नेपालको ७६ वर्षको कम्युनिस्ट आन्दोलनमा तत् समयमा आन्दोलनका आम र विशिष्ट प्रयोग र पहलहरु गरिए पनि क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको मूल लक्ष्य विद्यमान राज्य व्यवस्थाको आमुल परिवर्तन गरेर श्रमजीवी जनताको राज्य व्यवस्था स्थापना गर्नु हो । उक्त उद्देश्यले आजका मितिसम्म पूर्णता हासिल गरेको छैन । नेपाली क्रान्तिको यही महान उद्देश्य परिपुर्ति र क्रान्तिकारी कम्युनिस्टहरुको दायित्वलाई दृष्टिगत गर्दै, नेपाल कम्युनिस्ट पार्टी पुर्नगठन गरी नेपाली श्रमिक जनताको वैज्ञानिक समाजवादी राज्यसत्ता र शासन व्यवस्था स्थापना गर्ने लक्ष्य सहित एकीकृत जनक्रान्तिको राजनैतिक सैन्य कार्यदिशा अन्वेषण गरेर एकीकृत जनक्रान्ति सञ्चालन गरिएको छ । २१ औँ सताव्दीको दोश्रो– तेश्रो दशकमा चलाईने क्रान्ति वर्तमान विश्व परिवेश र नेपाली परिवेश मुताविक हुनुपर्दछ । किनकी समाज र समाज विज्ञान वा माक्र्सवाद गतिशील छ । नेपाली जनताको समाजवादी सत्ता स्थापना गर्न नेपालका कम्युनिस्ट क्रान्तिकारीहरु, प्रगतिशिल गणतन्त्रवादीहरु र देशभक्त नेपालीले विश्व साम्राज्यवाद, नेपाली दलाल पूँजीवाद र दलाल सामन्तवादका विरुद्ध नयाँ–नयाँ संघर्षका दर्जनौ मोर्चा खोल्न र त्यसको सञ्चालनमा दक्षता हासिल गर्ने पर्दछ । नेपाल कम्युनिस्ट पार्टीले अहिले सञ्चालन गरिराखेको जनसंघर्ष, राजनैतिक संघर्ष, उत्पादनको मोर्चामा संघर्ष र सी संस्कृतिको मुद्धामा चलाएको समाजवादी संस्कृतिको संघर्ष त्यसैका उपजहरु हुन । अहिलेको साम्राज्यवाद र दलाल पूँजीवादलाई विश्व श्रमिक वर्गका परमपरागत मोर्चा वा सीमित मोर्चाबाट मात्र लडेर अन्तिम रुपमा परास्त गर्न संभव छैन ।
दलाल पूँजीपति वर्ग, त्यसको दलाल संसदीय राज्य व्यवस्था र नेतृत्व नेपालमा चरम सङ्कटको सामना गरिरहेको छ र असफल पनि भइसकेको छ । २१ औँ शताव्दीको बहुधु्रवीय विश्वको विशेषता र त्यसले पैदा गरेको अन्तरविरोधको परिणाम साम्राज्यवादी विश्व र नेपालमा दलाल पूँजीवाद अभुतपूर्व मृत्युको संघारमा छ । परिणामतः विश्व परिस्थिति र राष्ट्रिय परिवेश राष्ट्रिय मुक्ति आन्दोलन र श्रमिक वर्गीय मुक्ति आन्दोलनको निम्ति सर्वाधिक अनुकुल छ । यो वस्तुगत आवश्यकताको मागलाई परिपूर्ति गर्ने गरी एकीकृत जनक्रान्तिको सुद्धढ, विस्तार र शक्ति निमार्णको जिवन्त, पेचिलो र संघर्षमय चरण नै एकीकृत जनक्रान्तिको वर्तमान चरण हो ।
अहिले नेपालमा समाजवादी कम्युनिस्ट आन्दोलनका विरुद्ध आन्तरिक भन्दा पनि बाह्य शक्तिहरु विशेषतः पश्चिमा शक्तिहरु निकै सक्रिय भएर लागेको भनिन्छ, नेपालको भू–राजनीतिक अवस्थितिले पनि बाह्य परिस्थितिको दबाब बढेको हुनसक्छ, यस्तो प्रतिकूल बेला पनि तपाईंहरु नेपालमा क्रान्ति गर्न सकिन्छ भनिरहनु भएको छ, समाजवादी आन्दोलनलाई प्रत्यक्ष सहयोग गर्ने अन्तर्राष्ट्रिय स्थिति पनि छैन, यसबारे के भन्नु हुन्छ ?
– साम्राज्यवादी शक्तिहरु जहिले पनि श्रमिक वर्गीय क्रान्ति र उत्पीडित राष्ट्रिय मुक्ति आन्दोलनका विरुद्धमा हुन्छन । भू–राजनीतिक अवस्था नेपालको विशिष्टता हो । २१ औँ सताव्दीमा बहुधु्रर्वीय विश्वको जन्म एक नयाँ विश्व विशेषता हो । बहुधु्रवीय विश्वले २० औँ सताव्दीको नब्बेको दशक पछि अमेरिकी शासकहरुले विश्वव्यापी हाँसिल गरेको साम्राज्यवादी प्रभुत्व सर्वाधिक संकटग्रस्त, अन्तरविरोधको भुँमरीमा जाकिएको र रक्षात्मक रणनीतिको शिकार भएको छ । यो आमरुपमा सबै साम्राज्यवादी शक्तिहरुको वर्तमान पतनोन्मुख अवस्था हो । यसर्थ जनक्रान्तिका निम्ति विश्व परिवेश अभुतपूर्ण अनुकुल छ ।
जहाँसम्म नेपाली एकीकृत जनक्रान्तिको कुरा छ । यो नेपाल कम्युनिस्ट पार्टीको विचार, कार्यक्रम, प्रभावकारी पहल कदमी र आमजनताको क्रान्तिप्रतिको लगाव मुख्य र निर्णायक तत्व हो । जुन एकपछि अर्को सुद्धढ, प्रभावकारी र जनप्रिय बन्दै गएको छ । अर्कोकुरा नेपालमा दलाल पूँजीपति वर्गको राज्यसत्ता झन् पछि झन् संकटग्रस्त बन्दै गएको छ । यसको राष्ट्रघाति र जनघाति चरित्र तथा हर्कतका कारण नेपाली श्रमिक जनता आजित भएका छन । राष्ट्र र नेपाली जनताको भविष्य अन्धकारमय बनाउने दलाल पूँजीपति वर्ग, यसको दलाल राज्यव्यवस्था र दलाल नेतृत्व हो भन्ने नेपाली श्रमजीवि जनताको निष्कर्ष छ । देश र नेपाली जनताले यो विकराल अवस्थाको अन्त्य चाहन्छन ।
अन्तमा साम्राज्यवाद विरुद्ध नयाँ धु्रवको विकासले पैदा गरेको अनुकुलता र संभावनाहरुको परिचालन, देश भित्र दलाल पूँजीवादी राज्य व्यवस्थाको जर्जर एवम् पतनउन्मुख अवस्था, नेपाली जनताले विद्यमान व्यवस्था तथा दलाल नेतृत्वको विकल्प खोजी राखेको वर्तमान वास्तविकता र नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति मार्फत नेपाली विशेषताको समाजवाद विकल्पको रुपमा प्रस्तुत गरिराखेको पक्षलाई दृष्टिगत गरी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्ति मार्फत नेपालमा समाजवाद संभव मात्र होईन कि अनिवार्य बनिसकेको छ र यसलाई दुनियाँको कुनै पनि ताकतले रोक्न सक्ने छैन ।
देशका मजदुर, किसान, महिला, जनजाति, दलित, मधेसी लगायत उत्पीडित जनताको पूर्ण अधिकार र उनीहरूको शासन व्यवस्था निर्माणका लागि पूँजीवादी संसदीय व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवाद अनिवार्य छ भन्ने यहाँहरुको निष्कर्ष देखिन्छ, त्यो कुरा आम मानिसहरूको अपेक्षाको विषय पनि हो तर त्यो प्रक्रिया कसरी पुरा हुन्छ ? के संसदीय व्यवस्था अन्तर्गतको चुनावीबाटो मार्फत त पक्कै पनि राज्यसत्ताको प्रश्न समाधान गर्न सकिन्न होला नि ?
– नेपालमा उत्पीडित वर्ग, समुदाय र क्षेत्रको चरित्र अन्र्तनिहित भएको राज्यसत्ता समाजवादी राज्यसत्ता हो । उत्पीडित वर्ग, समुदाय र क्षेत्रका जनताले शासन सञ्चालन गर्ने राज्य व्यवस्था भनेको नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था हो । यो सवाल आफ्नो सारतत्वमा राज्यसत्ता र शासन व्यवस्थाको सवाल हो । यसमा किञ्चित दुविधा हुनु हुँदैन । नेपाली उत्पीडित वर्ग, समुदाय र क्षेत्रका जनताको समाजवादी राज्यसत्ता र शासन व्यवस्था स्थापना गर्ने अस्त्र एकीकृत जनक्रान्ति तय गरेका छौ । नेपाली श्रमिक जनताको समाजवादी राज्यसत्ता र शासन व्यवस्था प्राप्तिको फैसला एकीकृत जनक्रान्तिको निर्णायक पहलले मात्र गर्ने हो, अन्यले होईन ।
दलाल पूँजीवादी राज्यसत्ताको ध्वंस र नेपाली श्रमिक जनताको समाजवादी राज्य व्यवस्था स्थापनाको लक्ष्य राखेको एकीकृत जनक्रान्तिले साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध हजारौँ नयाँ संघर्षका मोर्चाको विकास, सञ्चालन र नेतृत्व गर्नु पर्दछ । २० औँ सताव्दीमा जस्तो सिमित मोर्चाको नेतृत्व गरेर भूमन्डलिकृत साम्राज्यवाद र दलाल पूँजीवादलाई अन्तिमरुपमा परास्त गर्न संभव छैन ।

हजारौ संघर्षका मोर्चा मध्ये एउटा मोर्चाको रुपमा दलाल पूँजीवादी राज्य व्यवस्थाले ०८४ सालमा आफ्नो हरेक ५–५ वर्षमा आयोजना गर्ने पूँजीवादी चुनावको सामना गर्न पार्टीले चुनाव प्रयोगको नयाँ दृष्टिकोण र नीतिको विकाश गरेको हो । कम्युनिस्ट क्रान्तिकारीहरु कुन भ्रम र आतङ्कबाट मुक्त रहनु प¥यो भने संसदीय चुनावको सामना गर्ने संघर्षको मोर्चाले समाजवादी राज्यसत्ताको प्रश्नको फैसला गर्ने होईन कि फैसलाको निम्ति तयारीको प्रभावकारी साधनको काम गर्ने हो । यसलाई तयारीको काविल साधन बनाउनु पर्छ । अर्को के सच्चाई पनि मनन् गर्नुप¥यो भने जनक्रान्तिमा श्रमिक वर्गको तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध संघर्षको मोर्चा खोल्दैन कि साम्राज्यवाद र दलाल पूँजीवादले पनि श्रमिक जनताको क्रान्ति र क्रान्तिकारी पार्टीका विरुद्ध प्रतिक्रान्तिकारी मोर्चा खोल्छ । क्रान्तिकारीहरु यो मोर्चाको प्रतिवाद गर्न पनि त्यतिकै कुशल, सक्षम र तमतयार रहनु पर्दछ ।
यहाँले समाजवादी व्यवस्था प्राप्तिका लागि भन्दै कम्युनिस्ट एकताको चर्चा गरेको पनि वर्षौं भइसक्यो, त्यसमा कुनै उल्लेख्य परिणाम आएको देखिन्न भने अर्कोतिर समाजवादी मोर्चालाई संकट समाधानको वैकल्पिक मोर्चाको रूपमा प्रस्तुत गरेको देखिन्थ्यो, फेरि मोर्चामा त संसदीय व्यवस्था र विद्यमान संविधानको समर्थकदेखि त्यसको विपक्षमा रहेका तपार्इंहरु समेत हुनुहुन्छ । यो अवस्थालाई कसरी प्रष्ट्याउनु हुन्छ ?
– राष्ट्रिय मुक्ति र जनमुक्तिका खातिर एकीकृत जनक्रान्ति सञ्चालन गरिराखेको पार्टी र नेतृत्व हुनुले नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी एकीकरण गर्ने र माओवादी धारको क्रान्तिकारी एकीकरण गर्ने ऐतिहासिक एवम् अह्म जिम्मेवारी यसको काँधमा आएको छ । क्रान्तिकारी र इमान्दार कम्युनिस्टहरुको एकता एकीकृत जनक्रान्तिको वर्तमान आवश्यकता पनि बन्न पुगेको छ । उपरोक्त पक्षलाई विचार गरी हाम्रो पार्टी र नेतृत्वले एकताको नीति अगाडि सारेको हो । परिणामहरु मात्रात्मकरुपमा आइरहेका पनि छन् । मात्रात्मक परिणामले गुणात्मक परिणामका आधारहरु पनि तयार पारिराखेका छन् ।
मोर्चा भनेको साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्धको संघर्षमा जनक्रान्तिको मोर्चाको विस्तार हो । समाजवादी मोर्चा त्यसैको उपज हो, जसले दलाल संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गर्न, नेपाली विशेषताको समाजवादको राजनीतिक कार्यक्रमलाई आम नेपाली जनताको वीचमा पु¥याउन र राष्ट्रिय राजनीतिमा नेपाली विशेषताको समाजवादलाई विकल्पको रुपमा स्थापित गर्न महत्वपूर्ण काम गरेको छ । राष्ट्रिय रुपमा इमान्दार नेता, कार्यकर्ता र नेपाली जनतालाई उत्साहित, आशावादी र सचेत पनि बनाएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनक्रान्तिको विजयको आवश्यकतामा मोर्चावन्दीको नीति विकास गर्ने र मोर्चा निमार्ण गरी संघर्ष सञ्चालन गर्ने हो । मोर्चा र सहकार्यसम्बन्धी संघर्षका मोर्चा खोल्दा साम्राज्यवाद र दलाल पूँजीवादको कट्टर सत्तासिन गिरोहका विरुद्ध अन्तर विरोध राख्ने राजनीतिक पार्टी, संघ, संगठन र व्यक्तित्व सम्मतित खोलिने हो । त्यसमा संसद भित्र र बाहिरका कोही पनि पर्न सक्छन । त्यसमा कम्युनिस्ट क्रान्तिकारीहरु खुल्ला र लचक रहनु पर्दछ ।
हाल समाजवादी मोर्चाको नेतृत्व पनि तपाईंहरुको महासचिव विप्लवले गरिरहनु भएको छ, मोर्चा त्यति सफल र प्रभावकारी हुन सकेन भन्ने प्रतिक्रियाहरु पनि सार्वजनिक भएका छन्, अझ प्रचण्डहरुले त मोर्चालाई अन्य संसदवादी पार्टी र तिनका नेताहरुसँग बार्गेनिङ गर्ने माध्यम बनाए भन्ने छ नि ?
हो, पछिल्लो समयमा समाजवादी मोर्चा, नेपालको नेतृत्व हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सीले गरिरहनु भएको छ । समाजवादी मोर्चाको महत्व, औचित्व, प्रभावकारीता र परिणामलाई अघिल्लो प्रश्नमा व्याख्या गरिसकिएको छ । मोर्चामा संसदवादी प्रवृति र सोच पनि छ । जसले मोर्चाको क्रान्तिकारी एवम् प्रगतिशिल चरित्र र गतिशिलतामा ह्रास ल्याउने समस्या देखिए । कतिपय बेला त संसदीय अभिष्ट पुरा गर्ने साधन बनाउन खोज्ने समस्या पनि देखिए । त्यसको मोर्चाले सामना पनि गर्दै आयो ।
अब देशको वस्तुगत अवस्थामा थप परिवर्तन आएको छ । सामन्ती दलाल तत्वहरु गणतन्त्र, एकीकृत जनक्रान्ति र समाजवादी गणतन्त्रका विरुद्ध सडकमा अराजकता मच्चाउने र हिँसा भड्काउने हर्कत गरी रहेका छन् । विकसित वर्तमान अवस्थामा मोर्चालाई साम्राज्यवाद, दलाल पूँजीवाद र दलाल सामन्तवादी तत्वका विरुद्ध संघर्षको नयाँ मोर्चाको रुपमा विकाश गर्नुपर्ने वस्तुगत आवश्यकता पैदा भएको छ । यसलाई सम्वोधन गर्ने नयाँ पहल पार्टीले गरिरहेको छ ।
अब अलिक फरक विषय तर्फ प्रवेश गरौँ, अन्य उत्पीडित जनता जस्तै जनसंख्याको आधाबढी हिस्सामा रहेका महिलाहरु माथी हत्या, हिंसा, बलात्कार, सहकारीदेखि वित्तीय संस्थाहरुको आर्थिक शोषण र भौतिक तथा सामाजिक सुरक्षाको सवाल निकै गम्भीर भएर आएको छ र यो कुरा अन्ततः मानव अधिकारको सवाल पनि हो । यसबारे यहाँहरुको धारणा के छ ? गणतन्त्र आइसकेपछि पनि यसप्रकारको अवस्था आउनु गम्भीर कुरा होइन र ?
– मानव समाजको विकाश र कुनै पनि समाजको अस्तित्व एवम् विकाशमा महिला वर्गको विशिष्ट स्थान र भूमिका रहँदै आएको छ । मानव इतिहासको एउटा कालखण्डमा सामाजिक सत्ताको पुरै नेतृत्व गरेको महिला वर्ग वर्गीय समाजको सृजना सँगै सत्ता विहिन बन्न पुग्यो । तत्पश्चात वर्गीय र पुरुष प्रधान समाजको लैङ्गिक उत्पीडनको शिकार बन्न पुग्यो । यो क्रम नयाँ नयाँ स्वरुपमा २१ औँ सताव्दीको तेश्रो दशकको विश्वमा पनि निकृष्टम रुपमा जारी छ ।
वर्तमान विश्व र नेपाली समाजमा महिला वर्गको अवस्थालाई हेर्दा साम्राज्यवाद र दलाल पूँजीवाद रहेसम्म विश्वभरीका महिला र नेपाली महिला हत्या, हिंसा, बलात्कार, ठगी, बेचविखन, भौतिक एवम् सामाजिक असुरक्षाको डरलाग्दो शिकार भइ नै रहने छन् । यो २१ औँ शताव्दीमा वैज्ञानिक मानव सभ्यताको विकाशको वाधक तत्व हो–जुन कलंक पनि हो ।
नेपाली महिलाको ठूलो बलिदान, त्याग, र तपस्याबाट स्थापित भएको गणतन्त्रात्मक राज्यमा पनि महिला माथिको वर्वरता कायमै रहनुले विद्यमान राज्यसत्ता र शासन व्यवस्था नेपाली श्रमजिवी महिला विरोधी छ भन्ने कुराको ठूलो प्रमाण हो । यसर्थ एकीकृत जनक्रान्तिमार्फत दलाल पूँजीपति वर्गको राज्यसत्ता र पुरुषवादी समाज व्यवस्थाको अन्त्य गर्नु दोहोरा उत्पीडनमा परेका आम नेपाली महिला वर्गको मुक्तिको प्रथम कर्तव्य हुन गएको छ ।
महिला माथिको उत्पीडन आखिर उनीहरुको मात्रै सवाल नभएर आम सवाल हो भनेर नेपालको कम्युनिस्ट एवम् प्रजातान्त्रिक आन्दोलन सँग–संगै महिला आन्दोलन पनि उठान भएको थियो, अझ त्यो भन्दाअघि राणाशासनमा समेत योगमायाको जलसमाधीदेखि विद्रोहका अन्य स्वरहरु उठ्दै आए, प्रजातन्त्र स्थापनापछि र विशेषत जनयुद्धको क्रममा महिलाहरुले ठूलो त्याग, बलिदान र योगदान गरेका छन्, यसको मूल्यांकन कसरी गर्नुहुन्छ ?
नेपालमा प्रजातान्त्रिक आन्दोलन र कम्युनिस्ट आन्दोलनको जुन गौरवगाथा छ, यो महिला नेतृत्व, कार्यकर्ता र आम नेपाली महिलाहरुको विशेष योगदान र संघर्षका मोर्चाहरुमा हासिल गरेको कृतिमानीको परिणाम हो । १०४ वर्षे जहानियाँ राणा शासनका विरुद्ध संघर्ष, ३० वर्षे समान्ती निरङ्कुश पञ्चायती शासनका विरुद्ध संघर्ष, राजतन्त्रात्मक संसदीय शासनका विरुद्ध संघर्ष, महान् १० वर्षे नेपाली जनयुद्धमा प्रेरणादायी सहभागीता र वर्तमान एकीकृत जनक्रान्तिका मोर्चा लगायतमा नेपाली महिलाको अनवरत संघर्षको श्रृखलाले विश्वकै महिलाहरुको शीर उचो बनाएको छ । विशेष गरेर वर्गीय र लैङ्गिक उत्पीडनका विरुद्ध नेपाली श्रमजीवी महिलाले बन्दुक उठाएको र त्यसका निम्ति गरेको अदम्य साहस र महान बलिदान नेपाली राजनीतिक आन्दोलन र विश्व राजनीतिक आन्दोलको निम्ति गौरवपूर्ण र अनुकरणीय बन्न पुगेको छ । यसरी महिलाको सवाल आम सवाल हो मात्र विशिष्ट सवाल होईन । यसको समाधान आमसँग विशिष्टको अन्तर सम्वन्धको दृष्टिकोणबाट खोज्नु पर्छ ।
एकथरी मानिसहरू महिला अधिकारबारे कुरा गर्दा अलि बढी लैङ्गिक हिसाबले मात्रै प्रस्तुत हुने नारीवादी प्रवृति देखिन्छ भने अर्कोतिर महिला उत्पीडन पनि वर्गीय उत्पीडनकै रुप हो भन्दै महिला आन्दोलनको विशिस्टता नबुझ्ने वा यसलाई विशुद्ध वर्ग संघर्ष र आर्थिक राजनीतिक अधिकारको हिसाबले लिन खोज्छन्, त्यसले पनि महिला आन्दोलनको कार्यदिशा निर्माणमा केही अन्यौललता पैदा गरेको देखिन्छ, यसबारे नेपाल कम्युनिस्ट पार्टीले कसरी सोचेको छ ? समकालीन महिला आन्दोलको आमकार्यदिशा कस्तो हुनुपर्छ ?
श्रमिक वर्गीय क्रान्ति र महिला क्रान्तिलाई बुझ्ने दृष्टिकोण श्रमिकवादी हुनु पर्छ । वर्गवाद र महिलावाद (नारीवाद) जस्तो अधिभूतवादी दृष्टिकोणबाट महिला क्रान्ति बच्नु पर्दछ र श्रमिक वर्गीय क्रान्ति बन्नु पर्दछ । महिलावाद आवरणमा जुझारुजस्तो देखिए पनि त्यसको संकृणतावाद र विखण्डनवादले घुमाएर महिला माथिको साम्राज्यवादी र पुरुषवादी शोषण उत्पीडनलाई टेवा पु¥याई राखेको हुन्छ । यो कुरालाई क्रान्तिकारी महिलाहरुले मात्र होईन सुधारवादी आन्दोलनका महिलाहरुले पनि विशेष रुपमा बुझ्नु पर्दछ किनकी, महिलावाद, वर्गवाद र अर्थवादले अन्ततह पूँजीवादी शोषण र पितृसत्ताको सेवा गर्छ, श्रमजीवी आम महिलाको होईन ।
श्रमजीवि महिलामाथिको मुख्य समस्या भनेको पूँजीपति वर्गको शोषण र शासन हो । यसको समाधान नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित श्रमिक वर्गीय एकीकृत जनक्रान्तिबाट खोज्नु पर्दछ । यसर्थ नेपाली श्रमिक वर्गीय जनक्रान्तिमा महिला क्रान्तिलाई एकाकार गर्नुपर्छ ।
माहिला माथिको छुट्टै उत्पीडन, लैङ्गिक उत्पीडन हो । यो पूँजीपति वर्गको शोषण र शासनको भिन्नरुप पनि हो । भिन्न र थप शोषण उत्पीडनको अवस्थाले महिला आन्दोलनलाई मौलिक र विशेष बनाएको हो । यसको समाधान विशेष कार्यदिशा र कार्यक्रमबाट खोज्नु पर्दछ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित श्रमिक वर्गीय क्रान्तिमा महिला क्रान्तिलाई एकाकार गर्नु र पूँजीपति वर्गको राज्यसत्ता भत्काउनु तत्पश्चात स्थापित हुने श्रमिक वर्गको समाजवादी राज्य व्यवस्थामा इतिहासको पूँजीपति वर्गको राज्य व्यवस्थामा महिला वर्गले भोग्नु परेको विशेष वा थप लैङ्गिक शोषणको समाजवादी राज्य व्यवस्थाका सबै क्षेत्रमा क्षतिपूर्तिको प्रतिनिधित्व गर्ने विशेष अधिकारको व्यवस्था गर्नु नै वर्तमान महिला क्रान्तिको सही कार्यदिशा हुन्छ । जुन नेपाल कम्युनिस्ट पार्टीले अगाडि बढाइरहेको छ ।
हामीले निजी सम्पत्तिबिहिन रहेका महिलाहरुलाई सामाजिक क्रान्तिको प्रमुख शक्तिको रूपमा हेर्नुपर्छ र उनीहरुको भूमिकालाई पनि त्यसरी नै ठोस र परिभाषित गर्नुपर्छ भन्ने मान्यता राख्छौँ, जनयुद्धको प्रक्रिया यता थोरबहुत त्यसप्रकारको प्रयत्न समेत भएको देखिन्छ, फेरि समानुपातिक समावेशीकरणको व्यवस्था पनि गरिएको छ, यद्यपि अझै सबै राजनीतिक दल र विशेषतः कम्युनिस्ट पार्टीमा समेत महिला नेतृत्वको विकासका लागि योजना र संरक्षण गर्ने परिपाटी छैन, यसले त अझै पुरुषवाद, सामन्तवादको प्रभावबाट कम्युनिस्ट पार्टी मुक्त हुन नसकेको भन्ने अर्थ लाग्दैन र ?
वर्गीय समाजमा अधिकारको स्थापना र प्रयोगको सवाल राज्यसत्ताको सवाल हो । समाजका बहुसंख्यक श्रमजीवी महिलालाई सम्पत्तिको अधिकारबाट वञ्चित गराउनु, महत्वपूर्ण शक्तिको रुपमा नहेर्नु र प्राथमिकता नदिनु पूँजीपति वर्ग र त्यसको राज्यसत्ताको चरित्र नै हो । यसर्थ पूँजीवादी राज्यसत्ता र शासकहरु महिला अधिकार एवम् समानता विरोधी छन् । जहाँसम्म समावेशी र समानुपातिक प्रतिनिधित्वको सवाल छ, पूँजीपति वर्गको राज्यसत्ता र शासन व्यवस्थामा समावेशी र समानुपातिक नीतिको प्रयोग पूँजीपति वर्गको सत्तास्वार्थको पुरक र सहयोगी हुने हो, महिला अधिकार स्थापना र प्रयोगको साधन होईन ।
महिला नेतृत्वको विकाश र संरक्षणको विषय श्रमिक वर्गीय क्रान्तिमा अंहम् विषय हो । जुन कम्युनिस्ट पार्टी महिला वर्ग, त्यसमाथिको लैङ्गिक उत्पीडन र त्यसबाट मुक्त गर्न महिला आन्दोलनको आवश्यकता एवम् महत्वलाई बुझ्दैन, साँचो अर्थमा त्यो कम्युनिस्ट पार्टी नै होइन । त्यसले क्रान्ति नै गर्दैन बरु क्रान्तिको बकवास मात्र गर्न सक्छ । पूँजीवादी पार्टी जसले आपूmलाई लोकतन्त्रको मसिया भन्छन् र साम्राज्यवादको संकट एवम पतनको रक्षाकवजको रुपमा खडा गरिएका संसदवादी कम्युनिस्ट पार्टी नेपालको सन्दर्भमा दलाल संसदवादी कम्युनिस्ट पार्टीबाट त्यसको अपेक्षा गर्नु बेकार छ र यो आफँैलाई मूर्ख बनाउनु सरह हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले क्रान्तिको उठान, विकाश र विजयको निम्ति महिला वर्गको आवयकता र महत्वलाई मालेमावादी कोणबाट विश्लेषण गरी वैज्ञानिक निष्कर्ष निकालेको हुन्छ । महिलाको सहभागीता र क्रान्तिमा सक्रिय भूमिका बिना क्रान्तिको विजय संभव छैन । महिला वर्गको क्रान्तिमा सक्रिय र प्रभावकारी सहभागीताका निम्ति महिला वर्गबाट सक्षम एवम् प्रभावशाली नेता, कार्यकर्ताको उत्पादन अनिवार्य सर्त हो । यसका निम्ति क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्राथमिकता, योजनावद्धता, संरक्षण र विकाशको विशेष नीति, विधी र व्यवहारलाई आफ्नो कार्यसूची बनाउनु पर्दछ । जुन हाम्रो पार्टीले नयाँ ढंगले शुरुवात गरिरहेको छ । यसकार्यमा सामन्ती र पुरुषवादी चिन्तन र प्रवृतिले अवरोध खडा गर्ने खतरा रहन्छ त्यसलाई क्रान्तिकारी पार्टी र नेतृत्वले निरन्तर परास्त गर्दै जानु पर्दछ ।
समाजको सबैभन्दा सर्वहारा हुनुको हिसाबले र हाम्रो जस्तो जात व्यवस्थामा आधारित सामाजिक आर्थिक संरचना भएको हिन्दूवादी व्यवस्थामा क्रान्ति सबैभन्दा बढी चाहिएको र समाजवादको प्रमुख प्रेरक शक्ति महिलाहरु नै बढी हुनसक्छन्, समाजका सबैखाले उत्पीडन खत्तम पारेर आपसी सद्भाव, समानता र भातृत्वमा आधारित सभ्यता निर्माणको उद्देश्य राखेका कम्युनिस्ट पार्टी र नेताहरूले देशको कार्यकारी भएर नेतृत्व गरिसकेका छन्, अनि रास्ट्रपति, प्रधानन्यायाधीश र सभामुख समेत महिलाहरु भइसके तर, उनीहरुको कथा र व्याथामा तात्विक परिवर्तन आएन । यसको प्रमुख कारण र समाधानबारे यहाँले कसरी चर्चा गर्नुहुन्छ ?
– माथिको प्रश्नको उत्तरमा यस विषयमा हामीले केही चर्चा गरिसकेका छौ । साँचो अर्थमा माक्र्सवादी विचार र क्रान्तिकारी प्रवृति भएका कम्युनिस्ट नेताहरुले देशको नेतृत्व गर्न पाएकै छैनन् । संशोधनवादी विचार, अवसरवादी प्रवृति र श्रमिक वर्गीय विचार एवम् क्रान्तिबाट विचलित भएका नामधारी दलाल संसदवादी कम्युनिस्ट नेताले मात्रै राज्यको नेतृत्व गरेका छन् । कम्युनिस्ट नामका पूँजीवादीहरुले दलाल पूँजीपति वर्गको सत्ताको कारिन्दा भएर महिला वर्गलाई उत्पीडनबाट मुक्त गर्ने काम गर्न सक्ने कुरा पनि भएन । प्रश्नमा भनिए जस्तै महिलाहरु राज्यका महत्वपूर्ण तहमा पनि पु¥याइए तर, आम महिलाले भोगेको वर्गीय र लैङ्गिक उत्पीडनको शिकार भइ नै राखेका छन् । यसको मुख्य कारण दलाल पूँजीपति वर्गको राज्यसत्ताको वर्गीय उत्पीडन र पुरुषवादी समाजको सामाजिक उत्पीडन हो । शोषणकारी दलाल पूँजीपति वर्ग र लैङ्गिक उत्पीडनकारी पितृसत्तावादी समाज व्यवस्था नतोडी महिला मुक्ति र महिलाले महिला एवम् समाजको सेवा गर्ने अवस्था सृजना हुने छैन । विश्व पूँजीवाद र नेपालमा दलाल पूँजीवाद रहेसम्म श्रमजीवी महिलाले आँशु, रगत, पसिना, त्याग तपस्या र बलिदानबाट तयार पारेका महिला नेतृत्वहरुलाई आफ्नो सत्ता र स्वार्थसिद्धिको गोटी बनाइरहन्छन । वास्तवमा महिला अधिकार, समानता र अवसरका निम्ति दलाल पूँजीवादी राज्य सत्ताको ध्वांस र समाजवादी राज्य सत्ताको स्थापना पहिलो शर्त बन्न गएको छ ।
समाजवादले सबै समस्या हल गर्छ भन्ने कुरामा यहाँले जोड गर्नु भो तर समाजवाद कार्यान्वयन भएका देशहरू जस्तै रुसमा कोलोन्तइ र लेनिन वा रोजा र लेनिनकाबीचमा समेत चर्को सैद्धान्तिक बहस भएको पाइन्छ । यसको अर्थ समाजवाद भएर मात्रै हुँदोरहेन छ नि ! यसबाट शिक्षा पनि लिन सकिन्छ होला । अथवा समाजवाद र लङ्गिक मुद्दाको समाधान बारे त्यहाँ पनि केही कमजोरी रहेको भन्न सकिन्न ?
– कमरेड रोजा लक्जम्वर्ग र कमरेड कोलोन्ताई रुसी क्रान्ति र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान र आदर्श नेतृ हुनुहुन्छ । उहाँहरुले कमरेड लेनीनसँग गरेको विचारधारात्मक बहस धेरै नै उचाईका र विश्व कम्युनिस्ट आन्दोलनमा योगदानका छन् । वास्तविकता यो हो कि पेरिस कम्युन पछि रुसी क्रान्ति, वोल्सेविक पार्टी र कमरेड लेनीन नै पहिलो हो, जसले दास युग, सामन्ती युग र पूँजीवादी युग गरी तीन–तीन युगसम्म वर्गीय र लैङ्गिक शोषणको जातोमा पिल्सिएका महिला वर्गलाई रुसमा उन्मुक्ति प्रदान ग¥यो । विश्वका महिला वर्ग र श्रमिक वर्गको निम्ति प्रेरणादायी क्रान्ति र समाजवादी सत्ता बन्यो । युगौयुगदेखि जरा गाडेको लैङ्गिक उत्पीडन र पृतिसत्तावादी संस्कृतिबाट रुसी महिलालाई मुक्त गर्ने प्रश्न सामान्य पनि थिएन । त्यसमा स्वभाविकरुपमा रहेका सीमाबाट विश्व कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलन एवम् हामी क्रान्तिकारीहरुले शिक्षाको रुपमा गम्भीरताकासाथ लिनु पर्दछ ।
समसामयिक राजनीति परिस्थिति र महिला आन्दोलनका केही महत्वपूर्ण कुरामा छलफल ग¥यौं, अब सारसंक्षेपमा ध्यान दिनुपर्ने कुराहरू के–के हुन सक्छन्, निष्कर्षमा के भन्न चाहनुहुन्छ ?
– यो अन्तरवार्तामा विश्व कम्युनिस्ट आन्दोलन, विश्व साम्राज्यवाद, नेपाली कम्युनिस्ट आन्दोलन, नेपाल कम्युनिस्ट पार्टी, एकीकृत जनक्रान्ति, नेपालमा समाजवादी राज्य व्यवस्था, वर्गीय उत्पीडन, लैङ्गिक उत्पीडन र यसको समाधानसम्बन्धी महत्वपूर्ण विषयहरुमा पार्टीको विचार, नीति र कार्यक्रमबारे धारणा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुभयो । यसका निम्ति क्रान्तिकारी महिला नेतृ एवम् महिला संगठनका अध्यक्ष कमरेड बन्धु सीलाई आभारसहित विशेष धन्यवाद व्यक्त गर्दछु । नेपालमा दलाल पूँजीवादको राष्ट्रघाती र जनघाति चरित्रका कारण देश र नेपाली जनता अकल्पनीय संकटको सामना गरिराखेका छन् । राष्ट्र र नेपाली जनताले अन्तिम् मुक्ति खोजी राखेको छ । यसको सुनिश्चितताका खातिर पार्टी र नेतृत्वले आफ्नो सम्पूर्ण ताकत लगाई राखेको छ । पार्टीको जिम्मेवार नेतृ र हाम्रो महिला संगठनको केन्द्रीय अध्यक्ष हुनुले सम्पूर्ण महिला नेतृ, कार्यकर्ता र आम श्रमजीवी महिलाको शक्तिलाई यस कार्यमा दृढतापूर्वक समर्पित गराउनु हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्दछु ।
– नाङ्गेली त्रैमासिक अंक ५ बाट