‘जेन–जी विद्रोहपछि राष्ट्रियता र जनताको स्वनिर्णयको अधिकार हजारौँ गुणा खतरामा परेको छ‘
जेन–जी आन्दोलन र यसले राजनीतिमा पारेको प्रभावको तपाईं र तपाईंको पार्टीको धारणा के छ ?
जेन–जी विद्रोह नेपाली राजनीतिक आन्दोलनको इतिहासमा नयाँ र विशेष प्रकृतिको विद्रोह हो । देशको स्वाधिनता र त्यो बेलाको राजतन्त्रात्मक संसदीय राज्य व्यवस्थाका विरुद्ध नेपाली श्रमिक जनताको नयाँ जनवादी राज्य व्यवस्था स्थापनाका निम्ति जनताले लडेको १० वर्षे महान जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनका विरुद्ध साम्राज्यवादी तत्वहरु एवं देशी प्रतिक्रियावादीहरुले षड्यन्त्रमुलक ढंगले ०६२–६३ पछि संघीय लोकतान्त्रिक गणतन्त्रको आवरणमा नेपाली जनताको टाउकोमा प्रतिक्रान्ति थोपरेपछि नेपाली राजनीतिमा नयाँ विद्रोहको विजारोपण भयो । यो बीचमा दलाल पूँजीपति वर्ग, दलाल संसदीय व्यवस्था र राज्यका सञ्चालक दलाल तत्वहरुले राष्ट्रघात र जनघातका कहालीलाग्दा श्रृंखला खडा गरेपछि कुनैपनि नेपाली जनताले यो देशमा आफ्नो भविष्य नदेख्ने हृदयविदारक अवस्था बन्न पुग्यो । राष्ट्रिय निरासावाद देशको मुल समस्या बन्न गयो । सत्ता र कुर्सीको खेल, यसका निम्ति साम्राज्यवादीहरुका अगाडी आत्मसमर्पण र दलालीको लिगलिगे दौड, नातावाद–कृपावाद, भ्रष्टाचार, कमिशनको खेल, कालोवजारी, मानव तस्करी, वेरोजगारी र असैह्य जनजीविका राष्ट्रिय जीवनका समस्याका प्रमुख रुपहरु बन्न पुगे । उपरोक्त अवस्थाले नेपाली समाज विस्फोटक अवस्थामा पुगेको थियो । जेन–जी विद्रोहले विस्फोट गरायो । विद्रोहले दलाल पूँजीवाद र संसदीय व्यवस्थालाई भंग गरिदियो ।
एक्काइसौं शताव्दीको तेस्रो दशकमा प्रवेश गरेको विश्वको बहुधूव्रीय चरित्रले अमेरिकी साम्राज्यवादी विश्वलाई दिएको चुनौतिका विरुद्ध अमेरिकी साम्राज्यवादले अगाडी सारेकोे हिन्द प्रशान्त रणनीति (आइपिएस) प्रयोगको एउटा केन्द्र नेपाललाई बनाउन विगत ६–७ वर्षको तयारीको पुरक बनाउने धृष्टता पनि अमेरिकी साम्राज्यवादले जेन–जी विद्रोहमा ग¥यो । परिणामतः विद्रोह जेन–जीको, राज्यशक्तिको नियन्त्रण र प्रयोग साम्राज्यवादीहरुको भयो । जुन साम्राज्यवादका नाङ्गा दलालहरु अन्तरिम सत्तासिन भइराखेका छन् । विद्रोहपछि झन् नेपाली राष्ट्रियता र नेपाली जनताको स्वनिर्णयको अधिकार हजारौँ गुणा खतरामा परेको छ ।
जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ र यो सरकारलाई संघीय संसद्को चुनाव गर्ने अभिभारा दिइएको छ । यो सरकाले वर्तमान राजनीतिक संकटको समाधान गर्दै निर्वाचन सम्पन्न गर्न सक्ला त ?
पहिलो कुरा सुशीला कार्की नेतृत्वको सरकार नै जेन–जी आन्दोलनको भावना, मर्म र उद्देश्य विपरीत छ । दोस्रो, यसको आधार नेपाली जनता र नेपाल देश छैन । तेस्रो, यो सरकारको जेन–जी विद्रोह पछिको विकराल अवस्थालाई सम्हाल्ने र समाधानको निम्ति ऐतिहासिक काम गर्ने ल्याकत नै छैन । चौथो, सुशीला सरकारले उत्पीडित वर्ग, समुदाय, महिला, उत्पीडित क्षेत्रका जनता र देशको प्रतिनिधित्व नै गर्दैन । पाचौँ, सरकारसँग दलाल पूँजीवादी राज्य र त्यसले राष्ट्र एवं नेपाली जनताको जीवनमा पैदा गरेका विपत्तको दीर्घकालीन समाधान दिने दृष्टिकोण, राजनीति कार्यक्रम र दूरदृष्टि पनि छैन । छैठौँ, आजका मितिसम्म चुनाव अनुकुल वातावरण नै बनाउन सकेको छैन । सातौँ, साम्राज्यवादीहरुले निश्चित समयभित्र पूर्ति गर्ने स्वार्थ केन्द्रित कार्यबोझको चपेटामा परेको छ । यो र यस्ता कारणहरु छन् जसले चुनाव सम्पन्न गर्ने कार्य सुशीला कार्की नेतृत्वको सरकारको क्षमता भन्दा बाहिर पर्दछ । बरु केही समयपछि कार्की नेतृत्वको सरकारले राजीनामा दियो भने नेपाली जनता र जेन–जीले अनौठो मान्नुपर्ने छैन ।
तपार्ईंको पार्टीले हालसालै काठमाडौँमा विशाल जनप्रदर्शनसहित विशाल जनसभा सम्पन्न गरेको छ । उक्त जनसभामार्फत् तपाईंहरुले सर्वपक्षीय अन्तरिम सरकारको माग गर्नु भएको छ, के यो सम्भव छ ?
जेन–जी विद्रोह पछिको विशिष्ट परिस्थितिमा राष्ट्रिय राजनीतिमा जुन रिक्तता देखियो त्यसलाई परिपूर्ति गर्नु र नेपाली जनताको आगामी राजनीतिक यात्राको दिशानिर्देश गर्नु, देश र नेपाली जनताप्रति उत्तरदायी पार्टी हुनुले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय राजनीतिको जिम्मेवारी वहन गर्नुपथ्र्यो । यसको परिपूर्तिका निम्ति पार्टीले कार्तिक २० गते काठमाडौँमा विशाल जनप्रदर्शन र जनसभा आयोजना गरी अपिल ग¥यो । जुन नेकपाले मात्र त्यो समयमा जनसंघर्षको कार्यक्रम आयोजना गर्ने शाहस र क्षमता राख्थ्यो नकी अरु संसदवादी पार्टीहरुले ।
नेकपाको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्ति मार्फत् नेपाली जनताले जनमुक्ति र राष्ट्रिय मुक्तिका निम्ति विगत एक दशकदेखि गर्दै आएको संघर्ष र जेन–जी विद्रोहमा व्यक्त भएको मुद्धाले राष्ट्रिय स्वाधिनता एवं दलाल संसदवादी राज्य व्यवस्थाको पुर्नसंरचना अनिवार्य बनाएको छ । देश र नेपाली जनतालाई बिकराल र कष्टपुर्ण अवस्थाबाट सधैँको निम्ति उन्मुक्ति दिनु वर्तमान राष्ट्रिय कार्यभार हो । यो ऐतिहासिक कार्यभार पुरा गर्ने निर्विकल्प राजनीतिक साधन भनेको अन्तरिम सरकार हो । यो अहं र विशिष्ट जिम्मेवारी भएको अन्तरिम सरकारको बनोटमा राजनीतिक प्रतिनिधि, जेन–जीका प्रतिनिधि, मजदुर, किसान, व्यापारी व्यवसायी, वुद्धिजिवी, पत्रकार, महिला, श्रमिक समुदाय (दलित), जनजाती, मधेष, मुस्लिम र उत्पीडित क्षेत्रलगायतका प्रतिनिधि सहभागी भएको हुनुपर्छ । देशको संक्रमणकालीन अवस्थाले राष्ट्रिय अन्तरिम सरकारको माग गरिरहेको छ । यही वस्तुगत आवश्यकता, जनसरोकार र जनभावनालाई दृष्टिगत गर्दै हाम्रो पार्टीले सर्वपक्षीय अन्तरिम सरकारको नीति अगाडी सारेको हो । देशको स्वाधिनता सर्वाधिक खतरामा परिराखेको बेला देशलाई राष्ट्रिय एकता अपरिहार्य छ । सर्वपक्षीय अन्तरिम सरकारको कार्यक्रमले राष्ट्रिय एकताको प्रतिनिधित्व गर्दछ । सर्वपक्षीय अन्तरिम सरकार नेपाली राजनीतिको वर्तमान अनिवार्यता हो । जुन राजनीतिक चरित्रको र जनप्रिय एवं जनअपेक्षा गरिएको नयाँ राजनीतिक व्यक्तित्वको नेतृत्वमा हुनुपर्छ ।
विघटित प्रतिनिधिसभाका प्रमुख दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले संसद पुर्नस्थापनाको पक्षमा उभिएका छन् । के यो सम्भव छ र यो वर्तमान संकटको निकास हुन् सक्छ ?
आपूmलाई संसदीय व्यवस्थाको हिमायती ठान्ने पार्टीहरुले संसद पुर्नस्थापनाको कुरा गर्न अनौठो भएन । तर जेन–जी विद्रोहसम्म आउँदा संसदीय व्यवस्था र दलाल पूँजीवादीहरुलाई कारवाही गरी विघटन गरिदियो । भ्रष्टाचारीलाई कारवाही, जनताको शासन (सुशासन), प्रत्यक्ष निर्वाचित कार्यकारी (राज्यको पुर्नसंरचना) र सामाजिक सञ्जाल माथिको प्रतिवन्द खारेजी जेन–जी विद्रोहको मुख्य नारा हुन । नेपाली जनताले राज्यको पुर्नसंरचना खोजी राखेको बेला यसको सम्बोधनको अग्रगामी राजनीतिक मार्गचित्र प्रस्तुत गर्नुको सट्टा आगामी राजनीतिक यात्राका आधार जेन–जी विद्रोह र जनक्रान्ति बनाउनुको सट्टा मृत भइसकेको संसद र अर्ध मृत भएको संविधानबाट खोज्ने कसरत गर्नु जेन–जी विद्रोह र जनक्रान्तिका खिलापमा हुन्छ । यो पश्चगामी र यथास्थितिवादी सोचको उपज ठहरिन्छ । यसले देश र जनताका सामु गम्भिर समस्याको समाधान होईन अर्को विद्रोहलाई जन्माउदछ । जुन भाद्र २३ र २४ गतेको भन्दा भयानक हुनेछ । यस्तो धृष्टता कुनैपनि राजनीतिक दलले नगर्दा कल्याण हुन्छ ।

तपार्ईंहरुले निर्वाचन आयोगमा दल दर्ता गर्नु भएको छ । संघर्षबाट थाकेर संसदीय राजनीतिमा हामफाल्नु भएको हो ?
हामीले नेकपाको तर्फबाट निर्वाचन आयोगमा कार्तिक ११ गते पार्टी दर्ताको शुभारम्भ ग¥यौ । तपाईंलाई जानकारी छ, नेकपा विगत ११ वर्षदेखि नेपाली जनताको समाजवादी राज्य व्यवस्था स्थापना गर्न दलाल पूँजीवादी संसदीय राज्य व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्ति चलाई राखेको पार्टी हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेतृत्वको जीवन भनेको निरन्तर क्रान्ति र अविराम संघर्षको जीवन हो । विराम र थकान भन्ने उसको विचार र जीवन व्यवहारमा कहिल्यै हुँदैन । नेपालमा दलाल पूँजीवादी राज्य सत्तालाई ध्वस्त पार्दै नेपाली श्रमिक जनताको समाजवादी राज्य व्यवस्था स्थापना गरी जनतालाई मुक्त नगर्दासम्म संघर्ष र विश्वलाई साम्यवादी समाज व्यवस्थामा नपु¥याउदासम्म निरन्तर संघर्ष गर्नु श्रमिक वर्गीय कम्युनिष्ट पार्टी र नेतृत्वको कर्तव्य हो । यसबाट पार्टी र नेतृत्व डग्दैन ।
जहाँसम्म संसदीय राजनीतिको कुरा छ । नेकपा पूँजीपति वर्गको संसदीय राजनीति र संसदीय व्यवस्था विरोधी नेपाली श्रमिक जनताको क्रान्तिकारी राजनीति र समाजवादी राज्य व्यवस्थाको प्रतिनिधि पार्टी हो । अहिले देशको वस्तुगत अवस्था, एकीकृत जनक्रान्तिको उचाई र नेकपाको जिम्मेवारीमा गुणात्मक रुपमा विकास भएको छ । यो बेला चुनाव पनि जनक्रान्तिको साधक बन्ने अवस्था सिर्जना भएको छ । यो वस्तुस्थिति र जनताको चाहनालाई दृष्टिगत गरी पार्टी र नेतृत्वले पाचौँ केन्द्रीय समितिको पूर्ण बैठकबाट चुनावलाई एकीकृत जनक्रान्तिको संघर्षको मोर्चा बनाउने दृष्टिकोण अगाडी सारी सामना गर्ने नीति लियोे । अब म सिङ्गो पाटी पक्ति र आम नेपाली जनतामा के प्रष्ट पार्न चाहन्छु भने कुन बेला भिन्न कुरा भयो, आगामी चुनावमा जनक्रान्तिको मोर्चाको रुपमा पार्टी चुनावमा जान्छ । स्मरण होस् अहिलेको समय र वस्तुगत परिस्थितिमा चुनावी मोर्चाको प्रयोग क्रान्तिकारी र क्रान्तिको साधन हुने प्रवल संभावना छ भने विगतको समय र परिस्थितिमा चुनावी मोर्चा खोलेर प्रयोग गरेको भए संसदवादी र क्रान्तिको वाधक हुने खतरा रहन्थ्यो । समय र पार्टी एवं जनक्रान्तिको अवस्था यसका कारकतत्व हुन जसले चुनावलाई क्रान्तिको साधक र वाधकमा बदल्छन ।
निर्वाचनमा जनताले तपाईहरुको पार्टीलाई साथ दिन्छन र तपाईहरुलाई बिजयी बनाउछन भन्ने आधारहरु के के छन् ?
नेकपा नेपाली जनताको मुक्तिको विचार बोकेको, जनताको मुद्धामा आजीवन संघर्ष गरेको, नेपाली जनताले आशा एवं अपेक्षा गरेको निश्कलंक पार्टी र जेन–जी विद्रोहपछि नेपाली जनताले राष्ट्रिय राजनीतिमा खोजेको नयाँ वैकल्पिक पार्टी एवं नेतृत्व हो । त्यसैले नेपाली जनताले नेकपा र यसको नेतृत्वलाई आफ्नो जिम्मेवारी विस्वासका साथ दिन्छन भन्ने पार्टी र मलाई पूर्ण भरोसा छ । राष्ट्रको स्वाधिनता र नेपाली जनताको मुक्तिको प्रतिनिधि पार्टी एवं नेतृत्व हुनुले नेपाली जनताको साथ नेकपालाई रहनेछ भन्ने अगाध विश्वास छ ।
तपार्ईंहरुले भने जस्तो नेपाली विशेषताको समाजवाद संसदीय व्यवस्थाबाट सम्भव छ र ?
नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था र संसदीय राज्य व्यवस्था दुई फरक–फरक राज्य व्यवस्था हुन । नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था राष्ट्रिय स्वाधिनता, उत्पीडित वर्ग, समुदाय, महिला र उत्पीडित क्षेत्रका जनताको प्रतिनिधित्व गर्ने राजनीतिक व्यवस्था हो भने संसदीय व्यवस्था राष्ट्रघाति र जनघाति दलाल पूँजीवादी लुटेरा भ्रष्टाचारीहरुको व्यवस्था हो । यो दुई व्यवस्था विपरीत वर्गका राज्य व्यवस्था हुन । बरु दलाल संसदीय व्यवस्थाबाट नेपाली विशेषताको समाजवाद आउने होइन कि यसका विरुद्धको संघर्षका नयाँ मोर्चाको खोज र विकासले नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था स्थापना गर्न तयारीको काम गर्ने हो ।
तपार्ईंहरु नयाँ कम्युनिष्ट केन्द्र बनाउने भन्नु हुन्छ । तर, तपाईंकै पार्टीका नेताहरु धमाधम पलायन भइ रहेका छन् । नयाँ कम्युनिष्ट केन्द्र कतै नारामा मात्र सीमित हुने त होइन ?
नयाँ कम्युनिष्ट केन्द्र नेपलको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने ऐतिहासिक आवश्यकता र हाम्रो राष्ट्रको स्वाधिनता माथि साम्राज्यवादी नाङ्गो हस्तक्षेप एवं दलाल पूँजीवादका विरुद्धको संघर्षका मोर्चाको वर्तमान आवश्यकतालाई आधार बनाएर अगाडी सारिएको नयाँ बिचार हो । यसको अभावमा स्वाधिनता र समाजवाद मृगपरिचाका हुने खतरा छ । नयाँ कम्युनिष्ट केन्द्र नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ शुद्धिकरण एवं एकीकरणको विचार पनि हो । यो नेपाली कम्युनिष्ट आन्दोलनको सांस्कृतिक रुपान्तरणको क्रान्तिकारी आन्दोलन पनि हो । क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट खराब तत्वहरुको वहिर्गमन र कम्युनिष्ट आन्दोलन भित्र भएका क्रान्तिकारी नेता एवं कार्यकर्ताहरुको प्रविष्ट निरन्तर भइरहन्छ । नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको ऐतिहासिक पहलकदमी लिइराखेको नेकपाको जीवनमा लागु भएको शुद्धिकरणको नियमको रुपमा क्रान्तिकारीहरुको आगमन र अवसरवादीहरुको पलायनलाई बुझ्नुपर्छ ।
देशको वर्तमान संकटग्रस्त राजनीतिको सर्वमान्य र अग्रगामी निकास के हुन सक्छ । यसमा नेकपाको कस्तो भूमिका रहन्छ ?
देशको संकटग्रस्त अवस्थाको जिम्मेवार तत्व दलाल पूँजीपति वर्ग, दलाल संसदीय राज्य व्यवस्था र दलाल नेतृत्व हो । विगतमा नेपाली जनताले गरेको संघर्ष, ११ वर्षदेखि चलाएको एकीकृत जनक्रान्ति र वर्तमान जेन–जी विद्रोह उपरोक्त समस्याको अन्त्य गर्नका निम्ति हो । यसर्थ दलाल पूँजीवादी संसदीय राज्य व्यवस्था र दलाल एवं भ्रष्ट नेतृत्वको पुर्नसंरचना नै विगत जनसंघर्ष, जनक्रान्ति र जेन–जी विद्रोहको उद्देश्य एवं आम जनचाहना हो । देश र जनताका अगाडीका डरलाग्दा समस्याको एकमात्र सर्वस्वीकार्य समाधान भनेको राज्यको अग्रगामी पुर्नसंरचना नै हो । देशको स्वाधिनता र नेपाली जनताको स्वनिर्णयको अधिकारलाई स्थापित गर्ने अग्रगामी वा क्रान्तिकारी राजनीतिक मार्गचित्र भनेको नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था स्थापना गर्नु हो । यो लक्ष्य देशलाई पु¥याउनका निम्ति परिपुरक अन्तरिम राजनीतिक कार्यक्रम आवश्यक छ । यसको परिपूर्ति गर्न जेन–जी विद्रोहपछि पार्टीले आयोजना गरेको केन्द्रीय समितिको तेस्रो विशेष बैठकबाट सुशीला कार्की नेतृत्वको कथित अन्तरिम सरकारको राजीनामा र स्वच्छ राजनीतिक व्यक्तित्वको नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकारको गठन, राज्यको पुर्नसंरचना, संविधानको पुर्नलेखन वा नयाँ लेखन, नयाँ जनादेश लिन साम्राज्यवादी हस्तक्षेप रहित नेपाली जनताले स्वनिर्णयको राजनीतिक अधिकारको निर्विवाद प्रयोग गर्न पाउने आम निर्वाचन, आवश्यकताको सिद्धान्त आकर्षित गरी अन्तरिम कार्यका निम्ति नीति, कानुन र विधिको निर्माण, अर्थतन्त्रलाई भ्रष्टाचारको चंगुलबाट मुक्त गर्नका निम्ति भ्रष्टाचारीलाई कारवाही गर्न स्वच्छ छवि भएका विज्ञ सम्मिलित भ्रष्टाचार छानबिन आयोगको गठन, भ्रष्टाचारीलाई सर्वश्व जफत सहित आजीवन जेल सजाय दिन अधिकार सम्पन्न विशेष अदालतको गठन, देशभित्र रोजगारी सिर्जना गरी विदेशिन वाध्य लाखौँ युवालाई स्वदेश फिर्ता, जनताको आवास, शिक्षा, स्वास्थ्यको राज्यद्धारा निशुल्क व्यवस्था, भूमिहीन किसानलाई निशुल्क जमिनको व्यवस्था, देशको अर्थव्यवस्था माथि साम्राज्यवादी निगम पूँजीको हस्तक्षेप बढाउने संयन्त्रको काम गर्ने आइएनजिओमाथि प्रतिवन्ध र नेपाली जनताको धार्मिक स्वतन्त्रताको रक्षा गर्दै साम्राज्यवादी धर्म परिवर्तन र धार्मिक अतिक्रमणमा प्रतिवन्धलगायतका राजनीतिक कार्यक्रम अगाडी सारेको छ ।
राष्ट्रिय राजनीतिमा पार्टीले अगाडी सारेको तत्कालिक र दिर्धकालिक नीति र कार्यक्रमलाई लागु गर्न पुरै शक्तिका साथ पार्टी लागि पर्नेछ ।
- क्षेप्यास्त्र साप्ताहिकवाट
