‘विश्वका नेताहरूले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभर गरिबी हट्छ’
 
                
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विश्वका नेताहरुले अर्थतन्त्रको बारेमा सोचेको खण्डमा विश्वभरबाट गरिबी अन्त्य हुने जिकिर गरेका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला समितिले आयोजना गरेका ‘एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरक्रियामा बोल्दै विप्लवले यस्तो टिप्पणी गरेका हुन् । उनले विश्वमा पुँजीवाद अर्थशास्त्रीहरुको सुझावका आधारमा टिकेको बताउँदै यसमा संकट आएको जिकिर गरे । ‘अमेरिका, बेलायत, युरोपमा पुँजीवाद अर्थसास्त्रीहरुको सुझावका आधारमा टिकेको छ ।’, कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका महासचिव विप्लव सीले भने, ‘पुँजीवादले सामाजवादका केही लोकप्रिय कार्यक्रम लागु गरेर आजसम्म टिकेको छ । यसले जनताका समस्याहरुलाई समाधान गर्न सकेको छैन ।’
पुजीवादले समाजवादबाट चोरेर सामाजिक सुरक्षाका कार्यक्रमहरु चलाएको भएपनि बर्गिय सन्तुलन नमिलेको ठोकुवा गरे । ‘केही समाजिक सुरक्षा कार्यक्रमहरु युरोप अमेरिकी देशहरुमा लागु भएका छन् । तर यसले केही व्यक्तिहरुमा भइरहेको पैँसाको केन्द्रीकरण रोकिएको छैन ।’, उनले भने, ‘विश्वका नेताहरुले, खासगरी अमेरिका, युरोप लगायतका देशका नेताहरुले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभरबाट गरिबी हट्छ ।’
महासचिव विप्लव सीले निजी स्वामित्वकी सामुहिक स्वामित्व भन्ने विषयमा बहस भइरहेको विश्वमा नेकपाले नयाँ स्वामित्वको विषयमा बहसमा ल्याएको बताए । पुँजीवाद चलाइरहेका देशभित्र पनि त्यो अर्थतन्त्रले धानेन भन्ने ठूलाठूला बहसहरु रहेको बताउँदै उनले विश्वले निजी स्वामित्वकी सामुहिक स्वामित्वको विकल्प खोजिरहेको बेलामा एकीकृत स्वामित्वका बारेमा ठूलाठूलो बहस चलाउनु पर्ने बताए ।
महासचिव विप्लव सीले राज्य, संस्था र व्यक्तिलाई एकीकृत गर्दौ स्वामित्व निर्माण गर्नुपर्ने बताउँदै माक्र्सवादले भनेको सामूहिक स्वामित्वले मात्र समस्याको समाधान नहुने ठोकुवा गरे । ‘पुँजीवाद निकै संकटमा छन् । अमेरिका निकै ठूलो आर्थिक संकटमा छ । रसियामा समाजवाद पनि टिकेन नी । त्यहाँ पनि सामुहिक स्वामित्वले काम गरेन । समाजवादमा निजी क्षमताहरूको प्रयोग पनि आवस्यक हुन्छ, सामूहिक स्वामित्व पनि चाहिन्छ ।’
नेकपा पोलिटब्युरो सदस्य माइला सीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य सन्देश सीले अवधारणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सर्वसाधारण, व्यापारी, बुद्धिजिविबाट १२ विघा भन्दा धेरै जमिन बन्दकी राख्ख्न मिल्ने बराबरको सहयोग उठेको थियो । नेकपाले ल्याएको आत्मनिर्भर कार्यकर्ता, आत्मनिर्भर पाटी, आत्मनिर्भर देशको नीति अनुसार एकीकृत स्वामित्वको बारेमा अन्तरक्रिया भएको थियो ।
अन्तरक्रियामा सहभागीहरुले स्वामित्वको सवालमा एकीकृत स्वामित्व नयाँ भएकाले यसले निकै राम्रो नतिजा ल्याउने बताएका थिए । ‘निजी स्वामित्वमा पुँजी सिमित व्यक्तिमा केन्द्रीत भयो, सामुहिक स्वामित्वमा पनि समस्या देखियो ।’, सहभागीले भने, ‘यो एकीकृत स्वामित्वले सबैलाई समेट्छ । यसले जनताका समस्याहरुको समाधान गर्छ ।’ -शोभराज बराल

 
                 
                             
                             
                         
                         
                        