वर्तमान राजनीतिक संकटको बैज्ञानिक निकास नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको बैज्ञानिक निकास नेपाली विशेषताको समाजवादमात्र भएको ठोकुवा गरेका छन । सोमबार नेपाल कम्युनिष्ट पार्टी कालिकोटको नवौं पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादी र दलालहरुको सबै प्रकारका षड्यन्त्रहरु तोडेर समाजवादी क्रान्तिको दिशामा अगाडि बढन पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिदै भने- ‘देश निकै संकटमा छ, साम्राज्यवादी र देशभित्रका दलालहरुले जनताका विरुद्ध विभिन्न षड्यन्त्र गरिरहेका छन, उनीहरुका सबै प्रकारका षड्यन्त्रहरु तोड्नु होस र समाजवादी क्रान्तिको दिशामा आगाडि बढनुहोस ।’

प्रवक्ता प्रकाण्ड सीले कालिकोट जिल्ला जनयुद्ध र एकीकृत जनक्रान्तिको लागि आधार इलाका भएको उल्लेख गर्दै देशी विदेशी साम्राज्यवादी तथा दलालहरुको षडयन्त्र तोड्ने दायित्व पनि सबै भन्दा बढी कालिकोटको हुने बताए । उनले पार्टी संगठनलाई सुदृढ तथा विस्तार गरी पार्टीलाई जनताको सेवाका काममा लगाउन आग्रह गर्दै भने- ‘समाजवादी क्रान्ति विना देश र जनताको जीवन छैन, नेपाल कम्युनिष्ट पार्टीको जीवन पनि छैन, हामीले पार्टीलाई जनतातिर फर्काएर समाजवादी क्रान्ति गर्नु पर्छ ।’

उक्त बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सी,सेक्रेटर िबलवान सी, केन्द्रीय सदस्य अर्जुन सी,कलम सी, रणदिप सी,अविचल सी,दिनेश सी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
बैठकले जिल्लामा संगठन सुदृढ तथा विस्तारका लागि जनतासम्म पुग्ने,जनसेवा तथा निर्माणका कामहरु गर्ने, त्यसका लागि केन्द्रीय सदस्य अविचल सीको नेतृत्वमा जनसेवा तथा निर्माण विभाग बनाउनेलगायतका निर्णयहरु गरेको छ ।
बैठकमा जिल्लाका सबै जिल्ला सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको काम तथा जनताको अवस्थाका बारे रिर्पोट पेश गरेका थिए । बैठक पार्टीका जिल्ला सेक्रेटरी बलवान सीको अध्यक्षतामा बसेको थियो ।