महासचिव विप्लव सीद्वारा कपिलवस्तुको शिवगढीमा अस्पताल निर्माण गर्ने प्रतिबद्धता

२०८१ मंसिर ७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कपिलवस्तुको शिवगढीमा चाडै अस्पताल निर्माण गरी जनतालाई स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव विप्लव सीले बिहीबार जनस्वास्थ्य सेवा केन्द्रको आयोजनामा शिवगढीमा संचालित एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै सो प्रतिबद्धता जनाएका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सहयोगी मनका खानी नेपाली दाजुभाईहरुको सहयोगबाट जनस्वास्थ्य सेवा केन्द्र निर्माण भएको र यसले पहिलो पटक निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताउदै भने – ‘जनताको मिहिनेतद्वारा निर्माण गरिएको र जनताका विभिन्न प्रतिनिधि संस्थाहरु, सरकारी निकायहरु र विभिन्न देशमा रहेका सहयोगी मनका खानी नेपाली दाजुभाईहरुको सहयोगबाट जनस्वास्थ्य सेवा केन्द्रले स्वास्थ्य शिविर पहिलोपटक आयोजना गरेको हो । यो आजको एक दिने शिविर मात्रै हो । अब चाडै नै अस्पताल निर्माण गरी औपचारिक रुपमा फेरी उद्घाटन गरी आफ्नै गाउँ ठाउँबाट स्वास्थ्य सेवा दिनेछौँ ।’
महासचिव विप्लव सीले स्वास्थ्य सेवा भनेको जनताले निशुल्क पाउनु पर्ने आफ्नो पार्टीको धारणा रहेको भन्दै जनतालाई निशुल्क स्वास्थ्य सेवा नेकपाले दिने विश्वास दिलाए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले लुम्बिनी प्रादेशिक अस्पताललाई निशुल्क स्वास्थ्य शिविरमा सहभागी गराएर बिरामीलाई सेवा दिने अवसर दिएकोमा नेकपाप्रति आभार प्रकट गर्दै धन्यवाद दिए ।
उक्त स्वास्थ्य शिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुबाट ६७९ जना सर्वसाधारण नागरिकलाई निशुल्क स्वास्थ्य चाँजसहित औषधी उपलब्ध गराइएको थियो ।
शिविरमा हाडजोर्नी तथा नसा रोग, प्रसुती तथा स्त्रीरोग, जनरल फिजिशियन सम्बन्धि सेवा दिएको थियो । त्यस्तै ओएनएफ एस (मुख स्वास्थ्य सम्बन्धी), भिडियो एक्सरे, नाक, कान घाँटी, दिर्घकालिन दुखाई तथा एनेस्थेसीया, क्रिकल फिजियोथेरापी पुनस्थापना लगायतका सेवा प्रदान गरिएको छ । गाउँमै स्वास्थ्य शिविर संचालन हुँदा र निशुल्क सेवा लिन पाउँदा आसपासका सेवाग्राहीहरु निकै खुसी भएका थिए ।
शिविरमा निःशुल्क औषधी वितरणका साथै ल्याब सेवा (दिसा, खकार, र पिसाब जाँच) सुगर जाँच, ईसिजी, सेवा समेत प्रदान गरिएको थियो ।
उक्त स्वास्थ्य शिविर कार्याक्रममा प्रमुख अतिथिको रुपमा महासचिव विप्लव सीसहित अतिथिको रुपमा नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढा मगर, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट. डा. इन्द्र ढकाल, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेल, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, जिल्ला अस्पताल कपिलवस्तुका डा. राकेश शाह, डा. मिलन अधिकारी, डा. सन्तोष घिमिरे, डा. नविन तिरुवा, डा. सुनिल कुमार चौधरी लगायत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।
उक्त स्वास्थ्य शिविर कार्याक्रम विनोद लुईटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]