‘परिवर्तन खोस्ने षड्यन्त्र भइरहेको छ’

२०८१ फाल्गुन २४ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले विगतमा जनताले गरेको परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको बताएका छन । शुक्रबार पीबी कन्स्ट्रक्सन एन्ड डेकोर प्रालिको कार्यालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रवक्ता प्रकाण्ड सीले देशी–विदेशी जनविरोधी तत्वहरुबाट षड्यन्त्र भइरहेको उल्लेख गर्दै देशलाई मुक्त गर्न र समृद्धिलाई रोक्न कसैले नसक्ने  ठोकुवा गरे । उनले नेपाली जनताले अहिलेसम्म अरु शासकहरुको लागि संघर्ष गर्दै आएको र अब आफ्नो निम्ति आफैले गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै आफ्नो पार्टीले देशको आर्थिक, राजनीतिक, साँस्कृतिक र राष्ट्रिय स्वाधीनताको विषयमा नयाँ ढंगले सोंचिरहेकोले एकपटक साथ दिनका निम्ति सबैलाई आग्रह समेत गरे ।

प्रवक्ता प्रकाण्ड सीले कम्पनीलाई शुभकामना दिँदै आफ्नो पार्टीले उक्त व्यवसायमा सक्दो सहयोग गर्ने  प्रतिबद्धतासमेत व्यक्त गरे ।

यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले नेपालमा थ्री डि सिस्टमको डेकोरेशन प्रविधिको व्यवसाय सुरुवात गरेकोमा कम्पनीको सह्राना गर्दै शुभकामना दिए ।

त्यसैगरी पर्यटन व्यवसायी दामोदर घिमिरेले व्यवसायलाई नेटवर्क सिष्टमबाट समेत अगाडि बढाउनुपर्नेमा जोड दिए भने सहकारी व्यवसायी नवराज रिजालले नयाँ प्रविधिको डेकोरेसन पद्धतिको व्यापार विकास गर्नका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कैलाश पारखी चेयरम्यान रहेको कम्पनीमा सहवीर बि. के. तिरुवा, ओमप्रकाश यादव, दिपक सुनार, हिमालय चन्द लगायत सञ्चालकहरु रहेका छन् । इन्डियामा थ्री डी डेकोर प्रविधि केही वर्षदेखि प्रचलनमा रहेपनि नेपालमा पहिलोपटक आफ्नो टिमले सञ्चालनमा ल्याउन खोजेको कुरा कम्पनीले जानकारी दिएको छ । अन्य डेकोरिङ्ग सिस्टमकै मूल्यमा सेवा दिनका निम्ति कम्पनीले प्रयास गरिरहेको बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]