समाजवादी मोर्चाद्वारा संघर्षको शंखघोष : चैत १५ गते विरोध प्रदर्शन र सभा गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले आगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगामी हर्कतबिरुद्ध प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले जानकारी दिए ।
यसैगरी, आजको बैठकले आगामी चैत १ गते विहान नेपालका बुद्धिजीवी नागरिक समाजसँग परामर्श र छलफल गर्ने अपरान्ह पत्रकार सम्मेलन गर्ने निर्णय गरेको नेता प्रकाण्ड सीले जानकारी दिए ।
यसैगरी,नेता प्रकाण्ड सीले आजको बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गरेको बताउदै भने- ‘देशको पछिल्लो राजनीतिक परिस्थिति जो छ, त्यसको बारेमा गम्भीर विश्लेषण गरेको छ । एउटा वस्तुगत निश्कर्ष निकालेको छ र यो स्थितिलाई ट्याकल गर्नका निम्ति केही कार्यक्रम र योजनाहरु तय गरेको छ।’

यसैगरी,नेता प्रकाण्ड सीले मोर्चाको आजको बैठकले नेपाली जनताले आफ्नो व्यवस्था, मुक्ति र स्वाधीनताको निम्ति धेरै ठूलो संघर्ष गरेर प्राप्त गरेको र स्थापित गरेको गणतन्त्रको विरुद्धमा गम्भीर षड्यन्त्र सुरु भएको निश्कर्षसमेत निकालेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ विकसित कसरी गर्ने, अहिलेको समस्याहरु जे–जस्ता छन् त्यसलाई कसरी समाधान गर्ने र व्यवस्था अझ यो भन्दा कसरी उन्नत बनाउने भनेर चिन्तन गरिरहेका जनताले इतिहासमा तिरस्कृत भइसकेको राजतन्त्रलाई स्वीकार नगर्ने मोर्चाको निश्कर्ष रहेको समेत बताए ।
यसैगरी,नेता प्रकाण्ड सीले मोर्चाको आजको बैठकले जनताले तिरस्कार गरिसकेको राजा र राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने हर्कतलाई ‘ठूलो धृष्टता, देश र जनताको विरुद्धमा ठूलो प्रतिगामी षड्यन्त्र; संज्ञा दिएको बताउदै अहिलेको परिस्थितिलाई सशक्त रुपमा प्रतिकार गर्नका निम्ति आम नेपाली जनताको बीचमा समाजवादी मोर्चाको तर्फबाट अपिल गरिने समेत बताए ।