नेपाल कम्युनिस्ट पार्टीद्वारा जनसंघर्षको उदघोष
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनसंघर्षको उदघोष गरेको छ । सो पार्टीको गत असोज २६ देखि ३० गतेसम्म बसेको नवौँ केन्द्रीय समितिको तेस्रो विशेष बैठकले जनसंघर्ष गर्ने निर्णय गरेको थियो ।
सोहि बैठकको निर्णयअनुसार नेपाल कम्युनिस्ट पार्टीले कात्तिक १३ गतेसम्म भित्ते लेखन गर्नेछ । भित्ते लेखनका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गर , भ्रष्टाचारको निष्पक्ष छानबिन गर ,उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर, GEN-Z माथिको भएको दमन निष्पक्ष छानबिन गर, युवाहरूको लागि रोजगारीको ग्यारेन्टी गर जस्ता नारा तय गरिएको बताइएको छ।
यसैगरी, सो पार्टीले कात्तिक १५ गते देशव्यापी मसाल जुलुस प्रदर्शन र कात्तिक १७ गते देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा गर्ने बताइएको छ ।
यसैगरी, सो पार्टीले देशलाई शान्ति, स्थिरता, स्वाधीनता र अग्रगामी निकास दिनका लागि देशभक्त समाजवादी, वामपन्थी, कम्युनिस्ट शक्ति सम्मिलित राजनीतिक गोलमेच संम्मेलन आयोजना गर्न पहल गर्ने , देशभरी विभिन्न क्षेत्रका नागरिक, व्यवसायी, बुद्धिजीवीसँग अन्तरक्रिया संचालन गर्ने र उल्लेखित विषयसहित राष्ट्रपतिको ध्यान आकर्षित गर्न ज्ञापनपत्र पेस गर्ने र कात्तिक २० गते राजधानीमा बृहत् जनसभा आयोजना गर्ने बताइएको छ ।
