नेकपासहित तीन पार्टीद्वारा बृहत् मोर्चाबन्दीको आह्वान
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी, प्रगतिशील राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजवादीले वृहत मोर्चाबन्दीको आह्वान गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा (माओवादी केन्द्र) का महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने निष्कर्ष निकाल्दै वृहत मोर्चाबन्दीको आह्वान गरेका हुन् ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा (माओवादी केन्द्र) का महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘मुलुकको असाधारण राजनीतिक अन्योलका बारेमा हामी सबै जानकार नै छौं । सत्तासिन नेताहरु गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरुले खेल्नु पर्ने भूमिका कमजोर हुँदै जाँदा राज्य, राजनीति, राजनीतिक दल र तिनका नेताहरु जनताबाट टाढिदै गएका थिए । दलहरुमा सुधारका प्रयासहरु असफल हुँदै गएका थिए । जसले गर्दा ती दलहरुले गत भदौ २३ गतेको जेन् जी आन्दोलन र २४ गते भएको विध्वंशलाई थेग्न सकेनन् । त्यसपछि विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई झन् झन् अन्योलग्रस्त बनाएका छन् । राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार एकसाथ खतरामा परेका छन् । राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ । मुलुकका पुराना राजनीतिक दलहरु, खासगरी तिनका नेताहरु पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहान्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ । पुरानै बाटो हिँडेर नयाँ
गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ ।
आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको छ । राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिवद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुले बृहत् मोर्चाबन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको छ । हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि वढ्न सङ्कल्पवद्ध भएका छौं । र, सवै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौं ।’

