नेकपा (माओवादी) का शीर्षस्थ नेता र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्षस्थ नेता र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जेन जी बिद्रोहपछि बिकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव बढाउदै गएको छ र सोहि क्रममा शनिबार बिहान सो पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले राष्ट्रपति पौडेललाई भेटेका हुन्।
उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्षस्थ नेताहरुले जेन जी विद्रोहको बेला देश र जनतालाई बचाउन राष्ट्रपति पौडेलले निभाएको भूमिकाप्रति आभार व्यक्त गरेको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्षस्थ नेताहरुले जेन जी विद्रोहपछि पूर्ण सरकार बन्न नसकेको र सरकारले जेन जिको मुद्दा , जनभावना र जनमतलाई समेट्न नसकेको बताएका थिए। उनीहरुले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउदै जेन जिको मागको सम्बोधन गर्न र निर्वाचनको वातावरण बनाउन सर्वपक्षीय अन्तरिम सरकार बनाउनु पर्ने बताएका थिए।

यसैगरी, उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्षस्थ नेताहरुले देशलाई अग्रगामन तर्फ बढाउन राज्यको पुनर्संरचना आबश्यक भएको बताएका थिए। उनीहरुले राज्यको पुनर्संरचना गर्ने जिम्मेवारी सहितको सर्वपक्षीय अन्तरिम सरकार बनाएर अघि बढ्नुको बिकल्प नभएको बताउदै राष्ट्रियता र जनाधिकार आगोको ज्वालामा परेको र यसको निकासका लागि राष्ट्रपतिलाई बिबेक र साहसका साथ अगाडि बढ्न आग्रह समेत गरेको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले निर्वाचन आयोगमा दल दर्ता गरेको र चुनावमा भाग लिने निर्णय गरेकोमा पार्टी र नेताहरुलाई बधाई समेत दिएको बताइएको छ।
