‘नेकपा (माओबादी)को नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुको बिकल्प छैन’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का प्रवक्ता प्रकाण्ड सीले देशको वर्तमान राजनीतिक संकटका साथै जेन जी को माग सम्बोधन गर्न नेकपा (माओबादी)को नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार बन्नुको बिकल्प नभएको बताएका छन्। शुक्रवार प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
प्रवक्ता प्रकाण्ड सीले जेनजी बिद्रोहपछि संसदीय व्यवस्था समाप्त भएको,पुराना पार्टी र नेताहरू असफल भएको तथ्य प्रस्तुत गर्दै संविधान पुनर्लेखन र राज्यको पुनर्संरचनामार्फत राजनीतिक निकास खोज्नुको बिकल्प नभएको बताए। उनले नेकपा (माओबादी) देशलाई स्वाधीन बनाउने र नेपाली समाजलाई रुपान्तरण गरेर उत्पीडित जनताको राज्य सञ्चालनमा सहभागी हुने बताउदै भने- ‘ नेपाली बिशेषताको समाजवादको जुन कुरा हामीले गरेका छौं, त्यो सर्त र उदेश्यमा आधारित सहकार्य हुन्छ, यो कुनै पार्टी विशेषको कुरा होइन। ‘
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नेपालका कम्युनिस्ट आन्दोलनमा रहेका इमानदार नेताकार्यकर्ताहरुसङ्ग एकता गर्ने र देश र जनतालाई माया गर्नेहरूसङ्ग सहकार्य गर्ने पार्टीको नीति रहेको बताउदै आफ्नो पार्टी जनताका मुद्दामा स्वतन्त्र रूपमा चुनावमा जाने र मुद्दा मिल्नेहरुसङ्ग सहकार्यको ढोका खुल्लै राख्ने बताए । उनले जनताको भावना र आकाङ्क्षाको प्रतिनिधित्व गर्दै स्वतन्त्र रूपमा जनताको बिचमा जाने कुरा पार्टीको प्राथमिकतामा रहेको बताउदै भने- ‘चुनावमा गठबन्धन बनाएर जाने कि एक्लै ? भनि सोधिएको प्रश्नमा जेनजी बिद्रोह पछि देशले जसरी स्वच्छ छवि भएको, सहि भिजन भएको पार्टी र नेतृत्व खोजेको छ, उक्त कुरालाई ध्यान दिदै स्वतन्त्र ढङ्गले जनताको बिचमा जान्छौं ,सङ्गसङै चुनावको संवेदनशीलता र आवश्यकतालाई दृष्टिगत गरेर मोर्चाबन्दीलाई पनि खुलै राख्छौं।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले सहकार्य को सङ्ग गर्ने- प्रचण्ड, ओली वा अरु कुनै पार्टीसङ्ग ? भन्ने प्रश्नको जवाफमा भने- ‘ नेपालका संसदवादी पार्टीहरुका थर ठेगान नै छैनन् , उनीहरु मौका अनुसार जहाँ, जतिबेला, जे पनि गर्छन्, त्यसैले कुनै पार्टीविशेष भन्दा पनि एजेन्डा मिल्नेहरुसङ्ग सहकार्यको संभावना रहेको छ । जुन पार्टीले चुनावमा आफूलाई खडा गर्दा देश र जनताको मुद्दा बोक्छ, जुन पार्टीले राज्यको पुनर्संरचना, भ्रष्टाचारीलाई कारबाही गरेर जेलको चिसो छिडिमा राख्ने भन्छ, भ्रष्टाचार गरेर देशको सम्पत्ति लुटेकाहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने कुरा जुन पार्टीले भन्छ, ती पार्टी र नेतासङ्ग सहकार्य हुन्छ तर त्यस्ता पार्टी को-को हुन्छन्, त्यो हामी हेर्दैछौ।”
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले शुसिला कार्की नेतृत्वको बर्तमान सरकारले चुनावको बाताबरण बनाउन नसक्ने, शान्ति सुरक्षाको बाताबरण अझै नबनेको र सरकार उभिएको कमजोर धरातलका कारण समेत भ्रष्टाचारीलाई कारबाही लगायतका मुद्दाहरु सम्बोधन हुन नसकेको बताउदै वर्तमान राजनीतिक संकटको एकमात्र समाधान नेकपा माओबादीको नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार भएको दोहोर्याए।
