‘प्रचण्ड जीवन रक्षाको लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को शरणमा आउनुको बिकल्प छैन’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले प्रचण्डले माओवाद छोडेर गम्भीर गल्ती गरेको बताउदै अन्तत: प्रचण्ड जीवन रक्षाको लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को शरणमा आउनुको बिकल्प नहुने ठोकुवा गरेका छन्। सोमबार सो पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिको सातौ पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाको उदाहरण पेस गर्दै साम्राज्यवादीहरुले प्रचण्डको पनि सोहि हालत बनाउने ठोकुवा गरे।
प्रवक्ता प्रकाण्ड सीले देश र जनताको मुक्तिको खातिर नयाँ कम्युनिष्ट केन्द्र निर्माण गर्नुको विकल्प नभएको बताउदै नेपलको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने ऐतिहासिक आवश्यकता र राष्ट्रको स्वाधिनतामाथि साम्राज्यवादी नाङ्गो हस्तक्षेप एवं दलाल पूँजीवादका विरुद्धको संघर्षको आवश्यकतालाई आधार बनाएर नयाँ कम्युनिष्ट केन्द्र निर्माणको नीति अगाडी सारिएको र यो नयाँ विचार भएको बताए ।
उनले क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट खराब तत्वहरुको वहिर्गमन र कम्युनिष्ट आन्दोलन भित्र भएका क्रान्तिकारी नेता एवं कार्यकर्ताहरुको प्रविष्ट निरन्तर भइरहने उल्लेख गर्दै नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको ऐतिहासिक पहलकदमी लिइराखेको नेकपाको जीवनमा लागू भएको शुद्धिकरणको नियमको रुपमा क्रान्तिकारीहरुको आगमन र अवसरवादीहरुको पलायनलाई बुझ्नु पर्ने बताए।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले देशको संकटग्रस्त अवस्थाको जिम्मेवार तत्व दलाल पूँजीपति वर्ग, दलाल संसदीय राज्य व्यवस्था र दलाल नेतृत्व भएको उल्लेख गर्दै नेपाली जनताले गरेको संघर्ष, ११ वर्षदेखि चलाएको एकीकृत जनक्रान्ति र वर्तमान जेन–जी विद्रोह उपरोक्त समस्याको अन्त्य गर्नका निम्ति भएको बताए । उनले दलाल पूँजीवादी संसदीय राज्य व्यवस्था र दलाल एवं भ्रष्ट नेतृत्वको पुर्नसंरचना नै विगत जनसंघर्ष, जनक्रान्ति र जेन–जी विद्रोहको उद्देश्य एवं आम जनचाहना भएको ठोकुवा गर्दै देश र जनताका अगाडीका डरलाग्दा समस्याको एकमात्र सर्वस्वीकार्य समाधान भनेको राज्यको अग्रगामी पुर्नसंरचना मात्रै भएको बताए ।

प्रवक्ता प्रकाण्ड सीले देशको स्वाधिनता र नेपाली जनताको स्वनिर्णयको अधिकारलाई स्थापित गर्ने अग्रगामी वा क्रान्तिकारी राजनीतिक मार्गचित्र भनेको नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था स्थापना गर्नु भएको र यो लक्ष्यमा देशलाई पु¥याउनका निम्ति परिपुरक अन्तरिम राजनीतिक कार्यक्रम आवश्यक भएको बताए । उनले जेन–जी विद्रोहपछि पार्टीले आयोजना गरेको केन्द्रीय समितिको तेस्रो विशेष बैठकबाट स्वच्छ राजनीतिक व्यक्तित्वको नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकारको गठन, राज्यको पुर्नसंरचना, संविधानको पुर्नलेखन वा नयाँ लेखन, नयाँ जनादेश लिन साम्राज्यवादी हस्तक्षेप रहित नेपाली जनताले स्वनिर्णयको राजनीतिक अधिकारको निर्विवाद प्रयोग गर्न पाउने आम निर्वाचन, आवश्यकताको सिद्धान्त आकर्षित गरी अन्तरिम कार्यका निम्ति नीति, कानुन र विधिको निर्माण, अर्थतन्त्रलाई भ्रष्टाचारको चंगुलबाट मुक्त गर्नका निम्ति भ्रष्टाचारीलाई कारवाही गर्न स्वच्छ छवि भएका विज्ञ सम्मिलित भ्रष्टाचार छानबिन आयोगको गठन, भ्रष्टाचारीलाई सर्वश्व जफत सहित आजीवन जेल सजाय दिन अधिकार सम्पन्न विशेष अदालतको गठन, देशभित्र रोजगारी सिर्जना गरी विदेशिन वाध्य लाखौँ युवालाई स्वदेश फिर्ता, जनताको आवास, शिक्षा, स्वास्थ्यको राज्यद्धारा निशुल्क व्यवस्था, भूमिहीन किसानलाई निशुल्क जमिनको व्यवस्था, देशको अर्थव्यवस्था माथि साम्राज्यवादी निगम पूँजीको हस्तक्षेप बढाउने संयन्त्रको काम गर्ने आइएनजिओमाथि प्रतिवन्ध र नेपाली जनताको धार्मिक स्वतन्त्रताको रक्षा गर्दै साम्राज्यवादी धर्म परिवर्तन र धार्मिक अतिक्रमणमा प्रतिवन्धलगायतका राजनीतिक कार्यक्रम अगाडी सारेको बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जेनजी विद्रोह पछि नेपालको राजनीतिक आन्दोलनमा नयाँ मोड आएको तथ्य प्रस्तुत गर्दै यसको निकासको सर्वपक्षीय अन्तरिम सरकार बन्नुको बिकल्प नभएको बताए। उनले नेपालका कम्युनिस्ट आन्दोलनमा रहेका इमानदार नेताकार्यकर्ताहरुसङ्ग एकता गर्ने र देश र जनतालाई माया गर्नेहरूसङ्ग सहकार्य गर्ने पार्टीको नीति रहेको बताउदै आफ्नो पार्टी जनताका मुद्दामा स्वतन्त्र रूपमा चुनावमा जाने र मुद्दा मिल्नेहरुसङ्ग सहकार्यको ढोका खुल्लै राख्ने बताए । उनले महिलाको श्रमलाई पुँजीमा बदलनी पर्ने बताउदै अव हुने निर्वाचनमा बिशेष अधिकारसहित राज्यको हरेक निकायमा ५१प्रतिश्त महिला सहभागिता निश्चित गर्ने बताए ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष बन्धु सीको अध्यक्ष्यतामा बसेको उक्त बैठकले ‘ परनिर्भरता र महिला उत्पीडनको विरुद्ध हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र समाजवादको पक्षमा आठौं राष्ट्रिय सम्मेलन ‘ भन्ने मूल नाराका साथ आगामी फागुन २४ २५ र २६ गते आठौं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।
