वर्तमान राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

२०८२ मंसिर २८ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताएका छन। नेकपा एमालेको ११ औँ महाधिवेशनलाई शुभकामना दिँदै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले वर्तमान सुशीला नेतृत्वको सरकार अवैधानिक भएकाले समर्थन गर्न नसकिने बताउदै राजनीतिक दल विना मुलुकको समृद्धि सम्भव नभएको बताए । उनले भने- ‘देश जटिल परिस्थितिमा छ । दल छन्, देश छ नेताहरू पनि छन् । तर आज राज्य कहाँ छ ? राज्य छ कि छैन भन्ने प्रश्न उब्जेको छ । यस्तो जटिल परिस्थितिमा महाधिवेशन हुन लाग्दैछ’, विप्लवले भने, ‘एमालेमाथि थुप्रै प्रश्न छ सायद त्यसको जवाफ दिन एमालेले यो कार्यक्रम गरिएको होला ।’
महासचिव विप्लव सीले राजनीतिक दलहरूले यो देशमा धेरै दुःख गरेका छन् तर जनताका अपेक्षा अधुरै रहेको बताए । उनले भने- ‘परिस्थितिको तरलतालाई प्रयोग गर्दै साम्राज्यवादी तत्त्वहरूले संसारभर स्वार्थका निम्ति हाम्रा जस्ता देशका प्राकृतिक स्रोत साधन दोहन गर्न आफ्ना कठपुतली लाद्ने खेल चलिरहेको छ। आज एमालेमा भयङ्कर हमला छ । हमला हुनुको एउटा कारण नेकपा एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान राख्दै आउनु पनि हो ।’

प्रतिक्रियाहरु

[anycomment]