ट्वीटरको नयाँ लोगोमा कुकुरको चित्र !
काठमाडौं । ट्वीटरको लोगो फेरिएको छ । ट्वीटर लोगोमा निलो चरा हटेर कुकुरको चित्र ल्याइएको छ । अब ट्वीटरमा लगअन गर्ने बित्तिकै कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ । विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ । हाल मस्कले उक्त क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेलिरहेका छन् । त्यो मुुद्दा म्यानहटन अदालतमा जारी छ । मस्कमाथि डोजेक्वाइनको पिरामिड शैलीबाट रकम उठाएको तथा क्रिप्टोकरेन्सीमार्फत् नै ठगी तथा जुवा खेलाएको पनि आरोप छ ।
ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन् । मस्कले एउटा ट्वीटर मार्फत् ट्वीटरको लोगो उक्त डगी नै भएको पुष्टि गरेका छन् । यसअघि कतिपय प्रयोगकर्ताहरुले ट्वीटर ह्याक भएर त्यस्तो भएको हुनसक्ने अड्कलबाजी गरेका थिए । तर त्यसको केहीबेरपछि मस्कले ट्वीट गरेका थिए । ट्वीटरको लोगो परिवर्तन भएसँगै ट्वीटरमा ३म्इन्भ् ह्यासट्याग ट्रेन्डिङ भएको छ ।
मस्कले एउटा तस्वीर ट्वीट गरेका छन् । त्यसमा ट्वीटरकै लोगोमा भएको उक्त कुकुर कारको चालक सिटमा बसेको छ र ट्राफिक पुलिसलाई आफ्नो लाइसेन्स देखाइरहेको छ । उक्त लाइसेन्समा ट्वीटरको पूरानो लोगोको रुपमा रहेको निलो चराको फोटो देखिन्छ ।
स्मरण रहोस् एलन मस्कले डगीका विषयमा पहिले नै संकेत दिएका थिए । गत फेब्रुअरीमा उनले सोही कुकुरको एउटा फोटो ट्वीट गरेका थिए । त्यसको क्याप्सनमा मस्कले ट्वीटरको नयाँ सिइओ गज्जबको रहेको उल्लेख गरेका थिए ।
तस्वीरमा उक्त कुकुर ट्वीटरको सिइओको कुर्सीमा बसेको देखिन्थ्यो । त्यसको अगाडिको टेबलमा एउटा कागज राखिएको थियो जसमा कुकुरको नाम ‘फ्लोकी’ लेखिएको थियो । त्यसको तल उसको पद ‘सिइओ’ लेखिएको थियो । यद्यपि उक्त कागजमा ट्वीटरको पुरानै लोगो थियो । मस्कले त्यो पुरानो लोगोलाई सोही कुकुरको तस्वीरले परिवर्तन गर्ने कुराको संकेत त्यहीँबाट गरेका भए पनि त्यसबेला कसैले त्यसको अनुमान गर्न सकेनन् । मस्कले मजाक गरेको सम्झिएका थिए ।