लाइसेन्स छापिएको जानकारी एमएमएसबाट पाइने !
काठमाडौं । यातायात व्यवस्था विभागले सेवाग्राहीलाई फेरि मोबाइलमा एसएमएसमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ भएको सम्बन्धी जानकारी दिन थालिएको जनाएको छ । विभागले आज सूचना जारी गर्दै विभागले बुधबारदेखि अनलाइन फारम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रुपमा आफ्नो मोबाइल नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ । आफ्नो सवारी चालक अनुमतिपत्र छपाइ भई कार्यालयमा गए/नगएको जानकारी विभागको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने विभागले बताएको छ । ‘अपुरो विवरण वा अन्य कुनै प्राविधिक कारणले १ वर्ष भन्दा बढी अवधिको स्मार्ट कार्ड छपाइ हुन बाँकी भए सम्बन्धित सेवाग्राहीले सम्बन्धित यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयमा बुझी आवश्यक परेमा आफ्नो विवरण अद्यावधिक गराई विभागमा सम्पर्क गर्दा त्यस्ता सेवाग्राहीको सवारी चालक अनुमतिपत्र यथाशिघ्र छपाइ गरी यस विभागको सहायता कक्षबाट उपलब्ध हुने व्यहोरा समेत अनुरोध छ’ विभागले सूचनमा भनेको छ । यस्तै श्रम तथा अध्ययनमा विदेश जाने नेपाली नागरिकहरु र शान्ति मिसनमा जाने नेपाली सेना एवम् नेपाल प्रहरीको सवारी चालक अनुमतिपत्र भने विभागले सवारी चालक अनुमतिपत्र दर्ता प्रणालीमा अनलाइन निवेदन दिई कुनै रुजु भएको दोस्रो दिनमा विभागको सहायता कक्षबाट उपलब्ध गराइने विभागले जनाएको छ ।