जसले गुगललाई ४ खर्ब जरिवाना तिराए !
काठमाडौँ । ‘गुगलले हामीलाई इन्टरनेटबाट गायब नै बनाइदिएको थियो’, यो भनाइ हो शिवौन राफ र उनका पति एडम राफको । यो दम्पतीले सन् २००६ मा राम्रो पारिश्रमिक भएको जागिर छाडेर मूल्य तुलना गर्ने वेबसाइट फाउन्डेमको सुरुआत गरेका थिए । तर, फाउन्डेममा सर्च इन्जिनको एउटा अटोमेटिक स्पम फिल्टर्सका कारण गुगलले सर्च जरिवाना लगायो, जसको असर फाउन्डेमको व्यवसायमा पर्यो ।
वास्तवमा उक्त जरिवानाका कारण इन्टरनेटमा मूल्य तुलना अर्थात् प्राइस कम्पेरिजन तथा कम्पेरिजन शपिङ जस्ता सर्च रिजल्टहरुको सूचीमा फाउन्डेम निकै पछाडि परेको थियो ।
उसैपनि स्टार्टअप सुरु गर्ने संस्थापकहरुका लागि स्टार्टअपको सुरुआतको पहिलो दिन रोमान्चकता तथा आशंकाहरुले भरिएको हुन्छ । तर, शिवौन र एडमका लागि यो त्यसभन्दा पनि निकै खराब थियो । उनीहरुले यति खरा होला भन्ने अनुमान नै गरेका थिएनन् ।
वास्तवमा फाउन्डेममाथि गुगल सर्च पेनाल्टी लादिएका कारण राफ दम्पतीको वेबसाइटलाई पैसा कमाउन निकै गाह्रो परिरहेको थियो ।
फाउन्डेमको आम्दानी मोडेल यस्तो थियो कि जब ग्राहकहरु अन्य वेबसाइटका माध्यमबाट उनीहरुको प्रडक्टको सूचीमा क्लिक गर्दथे तब फाउन्डेमले उनीहरुबाट शुल्क लिन्थ्यो ।
गुगलमाथि लाग्यो जरिवाना
एडम भन्छन्, ‘हामी आफ्नो वेबपेजमा हेरिरहन्थ्यौं कि आखिर पेजको वरीयता कस्तो छ भनेर । त्यसबेला पेजको वरीयता सबै तुरुन्तै गिरेको हामीले देख्यौं ।’
फाउन्डेमका लागि पहिलो दिन योजना अनुसार रहेन । त्यसले एउटा कानुनी लडाइँलाई जन्म दियो, जुन १५ वर्षसम्म चल्यो । र, अन्ततः गुगलमाथि २ अर्ब ४० करोड पाउन्डको कीर्तिमानी जरिवाना लाग्यो । यो मुद्दामा के ठहर गरियो भने गुगलले बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको छ । यो मामिलालाई गुगलको वैश्विक नियमनमा एउटा ऐतिहासिक क्षणको रुपमा हेरिएको छ ।
यद्यपि गुगलले सन् २०१७ को जुन महिनामा भएको उक्त फैसलाको विरुद्धमा अदालतमा सात वर्ष लामो लडाइँ लड्यो । तर, गत सेप्टेम्बरमा युरोपको शीर्ष अदालत युरोपियन कोर्ट अफ जस्टिसले गुगलको पुनरावेदनलाई खारेज गरिदियो ।
उक्त फैसलापछि एक रेडियोसँगको कुराकानीमा पुराना दिन सम्झिँदै ५५ वर्षीय शिवौनले भनिन्, ‘सुरुमा त हामीलाई भुलवस हाम्रो वेबसाइटलाई स्पामको रुपमा लिइयो कि भन्ने लाग्यो । सही ठाउँमा गुनासो गरेपछि त्यो गल्ती सच्चिनेछ भन्ने हामीलाई लागेको थियो ।’
५८ वर्षीय एडम भन्छन् – यदि तपाईंको वेबसाइटमा कुनै पनि खालको ट्राफिक प्राप्त हुँदैन भने तपाईंको त्यहाँ कुनै पनि व्यवसाय हुँदैन ।
राफ दम्पतीले सो प्रतिबन्ध हटाउनका लागि गुगलसँग धेरैपटक अनुरोध गरे । तर, दुई वर्षको समय बितिसक्दा पनि त्यो परिस्थितिमा कुनै परिवर्तन भएन र गुगलले कुनै जवाफ दिएन ।
शिवौनका अनुसार उनको वेबसाइट गुगल बाहेकका अन्य सर्च इन्जिनमा चाहिँ पूर्णरुपमा सामान्य तरिकाले माथि नै देखिएको थियो । तर, धेरैजसो मानिसले गुगलकै प्रयोग गर्ने भएकाले अन्य सर्च इन्जिनमा वेबसाइटको वरीयताले कुनै प्रभाव पारेन ।
पछि उनीहरुलाई थाहा भयो कि गुगलले यस्तो घाटा पुर्याइरहेको वेबसाइट केवल उनीहरुको मात्र एक्लो होइन । जब सन् २०१७ मा गुगललाई दोषी ठहर गरी जरिवाना गरियो तब थाहा भयो कि फाउन्डेमका अलावा केल्कू, ट्रिवागो तथा येल्पो समेत २० वटा यस्ता वेबसाइट थिए जसलाई गुगलको सर्च पेनाल्टीले ठूलो नोक्सानी भइरहेको थियो ।
युरोपेली आयोगले के भन्यो ?
एडमले सुपर कम्प्युटिंगमा आफ्नो करिअर बनाएका थिए । अघिल्लो कार्यालय बाहिर चुरोट पिउँदै गर्दा उनलाई आफ्नै फाउन्डेम वेबसाइट खोल्ने आइडिया फुरेको थियो । त्यो समय वस्तु तथा सेवाको मूल्य तुलना गर्ने वेबसाइटहरु सुरुआती चरणमा थिए । त्यस समय हरेक वेबसाइटहरु कुनै एउटा विशेष उत्पादनका बारेमा मात्रै विशेषज्ञता राख्दथे । तर, फाउन्डेम ती सबैभन्दा फरक थियो । त्यहाँ ग्राहकहरुसँग कपडादेखि उडानसम्मका मूल्यहरुको तुलना गर्ने मौका थियो ।
शिवौनसँग विभिन्न विश्वव्यापी ब्राण्डहरुमा सफ्टवेयर सल्लाहाकारको रुपमा काम गरेको अनुभव पनि थियो । त्यसैले त्यसबेला फाउन्डेम यस्तो गज्जबको थियो कि अरु कुनै वेबसाइटहरु फाउन्डेमसँग तुलनायोग्य नै थिएनन् ।
युरोपेली आयोगले सन् २०१७ मा आफ्नो फैसलामा भनेको कि गुगलले गैरकानुनी ढंगबाट सर्च रिजल्टमा आफ्नै कम्पेरिजन शपिङ सर्भिसलाई बढावा दिएको छ र प्रतिस्पर्धी वेबसाइटहरुलार्य पछाडि धकेलिदिएको छ ।
१० वर्षअघि जब फाउन्डेमको स्थापना भएको थियो त्यस समयको सम्झना गर्दै एडम भन्छन् कि त्यसबेला गुगलले अनलाइन शपिङको मामिलामा जानीबुझी प्रतिस्पर्धा विरोधी रबैया अपनाइरहेको छ भन्ने कुरा कल्पनै गर्न सकिने ठाउँ थिएन । त्यसबेला फाउन्डेम त्यस क्षेत्रमा कुनै सशक्त खेलाडी पनि थिएन ।
जब शंका उत्पन्न भयो
सन् २००८ को अन्तिमसम्ममा राफ दम्पतीलाई सो मामिलामा केही गडबडी पक्कै रहेको शंका लाग्न थाल्यो । क्रिसमसभन्दा ३ हप्ताअघि उनीहरुले एउटा मेसेज प्राप्त गरे । त्यसमा चेतावनी दिइएको थियो कि उनीहरुको वेबसाइट लोड हुनमा अचानक सुस्तता आएको छ ।
सुरुमा त उनीहरुलाई साइबर हमलाका कारण त्यस्तो भएको जस्तो लाग्यो । वास्तवमा त्यतिबेला फाउन्डेम एक हदसम्म लोकप्रिय बनिसकेको थियो । धेरै मानिसहरु उनीहरुको वेबसाइट भिजिन गर्न चाहिरहेका थिए । च्यानल फाइभको द ग्याजेट शो कार्यक्रममा त फाउन्डेमलाई लण्डनको सबैभन्दा उत्कृष्ट प्राइस कम्पेरिजन वेबसाइटको दर्जा दिइयो ।
गुगल सर्चमा नभेटिने र वेबसाइट खुल्नै समस्या हुन थालेपछि उनीहरुले गुगलसँग सम्पर्क गरे । गुगलका प्रयोगकर्ताले फाउन्डेम सर्च गर्नै नसकेको र गुगलले फाउन्डेमलाई खोजेर फेला पार्नै असम्भव बनाइदिएको गुनासो शिवौनले गुगलसँग गरिन् । तर, गुगलले उनीहरुको कुरा सुनेन । त्यसपछि चाहिँ उनीहरु कानुनी लडाइँमा जाने निधो गरे ।
उनीहरुले सञ्चार माध्यममा गएर आफ्नो कुरा राखे । तर, त्यसबाट पनि सीमित सफलता मात्रै प्राप्त भयो । त्यसपछि उनीहरुले बेलायत, अमेरिका र ब्रसेल्सका नियामकहरुसँग आफ्नो कुरा राखे ।
त्यस समयलाई सम्झिँदै शिवौन भन्छिन् – नियामकले एउटा कुरा जो मसँग भनेका थिए त्यो थियो कि यदि यो प्रणालीकै समस्याको मामिला हो भने यस्तो उजुरी तपाईंले पहिले किन गर्नुभएन?
त्यसको जवाफमा उनले भनेकी थिइन् – हामी शतप्रतिशत त आश्वस्त छैनौं । तर, हामीलाई आशंका छ कि मानिसहरु डराइरहेका छन् किनकि इन्टरनेटमा सबै व्यवसाय अनिवार्य रुपमा गुगलबाट प्राप्त हुने ट्राफिकमा निर्भर छन् ।
धम्की मान्य छैन
राफ दम्पती ब्रसेल्सको एउटा होटलको कोठामा बसिरहेका थिए, जुन युरोपेली आयोगको कार्यालय नजिकै थियो । यो त्यहीँ समय थियो जब प्रतिस्पर्धा आयुक्त मार्गरेथ वेस्टेन्गरले अन्ततः त्यो फैसला सुनाइन् जसको शिवौन र एडमका अलावा अन्य शपिङ वेबसाइटहरुले पनि वर्षौँदेखि प्रतिक्षा गरिरहेका थिए । फैसला आएपछि सबैको ध्यान खुसी मनाउनुभन्दा पनि युरोपेली आयोगले फैसला कार्यान्वयन तत्कालैबाट गराओस् भन्नेमा थियो ।
शिवौन भन्छिन् – यो गुगलका लागि दुर्भाग्यपूर्ण हो, जो उसले हामीसँग यस्तो गर्यो । हामी दुवैजना सायद यस्तो भ्रममा हुर्किएका छौं जहाँ हामीलाई लागेको थियो कि हामीले परिवर्तन ल्याउन सक्दछौँ र वास्तवमा हामीलाई धम्काउनेहरु मन पर्दैन ।
गत महिना गुगलले व्यहोरेको हारका बाबजुत पनि यो दम्पतीको लडाइँ सकिएको छैन । गुगलको रबैया अझै पनि प्रतिस्पर्धा विरोधी नै रहेको र युरोपेली आयोगले यो मामिलामा अनुसन्धान गरिरहेको उनीहरुको भनाइ छ ।
गत मार्च महिनामा आयोगले आफ्नो नयाँ डिजिटल मार्केट ऐनअन्तर्गत गुगलको मातृ कम्पनी अल्फाबेटको विरुद्धमा अनुसन्धान सुरु गरेको थियो । उक्त अनुसन्धानको उद्देश्यचाहिँ गुगलले अझै पनि सर्च रिजल्टमा आफ्नै सेवाहरुलाई प्राथमिकता दिने गरेको छ वा छैन भन्ने कुरा पत्ता लगाउनु रहेको छ ।
गुगल के भन्छ ?
गुगलका एकजना प्रवक्ताले भनेका छन् – युरोपेली न्यायिक अदालतको फैसला केवल हामीले सन् २००८ देखि २०१७ सम्म प्रडक्ट रिजल्टलाई गुगल सर्चमा कसरी देखायौं भन्ने कुरासँग मात्रै सम्बन्धित छ । युरोपेली आयोगको फैसलाको पालना गर्नका लागि हामीले सन् २०१७ मा जुन परिवर्तन गरेका थियौं त्यसले ७ वर्षभन्दा लामो समयसम्म राम्ररी काम गरेको छ र ८०० भन्दा धेरै कम्पेरिजन शपिङ वेबसाइटहरुको माध्यमबाट अर्बौं क्लिक प्राप्त भएको छ ।
त्यसैले गुगलले फाउन्डेमको दाबीहरुको कडा विरोध गरिरहने र अदालतमा समेत यस विषयमा त्यसको विरोध गर्ने उनको भनाइ छ । राफ दम्पतीले पनि गुगलका विरुद्धमा अर्को मुद्दा हाल्दैछन्, जसको सुनुवाइ सन् २०२६ को पहिलो अर्धवार्षिकतिर हुनेछ । तर यो दम्पतीलाई यसमा अन्तिम जित प्राप्त भए पनि उनीहरुलाई कुनै खासै धेरै आर्थिक फाइदा हुनेछैन । किनकि गुगल सिर्जित समस्याका कारण उनले सन् २०१६ मा फाउन्डेम बन्द गर्नुपरेको थियो ।
गुगलविरुद्धको त्यो लामो लडाइँ राफ दम्पतीका लागि निकै कठिन रह्यो । एडम भन्छन् – मलाई लाग्छ कि यदि हामीलाई यो लडाइँ यतिधेरै वर्षसम्म चल्छ भन्ने थाहा भएको भए हामीले मुद्दामा जाने यस्तो निर्णय नै गर्दैनथ्यौं । – बीबीसीबाट