चुनावी हतियार र क्रान्तिको प्रश्न
क्रान्तिकारीहरुको उद्देश्य दुश्मनलाई कमजोर बनाउने र चुनौती खडा गर्नुपर्ने हुन्छ । विप्लवको पछिल्लो संश्लेषणले दुश्मनलाई कमजोर बनाउछ र क्रान्तिकारी पार्टीलाई बलियो बनाउछ । संसद्मा र चुनावमा दुश्मनलाई निर्विकल्प छाड्नु बुद्धिमानी हुन्छ कि दुश्मनलाई चुनौती खडा गर्नु बुद्धिमानी हुन्छ भन्ने आजको प्रश्न हो । प्रकाण्डको शब्दमा क्रान्तिकारीहरुले जित्ने बाटो रोज्नु पर्छ । संसद्भित्रैबाट संसद्को र व्यवस्था विरुद्वको आगो बाल्नु जित्ने एउटा सही तरिका हो । संविधानसभामा पहिलो भएको एउटा कमजोरी थियो त्यो हो नेतृत्वको आत्मसमर्पण । यदि त्यसो नभएको भए वा त्यो दुर्घटनाबाट बच्न सकेको भए त्यो कार्यनीति सही थियो । हामीले दुश्मनलाई संसद्भित्र पनि असुरक्षित बनाउने रणनीति बनाउनु पर्छ । महासचिवको दुरदृष्टिलाई पार्टीका सबै सदस्यले बुझ्न सक्नुपर्छ । हामीले गाउँपालिका भित्रैबाट संसदीय व्यवस्था विरुद्वको संघर्ष किन नगर्ने ? बहिस्कारबाट थवाङ र मालकोट जस्ता हाम्रा आधार क्षेत्रलाई पनि बचाउन सकेनौ नी त । यो हाम्रो कार्यनीतिको कमजोर थियो । त्यसको सट्टा चुनावलाई उपयोगको कार्यनीति बनाएर थवाङ र माल्कोटलाई नमूना समाजवादी गाउँ बनाउन सकेको भए क्रान्तिको जित हुन्थ्यो । आज प्रतिक्रियावादीहरुको चाहना छ कि क्रान्तिकारीहरु युद्धमा जाउन, सशस्त्र संघर्षमा जाउन, बहिस्कारमा जाउन र राष्ट्रिय रुपमा एक्लिदैं जाउन । हामीलाई एक्ल्याउनु वा अल्पमतमा पार्नुलाई उनीहरुको जित्ने सुत्र बनेको छ । हामी दुश्मनले चाहे जस्तो बन्नु हुँदैन । हामीले जान अन्जानमा दुश्मनलाई सहज बनाइदिनु हुँदैन । हामीले मूलधारको संघर्षलाई पछ्याउनु पर्छ । हामीले वैधानिक संघर्षलाई विकल्पको रुपमा खडा गर्नुपर्छ । खाली असंवैधानिक संघर्ष वा असंवैधानिक बाटा मात्र खोज्नु हुँदैन । संसदीय चुनावलाई पनि क्रान्तिको हतियार बनाउने निर्णय सबैभन्दा सही हुन्छ । चुनावमा दुश्मनलाई सुरक्षित बनाउने नीति बनाउनु दुरदर्शी हुँदैन । कमरेड विप्लव प्रत्यक्ष युद्धको फिल्ड कमाण्डर भएको हुनाले युद्ध जित्ने उपाय वा संश्लेषणलाई सकारात्मक र उत्साहजनक ढंगले हेर्नुपर्छ । लडाईँ वा युद्धमा दुश्मनलाई कमजोर बनाउने र असुरक्षित बनाउने ढंगले सोंच्नु पर्छ । दुश्मनलाई नै सुदृढ बनाउने कार्यनीतिले प्रतिक्रान्तिलाई बलियो बनाउँछ । क्रान्तिकारीहरुले वस्तुलाई उल्टाई पल्टाई पनि हेर्नुपर्छ, खाली एकांकी संश्लषेण गर्नु हुँदैन । चुनाव बहिस्कार गर्दा र उपयोग वा प्रयोग गर्दा के भनेर विश्लेषण गर्न सक्नुपर्छ । मेरो त निष्कर्ष छ कि हामीले किरण जीको नेतृत्वमा हुँदा नै उपयोग वा प्रयोगको कार्यनीति बनाएको भए आज माओवादी आन्दोलनको मूलधार हामी हुने थियौं र त्यो पुरानो संगठन हामीसँग हुने थियो । सचेततापूर्वक संसदीय चुनावको प्रयोग गर्ने हो भने हामीले छिट्टै यो व्यवस्थाको अन्त्य गर्न सक्छौं । यदि हामीले बहिस्कारको नीति लिएको भए हामी थप एक्लिँदै जाने थियौं । प्रयोगको नीतिले हाम्रो संगठन मजबुद हुँदै जाने छ । आजसम्मको बहिस्कार आन्दोलनको अध्ययनबाट निस्केको संश्लेषण हो कि बहिस्कार आफैं जनताबाट बहिस्कृत छ । हाम्रै परिवारभित्र समेत बहिस्कारको प्रयोग गर्न सक्दैनौं भने बाहिर त टाढाको कुरा । कुनै पनि संघर्षलाई त्यसले ल्याउने परिणामसँग जोडेर मूल्यांकन गर्नुपर्छ । बहिस्कारले दुश्मनलाई वा संसदवादीलाई बलियो, सुरक्षित र सुदृढ बनाउँछ भने प्रयोगले उनीहरुलाई असुरक्षित बनाउँछ । एमसीसी विरोधी आन्दोलनमा एकजना भीम रावलको संघर्ष पनि प्रेरणादायी र उत्साहजनक बन्यो । यो तथ्यलाई क्रान्तिकारीहरुले सही ढंगले संश्लेषण गर्न सक्नुपर्छ । त्यसकारण लडाईँमा दुश्मनको मनोविज्ञान पनि बुझ्नु पर्छ हामीले बहिस्कार गरे उनीहरु खुसी हुन्छन् । हामीलाई जेल, हिरासतमा राख्ने गिरफ्तार गर्ने अनि भूmटा मुद्दा लगाउने योजना बनाएर जंगलमा बस्न बाध्य बनाउँदै उनीहरु सुरक्षित महसुस गर्छन् । त्यसकारण यो उनीहरुको बाटो हो । उनीहरुले सोंचेकै पुरानै बाटोलाई हामीले बदल्नु पर्छ । लडाईँमा बाटाहरु अदलबदल गर्नु र दुश्मनलाई झुकाउनु अनि हैरान पार्नु हाम्रो सफलता पनि हो ।
त्यसकारण चुनाव भनेको संसदवादीहरुको नियमित हतियार हो । चुनावमा पनि उनीहरुलाई बेचैन बनाउने कार्यनीति हामीलाई चाहिन्छ । हामीले चुनावसम्मको लागि नयाँ कार्यनीति बनाउने पर्छ । प्रयोगद्वारा दुश्मनसँग भिड्ने विप्लवको निष्र्कष सही छ । संसदभित्र र स्थानीय निकायभित्र पनि संघर्ष र प्रतिरोधको योजना बनाउने कुरा सही र शाहसीक छ । यो निर्णयले दुश्मनको किल्लामा हल्लीखल्ली मच्चिएको छ । यो निर्णयको प्रभावलाई दुश्मनले बुझिसकेको छ र त हाम्राविरुद्व षड्यन्त्र गर्दैछ । ३ बुँदे ठाउँमा ७ बुँदेको कुप्रचार बल्खु वा पेरिसडाँडामा बुझाउने कुप्रचार यसैका षडयन्त्र हुन । पार्टीलाई विभाजन गराउनेदेखि नेतृत्वलाई बदनामित गराउने षड्यन्त्र हुँदैछ । नेपाली राजनीतिमा दुश्मनका विरुद्वको हमलाको बारेमा सोंच्ने नेता भनेकै एकमात्र विप्लव र प्रकाण्ड हुन् । दुश्मनलाई देख्ने र उसको हतियारलाई बुझ्ने कुरामा उनीहरुको विशेष अध्ययन छ । स्पष्ट छ, चुनाव पनि दुश्मनको हतियार हो र यसलाई खोस्ने योजना हामीले बनाउनु पर्छ ।
प्रयोग र पतनबीचको अन्तर – चुनावको प्रयोगबाट संसदवादमै फसिन्छ कि भन्ने एउटा चिन्ता सही छ । नफसीकन प्रयोग सम्भव छ कि छैन यो अर्को प्रश्न हो । प्रचण्ड र बाबुराम नियोजित रुपमा फसेका हुन भन्ने तथ्यमा स्पष्ट हुन जरुरी छ । यदि संसदीय व्यवस्थामै आत्मसमर्पण नगरेको भए चुनावको बाटो पनि प्रभावकारी साबित हुन सक्थ्यो । त्यसकारण प्रयोग र पतनबीच अन्तर छ । हामीले सचेत प्रयोग गर्नुपर्छ । हामीले संसदभित्रै जनमतसंग्रहको माग गर्ने वातावरण बनाउन सक्छौं कि, त्यो हेनुपर्छ । स्थानीय सरकारमा जनमतसंग्रह र वैज्ञानिक समाजवादको नारा लगाउन सक्छौं कि, त्यो पनि हेर्नुपर्छ । वस्तुगत र आत्मगत परिस्थितिमा ध्यानमा राखेर सम्भाव्यताको खोजी गरिनु पर्छ । हामीले अहिले देखेका छौं कि संसदवादी दलहरुभित्र दुई धुव्रीय संघर्ष र टकराव छ । यो संकट र अन्तरविरोधका बीचबाट विदेशी हस्तक्षेप सशक्त बनेको छ । तत्कालिन सरकारी नेकपाको विघटन पछि हस्तक्षेप तिव्र बनेको छ । पार्टी विभाजन वा एकता अनि ओली सरकारको निरन्तरता वा बर्खास्तीमा शक्ति राष्ट्रहरुको स्वार्थ जोडिएका तथ्यहरु पनि ताजा नै छन् । त्यसकारण प्रयोग नै आजको सही बाटो हो । यो तत्कालिन विषय हो र एक ढिक्का भएर जाँदा क्रान्तिलाई फाइदा पुग्छ । पतन हैन प्रयोगः यो आजको नारा बन्नुपर्छ । प्रयोग प्रभावकारी हुन्छ । यदि सही ढंगले चुनावी रणनीति बनाउन सके संसदभित्र र स्थानीय निकायभित्र पनि हाम्रो मोर्चा बन्ने सम्भावना प्रबल छ ।
चुनावको प्रयोग र ३ बुँदे सहमति – सरकारसँग भएको ३ बुँदे सहमतिको जगलाई बिर्सनु हुँदैन । ३ बुँदे सहमतिको जीवनचक्र पुरा भएको छैन । हामीले गर्ने अहिलेको निर्णयले ३ बुँदेको जगलाई हल्लाउनु हुँदैन । सुदर्शन, कञ्चन र वीरजंगको रिहाई ३ बुँदेकै जगमा भएको हो अन्यथा त्यो सम्भव थिएन । जेलबाट केही नेताहरु बाहिर आउनासाथ ३ बुँदे मान्दिन भन्नु अराजनीतिक हुन्छ । चुनावको प्रयोग वा बहिस्कारको निर्णय गर्दा ३ बुँदेलाई ध्यानमा राख्नुपर्छ । बहिस्कारको नीतिले ३ बुँदे सहमतिलाई उल्टो दिशामा लैजान सक्छ । ३ बुँदे सहमतिको जगमा चुनावको प्रयोग सही छ ।
संसदवादी टकरावमा क्रान्तिकारीको प्रयोग – संसदवादी टकरावलाई क्रान्तिमा प्रयोग गर्ने नीतिको विकास गर्नुपर्छ । चुनावलाई उनीहरुले जीवनमरणको विषय ठानेका छन् । हामीले उनीहरुलाई सजिलो बनाइदिनु हुँदैन । विगतमा हामीले बहिस्कार गरेका कारण उनीहरु सुदृढ बने । पहिलो बहिस्कारमा हामीले एउटा गलत नीतिको अभ्यास ग¥यौं, त्यो हो – छानी छानी माओवादी हराउ अभियान । वस्तुलाई उल्ट्याएर हेर्नुपर्छ । यदि उपयोग वा प्रयोग गरेको भए के हुन्थ्यो ? अहिले हामीले सशक्त बहिस्कार गर्न मिल्ने अवस्था छैन । शालिन र भद्र बहिस्कारलाई जनताले पटक्कै मन पराउने छैनन् । जनताले भनेका छन्– सक्छौं भने चुनाव नै हुन नदेउ, ध्वस्त बनाउ र व्यवस्था नै ढाल । अहिले भर्खरै यो सम्भावना छैन । यो चुनावमा शालिन र भद्र बहिस्कारको कुनै अर्थ छैन । त्यसकारण तत्कालिन रुपमा चुनावको प्रयोग सही हुन्छ । प्रयोगको निर्णयबाट संसदवादीहरु अत्तालिएका छन् । उनीहरु भन्दै छन्– कम्तीमा संसद् र स्थानीय निकायभित्र त हामी सुरक्षित थियौं तर, अब त गाह्रो हुने भयो । स्थानीय निकायभित्र पसेर भ्रष्टाचारविरुद्वको संघर्ष प्रभावकारी बन्न सक्छ ।
अहिले संसदवादीहरु दुई धुव्रमा विभाजित बनेका छन् । उनीहरुभित्र शत्रुतापूर्णं र निषेधपूर्णं संघर्ष छ । यो टकरावको बीचबाट हामीले नयाँ संघर्ष छेड्नु पर्छ । हामीले लगाउने निम्न नाराहरु प्रभावकारी बन्ने छन्– वृहत कम्युनिष्ट एकता, वृहत राष्ट्रिय एकता र जनमतसंग्रह । यस सँगसँगै प्रगतिशील संयुक्त सरकार र जनमतसंग्रह दुई अभिन्न भाग हुन् । त्यसकारण चुनावको प्रयोग हुँदै हस्तक्षेपसम्म पुग्ने हाम्रो नीति हुनुपर्छ ।