संवैधानिक परिषद संविधान र कानुन विपरीत : बार

२०७० बैशाख २५ गते, बुधबार


काठमाडौं,– नेपाल बार एसोसिएसनले पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा गरिएको नियुक्तिको विरोध गरेको छ । प्रधानन्यायाधीशसमेत रहेका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषदले पूर्व मुख्यसचिव कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेर स्वतन्त्र न्यायपालिकाको मर्ममा प्रहार गरेको ठहर गरेको छ । कार्कीले अख्तियार प्रमुखको नियुक्ति र सपथ लिएकै दिन बुधबार बारले विज्ञप्ति जारी गरी संवैधानिक परिषदले संविधान, कानुन र स्वयं सर्वोच्च अदालतको आदेशविपरीत अख्तियार प्रमुखमा कार्की नियुक्तिको विरोध जनाएको हो ।विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले लोकमानसिंह कार्कीविरुद्ध परेको रिट निवेदनमा गरेको आदेशमा समेत स्पष्ट रुपले संवैधानिक र कानुनी व्यवस्थाको स्मरण गराएकोमा उक्त आदेशसमेतको बेवास्ता गर्दै भएको संवैधानिक परिषदको सिफारिसले अदालतको विचाराधीन विषयलाई प्रभावित पार्दै स्वतन्त्र न्यायपालिकाको मर्ममा समेत प्रहार गरेको छ । कानुन र संविधानले स्पष्ट किटान गरेको योग्यताविरुद्ध हुने गरी भएको नियुक्ति आफैमा गम्भीर र रहस्यपूर्ण भएको बारको ठम्याई छ ।’बारले कार्कीको नियुक्तिको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनमाथि भएको हस्तक्षेपको समेत विरोध जनाएको छ । शान्तिपूर्ण विरोध र धर्ना कार्यक्रमप्रति अंकुश लगाउने कार्यले मुलुक निरंकुशतातर्फ उन्मुख हुँदै गइरहेकोप्रति लोकतान्त्रिक मुल्य मान्यतामा प्रतिबद्ध सबै सचेत रहन बारले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रियाहरु

[anycomment]