लोकमानको नियुक्ति अलोकतान्त्रिक: एमाले
काठमाडौं, – राष्ट्रपतिले लोकमानसिह कार्कीलाई अख्तियार दुरपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त गरेकोमा एमालेले खेद व्यक्त गरेको छ ।एमाले केन्द्रीय समितिको बुधबारको बैठकले कार्कीको नियुक्तिप्रति आपत्ति जनाउँदै यो कदमलाई ऐतिहासिक जनआन्दोलनको भावना र परिवर्तनको प्रक्रिया विपरीत भएको ठहर गरेको छ । ‘हाम्रो पार्टीको गम्भीर असहमतिका वावजुद संवैधानिक परिषदबाट निजको नाम नियुक्तिका लागि सिफारिस गरिएको र राष्ट्रपतिज्यूबाट निजलाई उक्त पदमा नियुक्त गरिएको कुराले पार्टी गम्भीर र स्तब्ध भएको छ’ एमालेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘यो कदम ऐतिहासिक जनआन्दोलनको भावना र परिवर्तनको प्रक्रिया विपरीत छ ।’एम्ालेले कार्कीको नाम फिर्ता लिनका लागि मन्त्रिपरिषदका अध्यक्षदेखि राष्ट्रपतिसँग समेत लिखित दबाब दिएको थियो । मन्त्रिपरिषद् अध्यक्षले मंगलबार बालुवाटारमा डाकेको चार शक्तिको बैठकमा पनि एमालेले कार्कीको नाममा आपत्ति जनाउँदै संवैधानिक परिषद्को सिफारिस कार्यान्वयन हुन नहुने अडान राखेको थियो । एमाले नेताहरुले उच्चस्तरीय राजनीतिक समितिमा सुरुमा कार्कीको नाममा समर्थन जनाएपछि मन्त्रिपरिषद् अध्यक्षलाई सिफारिस गरिएको थियो । तर पछि पार्टीले उक्त सहमतिलाई अस्वीकार गरेपछि एमालेले कार्कीको नाम फिर्ता लिने निर्णय गरेको थियो ।
एमाले बैठकले कार्कीलाई नियुक्त गर्ने अलोकतान्त्रिक कदमको विरोधमा उभिएका वरिष्ठ अधिवक्ता शम्भू थापा, कनकमणि दीक्षित लगायत नागरिक आन्दोलनका सहभागीहरुलाई राष्ट्रपति निवास अगाडिबाट गिरफ्तार गरिएकोमा आपत्ति जनाएको छ ।’ऐतिहासिक जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरुमाथि संविधानप्रदत्त नागरिक अधिकारको वर्खिलाप गरिएको यो गिरफ्तारी निन्दनीय छ’ एमालेले भनेको छ, ‘हाम्रो पार्टी यो गिरफ्तारीको तीव्र निन्दा र भर्त्र्सना गर्दछ ।’