२९ र ३० गते नेपाल बन्द

काठमाडौं, लोकमानसिंह कार्कीलाई अख्तियारप्रमुख बनाएको विरोधमा नेविसंघलगायत ११ विद्यार्थी संगठन र सद्भावना पार्टीले २९ र ३३ दलले ३० गते नेपाल बन्दको घोषणा गरेका छन् । ११ विद्यार्थी संगठन र सद्भावना पार्टीले बिहीबार बन्दको घोषणा गरिएकोमा आमाको मुख हेर्ने दिन परेकाले २९ वैशाखमा गर्ने निर्णय गरेका हुन् ।
यस्तै, अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनदेखि नै सडक आन्दोलनमा उत्रिएका नेकपा-माओवादीसहितका ३३ दलले राष्ट्रपतिको कार्यालय घेराउदेखि नेपाल बन्द र मतदाता संकलनको सरकारी अभियान रोक्नेजस्ता कार्यक्रम तय गरेका छन् । ३३ दलको बुधबार बसेको बैठकले २६ वैशाखमा लैनचौर खानी विभागबाट जुलुस निकाली ४ बजेसम्म राष्ट्रपति कार्यालय घेराउ गर्ने, २७ वैशाखमा रत्नपार्कबाट जुलुससहित पुतला दहन गर्ने र २८ वैशाखमा सुन्धाराबाट मसाल जुलुस गर्ने निर्णय गरेको छ ।त्यसैगरी, बैठकले २९ वैशाखमा विद्यार्थी संगठनद्वारा आह्वान गरिएको बन्दलाई समर्थन गर्ने र ३० वैशाखमा नेपाल बन्द गर्ने गरेको छ ।
त्यसबाहेक बैठकले निर्वाचन आयोगको नामावली संकलन कार्यक्रमलाई देशव्यापी जनपरिचालनसहित रोक्ने निर्णय पनि लिएको छ ।