नागरिक समाजले गणतन्त्र दिवसको छुट्टै कार्यक्रम आयोजना गर्ने
काठमाडौ, – नेपाल बार एसोसिएसनमा बिहीबार बसेको पापड आबद्ध संघ/संगठन र नागरिक समाजका अगुवाहरूको बैठकले मुलुक प्रतिगमनको दिशामा अघि बढेको निष्कर्ष निकाल्दै गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आयोजना हुने चियापान कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छन् । । पापड आबद्ध संघ/संगठन र नागरिक समाजका अगुवाहरूको बैठकले प्रतिगमनविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । । उनीहरूले शुक्रबार अपराह्न रत्पार्कस्थित शान्ति वाटिकाबाट विरोध र्याघली निकाल्ने तयारी गरेका छन् । चैत १ गते दलहरूको सहमति र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेशको संवैधानिकतामाथि प्रश्न उठाउँदै त्यसको खारेजीको मागसमेत गरेका छन् ।’जेठ १४ भित्र माग पूरा नभए गणतन्त्र दिवसमा राष्ट्रपतिले आयोजना गर्ने चियापान बहिष्कार गरी नागरिकस्तरमा गणतन्त्र दिवसको छुट्टै कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ,’ बारका उपाध्यक्ष टीकाराम भट्टराईले भने । उनका अनुसार बाधा अड्काउ फुकाउ आदेश र प्रधानन्यायाधीशलाई कार्यपालिका प्रमुख बनाउने कार्य असंवैधानिक हो भन्नेमा पापड आबद्ध संघ/संगठन र नागरिक समाजका अगुवाहरूबीच एक मत छ । ‘मुलुक प्रतिगमनको दिशामा अघि बढेको छ,’ बैठकको निष्कर्षबारे उनले भने, ‘प्रतिगमन सच्याउन आन्दोलनको विकल्प छैन ।’
बैठकले अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गर्न, शाहीकालीन मुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा गरिएको नियुक्ति खारेज गर्न माग गरेको छ । ‘यी माग पूरा नगरी स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बन्दैन,’ उपाध्यक्ष भट्टराईले भने, ‘हाम्रो आन्देालन मुलुकलाई निर्वाचनमा लैजानका लागि हो ।’पापडमा नेपाप बार एसोसिएसन, पत्रकार महासंघ, इन्जिनियर एसोसिएसन, मेडिकल एसोसिएसन, प्राध्यापक संघ र शिक्षक युनियन आबद्ध छन् । छलफलमा पेसागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, बारका पूर्वअध्यक्ष शम्भु थापा, गैरसरकारी संस्था महासंघकी अध्यक्ष सर्मिला कार्की, अधिकारकर्मी सुशील प्याकुरेल, कनकमणि दीक्षित, चरण प्रसाईं, रेणु राजभण्डारीलगायत सहभागी थिए ।