नेपाल भारत गृहसचिव स्तरिय वार्ता सुरु
काठमान्डौ, १८ जेठ । नेपाल–भारत गृहसचिवस्तरीय वार्ता सुरु भएको छ ।वार्ता सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ एवम् व्यवस्थित बनाउने विषयमा केन्द्रित हुने गृह मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले बताए ।“सुरक्षासम्बन्धी आपसी हित र चासोका विविध विषयमा विचारविमर्श हुनेछ,” वार्ताबारे जानकारी दिँदै प्रवक्ता कोइरालाले बताए । गत वर्ष भारतको नयाँदिल्लीमा सम्पन्न वार्ताको समीक्षा पनि हुने उनको भनाइ छ ।
मानव तथा लागुऔषध ओसारपसारका साथै भारतीय जाली नोट, रक्त चन्दन तस्करी रोक्न दुवै देशका अधिकारीले प्रभावकारी उपाय अवलम्बन गर्ने सम्बन्धमा पनि वार्ता केन्द्रित हुने बताइएको छ ।नयाँ दिल्लीमा भएको वार्तामा आतङ्कवादी गतिविधि हुन नदिन दुबै मुलुकबीचको सहयोगलाई थप सुदृढ बनाउने, आपराधिक क्रियाकलाप रोक्न सुरक्षा निकायबीच सूचना आदानप्रदान गर्नेलगायतका विषयमा सहमति भएको थियो ।
यसैबीच, वार्तामा सहभागी भारतीय पक्षका एक सदस्यले नेपाल प्रहरीको क्षमता अभिवृद्धिका निम्ति सक्दो सहयोग गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको बताउँदै दुबै देशका सुरक्षा चासोबारे वार्तामा व्यापक छलफल हुने जानकारी दिए ।वार्तामा भाग लिने १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतका केन्द्रीय गृहसचिव आरके सिंह यहाँ आइपुगेका हुन् । सचिव सिंहले १६ सदस्यीय टोलीको नेतृत्व गर्नुभएको छ भने नेपाली पक्षको नेतृत्व गृहसचिव नवीनकुमार घिमिरेले गरेका छन ।भारतीय टोलीमा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद, सीमा सुरक्षा बलका महानिर्देशक, केन्द्रीय गृह मन्त्रालयका विशेष सचिव, केन्द्रीय मन्त्रिपरिषद्का निर्देशक, विदेश मन्त्रालयका नेपाल मामिला प्रमुख, पश्चिम बङ्गाल राज्यका प्रहरी महानिरीक्षक, विहार राज्यका अतिरिक्त प्रहरी महानिरीक्षक, उत्तर प्रदेश राज्यको गृह मन्त्रालयका प्रमुख सचिव, उत्तराखण्डको पिथौरागढ क्षेत्र हेर्ने प्रहरी नायब महानिरीक्षकलगायत छन् ।
नेपाली टोलीमा गृह, परराष्ट्र, कानुन तथा न्याय मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नयाँदिल्लीस्थित नेपाली नियोगका प्रमुख, मोरङ र पर्साका प्रमुख जिल्ला अधिकारी, अध्यागमन विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकारी छन् ।