प्रचण्डको दिन सकिए : किरण

काठमाडौं, १९ जेठ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले खिलराज रेग्मी नेतृत्वको सरकारले कुनै हालतमा चुनाव गराउन नसक्ने ठोकुवा गरेका छन् । आफूहरुलाई संविधानसभाविरोधिका रुपमा चित्रित गर्ने षडयन्त्र चलिरहेको बताउँदै अध्यक्ष किरणले अन्तरिम चुनावी मन्त्रिपरिषद् विघटन र प्रमुख दलबीचका सहमति खारेज नभएसम्म संविधानसभा निर्वाचनमा भाग नलिने अडान कायम रहेको जानकारी दिए । पार्टी कार्यालय बुद्धनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीको कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’ भएको पनि दोहोर्याए ।
यथास्थितिमा हुने चुनावको कुनै अर्थ नहुने हुनाले आफ्नो पार्टीले चुनावबारे केही सोच्दैनसोचेको र यसैकारण दल दर्ता पनि नगरेको किरणको भनाई छ ।
अध्यक्ष किरणले माओवादीलगायत ३० साना दलसमेत निर्वाचनमा सहभागी नहुने भन्दै हुने भनी हल्ला चलाईएको संविधानसभा निर्वाचन विदेशीको इसारामा भइरहेको दाबी गरे ।
प्रचण्ड मुलुककै एक नंबर झुठा व्यक्ति भएको उल्लेख गर्दै अध्यक्ष किरणले एमाले, कांग्रेसलाई तर्साउनका लागि हामीबच् पार्टी एकता हुन लागेको झुठो हल्ला प्रचण्डले चलाएको बताए । पार्टी एकताको भ्रममा नपर्न कार्यकर्ताहरुलाई उनले आग्रह पनि गरे । प्रचण्डको राजनीतिक धरातल कमजोर भएर गएको उल्लेख गर्दै उनले आफूहरुलाई देखाएर कुप्रचार गर्ने उनका दिन अब सकिन लागेको बताए ।