विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित
काठमाडौ, जेठ १९ – राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन, कर्मचारी संघ र कर्मचारी कल्याण परिषदले माथिल्लो त्रिशुली थ्री ए परियोजनाको क्षमता बढाउने निर्णयको विरोधमा पुन आन्दोलन चर्काएका छन् ।उर्जामन्त्री र सरकार भ्रष्टाचारीको चंगुलमा परेर अर्बौ रुपैयाँ डुबाउने खेलमा लागेको भन्दै आन्दोलन थालेका हुन् । गएको शुक्रबार नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले आयोजनाको क्षमता ६० बाट ९० मेगावाट बनाउने निर्णय गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।
कर्मचारीले आइतबार प्राधिकरणका कुनैपनि गाडी चल्न दिएका छैनन् भने कार्यालय बाहिर नाराजुलुस गरेका छन् । मंगलबारसम्ममा सरकारी निर्णयको विरुद्ध मुद्दा दर्ता गर्ने तयारी पनि भइरहेको राष्ट्रिय कर्मचारी संगठन विद्युत प्राधिकरण इकाइका अध्यक्ष खगेन्द्र शाहीले जानकारी दिए ।
अघिल्लो सरकारका पालामै क्षमता बढाउने तयारी भएपनि त्यतिबेलाका बोर्ड अध्यक्ष मुख्य सचिव लिलामणि पौडेलले क्षमता नबढाउने विश्वास दिलाएका कारण आन्दोलन स्थगित गरेपनि अहिलेको सरकारले हानिकारक निर्णय गरेकाले आन्दोलनमा उत्रिएको उनले बताए ।
अघिल्लो सरकारले तीव्र विवादका विच क्षमता बढाउने सहमति दिएपछि त्यसकै आधारमा निर्णय गरिएको सञ्चालक समितिको दावी छ ।निर्माण समय र लागत बढ्ने, वर्षायाममा मात्र क्षमता अनुसार उत्पादन हुने तथा निर्माणको मोडल पनि हानिकारक रहेको लगायत कारण देखाउदै कर्मचारीले यो निर्णयबाट अर्बौ घाटा लाग्ने दावी गरेका छन् ।खिम्ती र भोटेकोशीमा जस्तै दीर्घकालीन रुपमा घाटा लगाउने षडयन्त्र गरी यो आयोजनाको क्षमता बढाइएको कर्मचारीहरुको आरोप छ । महङ्गा आयोजना लिने र लागत बढाएर विद्युत प्राधिकरणलाई डुबाउने विचौलियाको चंगुलमा परेर उर्जामन्त्री उमाकान्त झा लगायतले यस्तो निर्णय गरेको अध्यक्ष शाहीले दावी गरे ।