एमाओवादीभित्र रडाको

२०७० जेष्ठ २५ गते, शनिबार

काठमाडौ, २५ जेठ । एकीकृत माओवादीभित्र रिक्त पद पूर्ति प्रक्रिया सुरु भएसँगै रडाको मच्चिएको छ । रिक्त रहेको सचिव र कोषध्यक्ष पदमा पदपुर्तिको टुङ्गो लगाउन पटक पटक पदाधिकारीको बैठक बसेपनि निष्कर्शविहीन बन्दै आएको छ ।सचिव र कोषध्यक्षसंगै महासचिवमा समेत कतिपय नेताहरु आकांक्षी दखिएपछि पदाधिकारी बैठक निष्कर्शविहीन बन्दै आएको हो ।भोलिबाट सुरु हुने केन्द्रिय समितिको बैठक अगाडि रिक्त पदपुर्तिको टुङ्गो लगाउन आज पनि पदाधिकारीको बैठक बसेपनि शीर्ष नेताहरु पदपुर्तिको टुङ्गो लगाउन असफल भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकमा सचिव र कोषध्यक्ष पदका आकांक्षी नेताहरुबीच विवाद भएपछि बैठक निष्कर्शविहीन भएको हो ।
महासचिव रहेका पोष्टबहादुर बोगटीलाई उपाध्यक्षमा बढुवा गराएर टोपबहादुर रायमाझी र कृष्णबहादुर महरा महासचिव हुन चाहेको स्रोतको दावी छ । महरा अध्यक्ष प्रचण्ड निकट मानिन्छन् भने रायमाझी उपाध्यक्ष बावुराम भट्टराई निकटका रुपमा चिनिदै आएका छन् ।
यता रिक्त रहेको पद सचिवमा आकांक्षीहरु धेरै भएपछि एमाओवादीले पार्टीमा ५ सचिवको पद सिर्जना गर्ने तयारी गरेको छ । सांगठानिक एजेण्डाका विषयमा सहमति जुट्न नसक्दा यो प्रस्ताव पनि लागू हुन सकेको छैन । स्थायी समिति सदस्य कृष्णबहादुर महरा, अमिक शेरचन, बर्षमान पुन, गिरीराजमणी पोखरेल टोपबहादुर रायमाझीको नाम सचिवका लागि चर्चामा छन् । अमिक शेरचनको नाम कोषाध्यक्षका लागि पनि चर्चामा छ । कोषाध्यक्षकै लागि हिसिला यमीको नाम पनि आएको स्रोतले बताएको छ ।
भोलिबाट सुरुहुने केन्द्रिय समितिको बैठक यी सबै पदहरुको टुङ्गो लगाउने भनिएपनि अहिलेसम्म नेताहरु आन्तरीक सहमती बन्न सकेको छ्रैन् । तर नेताहरुले भोलिबाट सुरु हुने बैठकले सबै विवाद हल गर्ने दावी गरेका छन् । केन्द्रिय समितिको सांगठानिक विषय र उत्पादन बिग्रेडको विषयमा पनि मुख्यरुपमा छलफलहुने एक नेताले जानारी दिएका छन् ।
त्यस्तै बैठकमा नेकपा (एमाले) लगायतका राजनीतिक दलबाट एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेका रामचन्द्र झा, उर्मिला अर्याल तथा अरु नेता तथा कार्यकर्ताहरुलाई दिइने जिम्मेवारीको विषयमा समेत छलफल भएको महासचिव बोगटीको भनाइ छ ।
उहाँले भोलिबाट सुरु हुने केन्द्रीय समितिको बैठकले संविधानसभाको निर्वाचनलगायत पार्टीलाई व्यवस्थित बनाउने खालको योजना अगाडि सार्ने गरी पदाधिकारीको बैठकले एजेण्डा तयार पारेको र बाँकी रहेका विषयलाई भोलि बिहान बस्ने सङ्गठन विभागको बैठकले टुङ्गो लगाउने जानकारी पनि दिनुभयो ।
फरक एक प्रसङ्गमा महासचिव बोगटीले राजनीतिक दलहरुकाबीच विवादित निर्वाचन कानुनलगायतका विषयमा पनि छलफल जारी रहेको र तत्कालै सहमति गर्नुपर्छ भन्नेमा एकमत रहेको जानकारी दिनुभयो ।
“दलहरुका बीच आ–आफ्नै अडान भने कायम छ, तर पनि अडानकै बीचबाट पनि सहमति खोज्नुपर्दछ भनेर पहल भइराखेको छ, महासचिव बोगटीले भन्नुभयो– “मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग आज बिहान भएको छलफल पनि त्यसैमा केन्द्रित रह्यो ।”
एमाओवादीले आजका लागि तय गरेको केन्द्रीय समितिको बैठक तयारी नपुगेको भन्दै भोलिका लागि तय गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]