३३ दलको नया कार्यक्रम
काठमाडौं,१० असार । नेकपा-माओवादी नेतृत्वको ३३ ददीय मोर्चाले १३ गते काठमाडौंसहित देशभर ऐक्यबद्धता ब्यानर प्रदर्शन गर्ने नया कार्यक्रम सार्बजनिक गरेका छन् । ३३ दलको सोमबार बसेको बैठकले असार १३ गते काठमाण्डौलगायत देशका बिभिन्न शहरहरुमा अपरान्ह ४ बजे १५ मिनेट चक्का जाम गरी एक घण्टा ऐक्यबद्धता ब्यानर प्रदर्शन गर्ने र असार २१ गते कालो झण्डासहित मोटर साइकल र्याली निकाल्ने निर्णय गरेको छ ।१३ गते अपराहृन ४ बजेबाट १ घण्टा असन, भोटाहिटी, बागबजार, पुतलीसडक हुदै पद्मोदय चोकसम्म ब्यानर, झण्डा र प्लेकार्ड प्रदर्शन गरिने ३३ दलीय मोर्चाको तर्फबाट माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यथास्थितिमा हुने निर्वाचन अस्वीकार्य भएको भन्दै ३३ दलले प्रतिगामी निर्वाचन बदर गरी आन्दोलनरत अग्रगामी तथा देशभक्त शक्तिहरुसहितको सर्वपक्षीय र सर्वदलीय बैठक बसी राष्ट्रिय राजनीतिक सहमति कायम गर्न माग गरेका छन् ।