राष्ट्रियसभाका १९ सांसदको कार्यकाल सकिँदै

२०७६ फाल्गुन २० गते, मंगलवार

काठमाडौं , २० फागुन । आज राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल सकिँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडासहितको आज राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल सकिन लागेको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
सोमबार कार्यकाल सकिने सांसदहरुमा नेकपाका नौजना रहेका छन् । डा. खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी रहेका छन् ।
त्यसैगरी कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसाइँको कार्यकाल पनि सकिँदैछ ।
राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लालको कार्यकाल पनि सोमबार सकिँदैछ । समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल पनि सोमबार नै सकिनेछ ।
भोलिदेखि राष्ट्रिय सभामा कांग्रेसका ६ जना मात्रै सांसद रहनेछन् । राजपाका दुई र समाजवादी पाएका एकजना सांसद रहनेछन् भने बाँकी नेकपाका रहनेछन् । ५९ सदस्यीय राष्ट्रिय सभा ९ जना मात्रै विपक्षमा रहेका राजनीतिक दलका सांसद रहनेछन् ।
यसैबीच सोमबार दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको बैठकअघि नयाँ बानेश्वरमा सामूहिक फोटो सेसन हुने भएको छ । आजदेखि बिदाइ हुने सांसदहरुले आजको बैठकमा आफ्ना धारणाहरु राख्ने तयारी गरिएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । त्यसैगरी नवनिर्वाचित सांसदहरुको भोलि ११ बजे सपथ हुने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]