आत्मकेन्द्रित शासन निन्दनीय

२०८३ श्रावण १० गते, आईतवार

 प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कार्यशैली, अभिव्यक्ति र प्रशासनिक कार्यका कारण एकपछि अर्को बिबादको घेरामा पर्दै गएका छन् । प्रधानमन्त्री बालेनको कदमहरू लोकतान्त्रिक मूल्यमान्यता र स्थापित शासकीय पद्धति अनुकूल नभएको भन्दै संसद्, सिंहदरबार र कूटनीतिक क्षेत्रमा गम्भीर प्रश्नहरू उठेका छन् । एकातिर प्रधानमन्त्री बालेनको सामाजिक सञ्जाल (फेसबुक–ट्विटर) मा आवेगमा आएर ष्टाटस लेख्ने र पछि हटाउने (डिलीट गर्ने) प्रवृत्तिले राज्यको परिपक्व नेतृत्वमाथि नै प्रश्न उठाएको छ भने अर्कोतिर संसद् र लोकतान्त्रिक संस्थाहरूको उपेक्षाले उनको नियत माथि शंका उपशंका उब्जन थालेका छन् ।

प्रधानमन्त्री बालेन राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको विशेष बैठक वा संसद्को महत्वपूर्ण छलफलहरू बीचैमा छाडेर हिँड्ने, संसद् छलेर अध्यादेशहरू ल्याउने र स्थापित नियमहरू मिचेर निर्णयहरू गरने, बहालवाला वरिष्ठ सचिवहरूमाथि प्रहरी हस्तक्षेप गर्ने र कनिष्ठहरूलाई मुख्यसचिव बनाउने जस्ता निर्णयले उनको अनुदारवादी र आत्मकेन्द्रित शासनलाई उदाङ्गो पारेको छ ।

 यसैगरी, प्रधानमन्त्री बालेनले सिंहदरबारभित्र संस्थागत नियमभन्दा पनि सल्लाहकार संयन्त्रको दबाबमा शासन चलाउन खोज्दा कार्यसम्पादनको साटो भय र आक्रोशको वातावरण सिर्जना भएको छ ।

बालेन प्रधानमन्त्री बनेपछि नेपालका परम्परागत मित्रराष्ट्रहरू (जस्तै अमेरिका, भारत, चीन) का कूटनीतिज्ञ र राजदूतहरूसँग व्यक्तिगत रूपमा भेट्न अस्वीकार गर्दै ‘मिसन मोड’ को कूटनीति अपनाउन खोजे तर उनको यस कार्यलाई कूटनीतिक मर्यादा र स्थापित ‘प्रोटोकल’ मिचेर विदेशी प्रतिनिधिहरूलाई बेवास्ता गर्दा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा असर पर्न सक्ने भन्दै पूर्वप्रशासक र कूटनीतिज्ञहरूले अपरिपक्वताको संज्ञा दिएपछि बल्ल उनको होस खुलेको देखिन्छ ।

 यसैगरी, प्रधानमन्त्री बालेनले सम्बन्धित विभागीय मन्त्रीहरूलाई जानकारी वा सहभागिता नै नगराईकन निजी क्षेत्र, बैंकर्स र उद्योगीहरूसँग एकलौटी रूपमा बैठकहरू डाक्ने गरेका छन् । तालुकवाला मन्त्रालयहरू (जस्तै अर्थ मन्त्रालय वा उद्योग मन्त्रालय) लाई बाइपास गरेर समानान्तर ढंगले शासन चलाउन खोज्दा मन्त्रिपरिषद् भित्रै असमझदारी देखा पर्न थालेका छन्, जसले सुशासनको नारालाई गिज्याइरहेको देखिन्छ ।

यी सबै कुराले के पुष्टि गर्छ भने काठमाडौँ महानगरको मेयर हुँदा चल्ने ‘बालेन शैली’ र सिंगो देशको प्रधानमन्त्री हुँदा निभाउनुपर्ने राज्य सञ्चालनको परिपक्वता फरक कुरा हुन् । कानूनको शासन, कूटनीतिक शिष्टाचार, संसदीय मर्यादा र संस्थागत संयन्त्रलाई कमजोर बनाएर गरिने निर्णयहरू अन्ततः अनुदारवादी र आत्मकेन्द्रित शासनमा परिणत हुन सक्छन् । त्यसैले, आफ्नो आक्रामक कार्यशैलीलाई लोकतान्त्रिक परिधिभित्र ल्याएर जिम्मेवार बन्नु नै प्रधानमन्त्री बालेन, देश र जनता सबैको हितमा हुनेछ, चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]