हुलाक टिकटको अनिवार्य व्यवस्था हटाइयो !
काठमाडौँ । सार्वजनिक सेवा प्रवाहका क्रममा कागजातको आधिकारिकताका लागि प्रयोग गरिँदै आएको हुलाक टिकटको अनिवार्य व्यवस्था हटाइएको छ। अर्थ मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै सार्वजनिक सेवा प्रवाहका क्रममा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यासलाई हटाउने निर्णय भएको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गत मंसिर २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रचलित कानुनमा किटानी व्यवस्था भएकोमा बाहेक अन्य सबै सेवा प्रवाहका प्रक्रियामा हुलाक टिकट टाँस्ने प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको थियो। साेही निर्णयसँगै अर्थ मन्त्रालय अन्तर्गतका सबै निकाय, विभाग र कार्यालयबाट प्रदान गरिने सेवामा अब कागजात प्रमाणीकरणका लागि हुलाक टिकट टाँसिरहनु पर्ने छैन।
प्रचलित कानुनले नै तोकेका विशेष अवस्थामा बाहेक अन्य साधारण कागजातमा अब दशकौँ पुरानो हुलाक टिकट टाँस्ने झन्झटिलो प्रथा पूर्ण रूपमा हटेको मन्त्रालयले सूचनामा उल्लेख गरेकाे छ।
