प्रतिनिधि सभा निर्वाचन सम्पन्न : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।
आयोगकाअनुसार बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए । उनकाअनुसार ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरूले केही केन्द्रमा अझै मतदान गरिरहेका छन् भने खसेको मतको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणअनुसार छिटपुट अवरोधका घटनाबाहेक देशभरको निर्वाचन शान्तिपूर्ण रहेको बताए । उनले मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि ‘निर्वाचन निर्देशिका २०८२’ अनुसार तत्काल मतगणना सुरू गरिने जानकारी दिए ।
आयोगकाअनुसार भौगोलिक रूपमा विकट १५ वटा दुर्गम जिल्लाहरूमा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भइरहेको छ । जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सम्पूर्ण मतपेटिका बिहीबारनै सम्बन्धित मतगणना स्थलमा पुर्याइने लक्ष्य राखिएको छ ।
त्यसैगरी, संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रूकुम, मनाङ, बाजुरा र हुम्लामा भने शुक्रबार बिहान मात्र मतपेटिका मतगणना स्थलमा पुर्याइने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनु भयो ।
