सरकारी कर्मचारीलाई १५ दिनमै तलब !
काठमाडौँ । सरकारले सरकारी कर्मचारीलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ । अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकेको छ ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने बताउदै भने- ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको छ । यो छिट्टै कार्यान्वयन हुन्छ। ’
मन्त्रालयका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय भएको हो । हाल सरकारी कर्मचारीहरुले मासिक रुपमा तलबभत्ता पाउँदै आएका छन् । हरेक महिनाको अन्तिम सातामै सम्बन्धित कर्मचारीको बैंक खातामा तलबभत्ता पठाउने गरिन्छ । तर अब १५ दिनमै तलबभत्ता खुवाउने निर्णय कार्यान्वयन गर्न संघीय निजामती सेवा ऐनमा व्यवस्था गर्नुपर्ने हुन्छ ।
