बास नपाएका नागरिकको झुप्रोमा डोजर जोत्नु अमानवीय, अनैतिक र अपराधिक कार्य

२०८३ बैशाख ११ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सुकुम्बासी बस्तीमाथि सरकारले गरिरहेको जबर्जस्ती हटाउने कार्यको कडा विरोध गर्दै बास नपाएका नागरिकको झुप्रोमा डोजर जोत्नु अमानवीय, अनैतिक र अपराधिक कार्य भएको बताएको छ । सो पार्टीका महासचिव विप्लव सीले फेसबुकमार्फत्सो धारणा सार्वजनिक गरेका हुन्।
महासचिव विप्लव सीले मान्छेको पहिलो आवश्यकता वास र गाँस भएको र राज्यको पहिलो दायित्व आफ्ना नागरिकलाई वास–गाँसको सुनिश्चितता गर्नु भएको उल्लेख गर्दै वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी झुप्रा भत्काउनु अमानवीय, अनैतिक र आपराधिक कार्य भएको बताएका छन्।
महासचिव विप्लव सीद्वारा सार्वजनिक गरिएको धारणामा वास्तविक सुकुम्बासीलाई पहिचान गरेर बसोबासको स्थायी आधार दिनुपर्ने राज्यको कर्तव्य भएको तर त्यसको सट्टा डोजर प्रयोग गरी गरिब जनताको आश्रय नै खोस्ने कार्यले सरकारप्रति जनआक्रोश बढ्दै गएको उल्लेख गरिएको छ।
महासचिव विप्लव सीद्वारा सरकारलाई चेतावनी दिँदै भनेका छन्- “झुप्रा तोड्ने कार्य तत्काल रोकियोस्, वास्तविक सुकुम्बासीको पहिचान गरी उचित बसोबासको व्यवस्था गरियोस्। अन्यथा संघर्षको विकल्प रहने छैन।”
महासचिव विप्लव सीले सरकारको पछिल्लो कदमलाई जनविरोधी कदमको संज्ञा दिँदै सुकुम्बासी बस्तीमाथि भएको ज्यादतीको विरुद्ध सशक्त आन्दोलनको संकेत समेत गरेको छ। यस घटनापछि सुकुम्बासी बस्तीहरूमा त्रासको वातावरण फैलिएको छ भने विभिन्न राजनीतिक तथा सामाजिक संघ–संस्थाहरूले पनि सरकारलाई मानवीय दृष्टिकोण अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]