प्रधानमन्त्री बालेनलाई मार्गप्रशस्त गर्न आग्रह
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेनलाई मार्गप्रशस्त गर्न आग्रह प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेका छन् ।
आजको संसद बैठक सुरु भएलगत्तै राईले प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पालना नगरेको आरोप लगाउँदै भने- ‘यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दाखेरी राम्रो हुन्छ ।’
राईले आजको संसद बैठक सुरु भएलगत्तै अघिल्ला दिनजस्तै उठेर प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यसपछि सभामुख डीपी अर्यालले उनलाई दुई मिनेट बोल्न समय दिए । आफ्ना भनाइ राख्ने क्रममा राईले प्रधानमन्त्री शाह पनि संसद सदस्य भए संसद निमावलीको नियम १५ को उपनियम २ मा भएको व्यवस्था अनुसार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताए ।
आफूले २०८३ साल वैशाख २८ र २९ गते उठाएका प्रश्नको जवाफ नपाएको गुनासो उनले गरे । आफ्ना प्रश्न केही गृह मन्त्रालय र केही रक्षा मन्त्रालयसँग सम्बन्धित रहेको र ती मन्त्रालय हाल प्रधानमन्त्री मातहत रहेकाले त्यसको जवाफ पनि प्रधानमन्त्री बालेन शाहले नै दिनुपर्ने बताए ।
सीमा समस्या खासगरी लिपुलेकसँग सम्बन्धी प्रश्न आफूले राखेको स्मरण गराउँदै राईले भने, ‘हाम्रो नियमावलीमा ७ दिनभित्र जवाफ दिनुपर्छ भन्ने उल्लेख छ तर १० दिन जति भइसक्यो । उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ?’ हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्न पर्छ कि पर्दैन ? कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन ? म यो प्रश्न गर्न चाहन्छु ।’
