राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै
काठमाडौं । २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ मनाइँदै छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा विशेष समारोहका बिच असार १५ गते सो महोत्सव मनाउन लागिएको हो ।
राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालका ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार (करिब ६७ प्रतिशत) धान खेतीमा आबद्ध छन् । कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत भूभागमा धान खेती हुने गरेको छ ।
कृषि गार्हस्थ्य उत्पादनमा धानको हिस्सा १३ प्रतिशत र कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशत रहेको छ । वार्षिक करिब २ खर्ब रुपैयाँ बराबरको योगदान धानबालीले मात्रै मुलुकको अर्थतन्त्रमा पुर्याउँदै आएको छ ।
कृषि विभागका अनुसार विगत पाँच वर्षको तथ्यांक अनुसार धानको क्षेत्रफल क्रमशः घट्दै गए पनि उत्पादकत्वमा भने सुधार आएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा प्रतिहेक्टर ३.८० मेट्रिक टन रहेको उत्पादकत्व वृद्धि भई आव २०८१/८२ मा ४.१९ मेट्रिक टन पुगेको छ । पछिल्लो वर्ष १४ लाख २० हजार हेक्टर क्षेत्रफलबाट ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यद्यपि, नेपालको कुल आवश्यकता करिब ७० लाख मेट्रिक टन रहेकाले अझै वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने देखिएको छ । पछिल्लो समय उपभोक्तामा मसिना र बासनादार चामलको मोह बढ्दा आयात समेत उल्लेख्य भइरहेको कृषि विभागको विश्लेषण छ । यस वर्षको मुख्य प्राथमिकता जलवायु परिवर्तनको असर न्यूनीकरणमा केन्द्रित छ । सन् २०२६ को मध्यबाट सुरु भएको ‘एल–निनो’को प्रभावका कारण दक्षिण एसियासहित नेपालमा खडेरी बढ्न सक्ने आँकलन गरिएको छ ।
विगतमा आएका ठूला बाढी तथा गत वर्षको खडेरीले धान उत्पादनमा पारेको प्रतिकूल असरलाई मध्यनजर गर्दै सरकारले जलवायुमैत्री प्रविधिमा जोड दिएको हो । धानमा आत्मनिर्भर बन्न सरकारले चैते धानको क्षेत्र विस्तार, उन्नत बीउमा अनुदान, र न्यूनतम समर्थन मूल्य निर्धारण जस्ता कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
नार्कले सुख्खा सहन सक्ने (सुख्खा–१ देखि ६ सम्म), डुबान सहन सक्ने (सावा मसुली सब–१ र सेहराङ सब–१) तथा दुवै समस्या झेल्न सक्ने (बहुगुणी–१ र २) जातका बीउहरू विकास गरी किसानसम्म पुर्याएको बताएको छ ।
यसै वर्षदेखि महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (पश्चिम) का ८ स्थानीय तहमा ’धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना’ सुरु गरिएको छ । साथै, २१ जोन र ५ सुपरजोनमार्फत धानमा यान्त्रिकीकरण र मूल्य शृङ्खला विकासका काम भइरहेका विभागले जनाएको छ । खुमलटारमा आयोजना हुने विशेष समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य, कृषि मन्त्रालयका सचिव लगायतको उपस्थिति रहनेछ । कार्यक्रममा उत्कृष्ट कृषक, वैज्ञानिक, उद्यमी र सञ्चारकर्मीलाई पुरस्कृत गरिने छ । समारोहपछि सामूहिक रोपाइँ कार्यक्रम समेत तय गरिएको छ ।
