आज र भोलि पश्चिम तराईका पाँच जिल्ला बन्द

२०७० बैशाख ३ गते, मंगलवार

काठमाडौ, दाङ लालमटियाकी ललितपुरमा कमलरी बसेकी बालिकाको हत्या गरिएको भन्दै पूर्वकमलरीहरुले मंगलबार र बुधबार दुई दिन पश्चिम तराईका पाँच जिल्ला बन्द आह्वान गरेका छन्। बन्दका कारण दाङ लगायत पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कन्चनपुरको जनजीवन प्रभावित बनेको छ। लालमटियाकी १२ वर्षीया सृजना चौधरीको हत्या भएको दावी गर्दै पूर्वकमलरीहरुले हत्यामा संलग्नलाई तत्काल कारबाहीका लागि दबाब दिन बन्द गर्नुपरेको जनाएका छन्। सृजनाको चैत १४ मा आफू कमलरी बसेकै घरमा जलेर मृत्यु भएको थियो। उनी शरीरमा आगो लागिरहेको अवस्थामा भेटिएकी थिइन्। पूर्वकमलरीहरुले सृजनाको आत्महत्या नभई उनको हत्या गरिएको दावी गर्दै आन्दोलन गर्दै आएका छन्। यसअघि उनीहरुलाई दाङको घोराही बृहत र्या ली गरेर विरोध जनाएका थिए। कमलरी राख्ने, कमलरी बस्न पठाउने र कमलरी बसाल्नका लागि समन्वय गर्ने चार जनालाई कारवाहीको माग गर्दै जिल्लाका पूर्वकमलरीहरुले जिल्ला प्रशासनमा लिखित उजुरी दिएका छन्। तर लामो समय बितिसक्दा पनि घटनाबारे छानबिन समेत नथालिएको प्रति पूर्वकमलरीहरु रुष्ट बनेका छन्। हत्यामा संलग्नलाई तत्काल कारबाहीको माग राखेर गरिएको बन्दको पहिलो दिन मंगलबार दाङमा बिहानैदेखि यातायात सेवा ठप्प भएको छ। जिल्लाबाट बाहिरिने तथा जिल्ला भित्रिने यातायातका साधनहरु ठप्प छन्। यसैगरी जिल्लाका बजार समेत ठप्प रहेका छन्। जिल्लाका प्रमुख ब्यापारिक केन्द्र घोराही, तुलसीपुर , लमही , भालुवाङ लगायतका बजारहरु पूर्ण रुपमा ठप्प रहेको प्रहरीले जनाएको छ। यसैगरी जिल्लाका शिक्षण संस्थाहरु समेत बन्द भएका छन्। बन्द सफल बनाउन जिल्लाभरका मुक्त कमलरीहरु लाठीसहित बजारमा निस्किएका छन्। बन्दको पूर्वसन्ध्यामा उनीहरुले सोमबार बेलुका घोराहीमा मसालजुलुस समेत निकालेका थिए। कमलरीहरुको बन्दप्रति जिल्लाका अन्य १९ थारु संगठनहरुले समेत ऐक्यबद्धता जनाएका छन्।

प्रतिक्रियाहरु

[anycomment]