भेरीको फेरी चुँडियो
काठमाडौ, सुर्खेतको राकम र सल्यानको सल्लीबजार बीचमा रहेको भेरी नदीमा रहेको फेरी चुँडिएपछि छिन्चु–जाजरकोट सडकखण्डको यातायात अवरुद्ध भएको छ ।विगत लामो समयदेखि भेरी नदीमा रहेको फेरीको भरमा यातायातका साधन जाजरकोट आउने र जाने गर्थे । बुधबार दिउँसो सल्लीबजारबाट आएको मालवाहक गाडी फेरीमा राखेर राकम तार्न खोज्दा सो फेरी चुँडिएको थियो ।
फेरी चुँडिएपछि दुई नदीको किनारमा यातायातका साधन थन्किएका छन् । यात्रुहरु महँगो भाडा तिरेर राकममा रहेको झोलुङ्गेपुलवाट सामग्रीहरु ओसारपसार गरिरहेको स्थानीय दुर्गा विसीले बताए ।
भेरी नदीमा पटकपटक फेरी बिग्रिएर यात्रुहरुलाई निकै सास्ती हुने गरेको छ । अहिले नेपालगन्ज र सुर्खेतबाट आएका सबै यातायातका साधन राकममा थन्किएका छन् ।फेरी बन्न अझै दुई हप्ता लाग्ने बताइएको छ । भेरी नदीमा पुल निर्माण कार्य सुरु भएको १३ वर्ष भइसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा जाजरकोटवासीले सास्ती व्यहोर्दै आएका छन् । पुल भेरी नदीमा निर्माण भए जाजरकोटलगायत हिमाली जिल्ला डोल्पालाईसमेत प्रत्यक्ष लाभ पुग्नेछ ।