आगामी साता वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि–मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी न्यून चापीय प्रणालीले बादलहरु नेपालसम्म ल्याउने, केही स्थानमा पानी पर्ने र अधिकतम तापक्रम केही घट्ने बताइन् । ‘अधिकतम तापक्रम घट्दा अहिलेको तुलनामा केही शीतल महसुस हुन्छ,’ उनले भनिन् ।यस वर्षको अप्रिल महिना सन् १९०१ पछिकै गर्मी महिनाको रुपमा विश्वमा दर्ज भएको तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । नेपालमा पनि प्रचण्ड गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । गर्मीकै कारण रुपन्देहीमा दुई दिन विद्यालय बन्द गरिएको छ ।
राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल आइतबारपछि पानी पर्ने सम्भावना रहेको र त्यसबाट डढेलो नियन्त्रणमा सहयोग मिल्नेमा आशावादी छन् । आइतबारपछि पानी पर्ने सम्भावना देखिएकाले डढेलोबाट केही राहत मिल्ने देखिन्छ ।