शुक्रबार र शनिबार तीव्र हावाहुरीको सम्भावना : उच्च सतर्कता अपनाउन आग्रह

२०८२ चैत्र ५ गते, बिहीबार

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशको विभिन्न क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानेर बिहीबार जारी सूचनामा प्राधिकरणले प्रि–मनसुनको समय भएकाले जोखिम बढेको उल्लेख गरेको हो।
यही चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना उडाउने वा विद्युत तथा सञ्चार सेवा प्रभावित हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्राधिकरणका अनुसार आगामी तीन दिनको मौसम अवस्थाअनुसार शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै, शुक्रबारदेखि दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धरान र धनकुटा आसपासका जिल्लामा करिब ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ।
प्राधिकरणले प्रभावित क्षेत्रका नागरिकलाई अनावश्यक यात्रा नगर्न, हावाहुरीका बेला घरको झ्यालढोका मजबुत रूपमा बन्द गर्न, आगोका स्रोतहरू बन्द गर्न र सवारी साधन चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकिन आग्रह गरेको छ।
त्यसैगरी, भीडभाड भएको स्थानमा नआत्तिन, भागदौड नगरी संयमित रूपमा सुरक्षित स्थानमा सर्न पनि अनुरोध गरिएको छ। तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेको सूचनामा उल्लेख छ।
हावाहुरीको समयमा अग्ला रुख, बिजुलीका खम्बा र तारमुनि नबस्न, लत्रिएका तार नछुन तथा विद्युतीय उपकरण प्रयोग नगर्न पनि चेतावनी दिइएको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने नियमित मौसम पूर्वानुमान र आफ्ना सूचनाहरू ध्यानपूर्वक पालना गर्न सबैमा अनुरोध गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]